रसुवा जाने वैकल्पिक मार्ग निर्माणमा किरण थापाको सक्रियता
नबराज काफ्ले
रसुवा,भाद्र १६
राहत र अत्यावश्यक सामग्रीको सहज आवतजावतका लागि चोगटे–सरमथली–जीरोकिलो सडक स्तरोन्नतिमा तीव्रता
बाढीपहिरोका कारण नियमित सडक सञ्जाल प्रभावित भइरहेका बेला बागमती प्रदेशका मुख्यमन्त्री माननीय किरण थापा आज बिहानैदेखि चोगटे–सरमथली–जीरोकिलो हुँदै रसुवा जाने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको काममा प्रत्यक्ष रूपमा सक्रिय देखिनुभएको छ ।
विपद्को समयमा नागरिकको आवतजावत सहज बनाउने तथा राहत र अत्यावश्यक सामग्रीको आपूर्ति अवरुद्ध हुन नदिने उद्देश्यले वैकल्पिक सडकलाई फराकिलो, सुरक्षित र सञ्चालनयोग्य बनाउने काम तीव्र गतिमा अघि बढाइएको छ।
‘नागरिकले कठिनाइ भोग्नु नपरोस्, राहत पुर्याउन बाटो सहज हुनुपर्छ’
मुख्यमन्त्री थापाले सडक निर्माणसँगै बाटोलाई थप फराकिलो र सहज बनाउने कामलाई प्राथमिकता दिइएको बताउनुभएको छ। विपद्को अवस्थामा सडक अवरुद्ध हुँदा प्रभावित नागरिकसम्म राहत तथा अत्यावश्यक सामग्री पुर्याउन कठिन हुने भएकाले सडक सञ्चालनलाई तत्काल प्राथमिकतामा राखिएको उहाँको भनाइ छ।
“आवतजावत गर्ने नागरिकलाई कुनै कठिनाइ नहोस् र राहत तथा अत्यावश्यक सामग्रीको ओसारपसार सहज होस् भन्ने उद्देश्यले सडक निर्माण तथा स्तरोन्नतिको कामलाई तीव्रता दिइएको हो,” मुख्यमन्त्री थापाले बताउनुभयो।
सामाजिक तथा जनमुखी गतिविधिमा सक्रिय रहँदै आउनुभएका मुख्यमन्त्री थापाको विपद्को समयमा स्थलगत रूपमा खटिएर सडक निर्माणको कामको अनुगमन गर्ने सक्रियतालाई स्थानीयस्तरमा सकारात्मक रूपमा हेरिएको छ।
चोगटे–सरमथली–जीरोकिलो सडकलाई वैकल्पिक मार्गका रूपमा व्यवस्थित गर्दै लैजान सके रसुवा तथा आसपासका प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन र नागरिकको आवतजावत सहज बनाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।












Leave a Reply