रसुवा भोटेकोसी बाढीपीडितका लागि १४ हजार २ सय ७० राहत सहयोग

सिस्नेरी, मकवानपुर — इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीस्थित श्री वत्सलादेवी माध्यमिक विद्यालयको वत्सलादेवी स्काउट ट्रुपले रसुवा भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा विस्थापित परिवारहरूको सहयोगार्थ सञ्चालन गरेको राहत अभियानबाट रु. १४ हजार २ सय ७० (चौध हजार दुई सय सत्तरी रुपैयाँ) संकलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ। अविरल वर्षाका कारण रसुवा भोटेकोसी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको दुःखमा साथ दिन स्काउट ट्रुपले मानवीय सहयोग अभियान सञ्चालन गरेको हो। “स्काउटको प्रतिबद्धता, मानवीय सेवामा एकता” भन्ने नाराका साथ सञ्चालित अभियानमा विद्यालयका शिक्षक तथा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै स्वेच्छिक रूपमा सहयोग गरेका थिए। संकलित रकम बाढीपीडित परिवारका लागि थोरै भए पनि राहत पुग्ने उद्देश्यले प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको अभियानका संयोजक तथा स्काउट मास्टर सुवासचन्द्र ढुङ्गेलले बताउनुभयो। उहाँले देशलाई अप्ठ्यारो परेको समयमा आफ्नो स्थानबाट सक्दो सहयोग गर्दै मानवीय सेवामा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्नुभयो। विद्यालयका प्रधानाध्यापक टीका प्रसाद उपाध्यायले बाढीपीडित दाजुभाइ तथा दिदीबहिनीहरूको कठिन घडीमा सानो भए पनि सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो। उहाँले अभियानमा सहयोग गर्ने सम्पूर्ण शिक्षक, विद्यार्थी तथा सहयोगी मनहरूप्रति हार्दिक धन्यवादसमेत व्यक्त गर्नुभयो। वत्सलादेवी स्काउट ट्रुपले आगामी दिनमा पनि सामाजिक सेवा, मानवीय सहायता तथा विपद् व्यवस्थापन लगायतका क्षेत्रमा आफ्नो सक्रियता निरन्तर कायम राख्ने प्रतिबद्धता जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *