चन्द्रभ रानी भ अ अनी अ अव भा हे ॥
हर खहन नाच कहहरु त्रीभुवहन ना हे ॥१॥
उदासल चीकु ल ल गा गजलं दाहे ॥
पस लल चौ दिग पुलां थुल साहे ॥२॥
नं दिया आदि गणे मरु जोहगं जाहे ॥
गोरी जोरी गीनी मीनी कवां तुकं भाय ॥३॥
जगत्त प्रकाशं नेही पत्ति भाए ॥
सव कर्म नौ रथ पुलां थुली साहे ॥४॥
चन्द्र राग र रामकृत तालमा गाइने माथिको परम्परागत भजनका शब्दसँगै खिँ, ताः र झ्यालीमालीको धुन चाँगुनारायण मन्दिरको चौघेराको उत्तरी सत्तलअघिको नासः द्यःको प्राङ्गणमा गुञ्जिँदा वातावरण भक्तिमय बनेको थियो। लस्करै बसेका भजन गायकहरूको सामूहिक स्वरले मन्दिर परिसरमा दशकौँदेखि हराएको सांस्कृतिक रौनक फर्काएको थियो।
विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरको प्राङ्गणमा करिब पाँच दशकपछि परम्परागत बाजाको तालमा विभिन्न रागका दाफा भजन गुञ्जिँदा ७१ वर्षीय ज्ञानबहादुर भडेल हर्षले गद्गद् थिए। उनको अनुहारमा झल्किएको खुसी भजन गाउन पाएकोमा मात्र सीमित थिएन। आफूले बाल्यकालदेखि देख्दै, सुन्दै र जोगाउँदै आएको सांस्कृतिक परम्परा फेरि जीवन्त हुन थालेको अनुभूतिले उनलाई भावुक बनाएको थियो।
भडेल मात्र होइन, चाँगुनारायणका संस्कृतिप्रेमी, महर्जन, राजवाहक र श्रेष्ठ थरका संस्कृतिकर्मीहरू पनि दशकौँपछि मन्दिर परिसरमा खिँ र अन्य परम्परागत बाजाको धुनसँगै भजन गुञ्जिएको देखेर हर्षित थिए। उनीहरूका लागि त्यो क्षण पुराना सम्झना ताजा हुनु मात्र थिएन, हराउन लागेको सांस्कृतिक पहिचान पुनः स्थापित हुने आशाको सञ्चार हुनु पनि थियो।
करिब चार दशकदेखि निष्क्रियप्रायः रहेको चाँगुनारायण क्षेत्रको दाफा भजन परम्परालाई पुनर्जीवन दिने उद्देश्यले चाँगुनारायण विकास समितिले सञ्चालन गरेको साढे १० महिनाको खिँ बाजा प्रशिक्षणले यो वातावरण सिर्जना गरेको हो। २०८२ पुसमा सुरु भएको प्रशिक्षण २०८३ कात्तिकमा सम्पन्न भएको छ। प्रशिक्षणमा १९ जनाले खिँ बाजा बजाउने सीप सिकेका छन्।
५० वर्षअघिको सम्झना, आजको खुसी
“पहिले पूर्णिमा, एकादशी र मोहनीका अवसरमा मन्दिर परिसरमा भजन गाउने चलन थियो,” स्थानीय ज्येष्ठ नागरिक तथा भजन गायक ज्ञानबहादुर भडेल पुराना दिन सम्झन्छन्। उनका अनुसार चाँगुनारायणमा दाफा भजन धार्मिक अनुष्ठानमा मात्र सीमित थिएन। यो समुदायको दैनिकी, सामाजिक सम्बन्ध र सांस्कृतिक जीवनसँग जोडिएको परम्परा थियो। वैशाख महिनामा दुई दिन विशेष रूपमा भजन गाउने चलनसमेत थियो। हरेक महिना संक्रान्ति, द्वादशी र पूर्णिमालगायतका अवसरमा भजन गाइन्थ्यो।
आर्थिक स्रोत सीमित भए पनि स्थानीयले आफ्नो मौलिक दाफा भजन संस्कृतिलाई जोगाएर राखेका थिए। भजनका स्वरले मन्दिर परिसरलाई जीवन्त बनाउँथे। परम्परागत बाजाको तालमा गाइने भजनले समुदायका मानिसलाई एकै ठाउँमा जोड्थ्यो। धार्मिक आस्था, सांगीतिक अभ्यास र सामाजिक एकताको संगमका रूपमा रहेको दाफा भजन चाँगुनारायणको सांस्कृतिक पहिचानको महत्त्वपूर्ण अङ्ग थियो।
तर समय सधैँ एकनास रहेन। चाँगुनारायणको मौलिक बस्तीबाट मानिसहरू अन्यत्र सर्दै जाँदा भजन गाउने र बाजा बजाउने व्यक्तिहरू तितरबितर भए। नयाँ पुस्तामा सीप हस्तान्तरण हुन सकेन। नियमित अभ्यास र प्रस्तुति सञ्चालन गर्न आवश्यक व्यवस्थापन तथा आर्थिक स्रोतको अभाव पनि बढ्दै गयो।
एक समय भजन परम्परा सञ्चालनमा सक्रिय १० जना गुठियारको संख्या घटेर तीन जनामा सीमित भयो। परम्परालाई निरन्तरता दिने व्यक्तिहरूको अभावसँगै दाफा भजन निष्क्रियप्रायः बन्न पुग्यो। पुस्तौँदेखि चल्दै आएको परम्परा हराउने जोखिम बढेपछि त्यसलाई पुनः जीवन्त बनाउने प्रयास आवश्यक बन्यो।
साढे १० महिनाको प्रशिक्षणले फर्कायो भजनको रौनक
लोपोन्मुख अवस्थामा पुगेको दाफा भजन परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले चाँगुनारायण विकास समितिले खिँ बाजा प्रशिक्षण सञ्चालन गर्यो। साढे १० महिनासम्म चलेको प्रशिक्षणमा १९ जनाले परम्परागत खिँ बाजा बजाउने सीप सिके।
प्रशिक्षण समापन तथा दीक्षान्त कार्यक्रममा प्रशिक्षार्थीका घरपरिवार र आफन्तले सगुन प्रदान गर्दै उनीहरूको हौसला बढाए। प्रशिक्षणले बाजा बजाउने सीप सिकाउनुका साथै नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृतिसँग जोड्ने काम गरेको आयोजकको भनाइ छ।
खिँ बाजाका प्रशिक्षक विशाल राजपुत्रका अनुसार नेवार समुदायको अमूर्त सांस्कृतिक सम्पदा पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको अदृश्य गहनाजस्तै हो। दाफा भजन केवल गीत गाउने परम्परा नभई इतिहास, भाषा, संगीत, धार्मिक आस्था र सामुदायिक ज्ञानको भण्डारसमेत हो।
दाफा भजनमा नेवारी, मैथिली र संस्कृत भाषाको मिश्रण पाइने उल्लेख गर्दै उनले परम्परामा निहित ज्ञान नयाँ पुस्तासम्म पुर्याउन निरन्तर अभ्यास र सामुदायिक सहभागिता आवश्यक रहेको बताए। चित्रपुर दाफा भजन खलःको सहकार्यमा चाँगुनारायण क्षेत्रमा प्रशिक्षण सञ्चालन हुनु सकारात्मक कदम भएको उनको भनाइ छ।
प्रशिक्षणले नयाँ पुस्तालाई परम्परागत बाजा बजाउन सिकाउनुका साथै दाफा भजनको सांस्कृतिक महत्त्व बुझ्ने अवसर दिएको छ। अब प्रशिक्षार्थीले सिकेको सीपलाई नियमित अभ्यास र सामूहिक प्रस्तुतिमा प्रयोग गर्न सके मात्र यो प्रयासले दीर्घकालीन परिणाम दिन सक्नेछ।
वर्षौँदेखिको सपना साकार
चाँगुनारायण विकास समितिका अध्यक्ष चक्रधरानन्द राजोपाध्याय, सचिव श्रीभक्त भडेल र सांस्कृतिक उपसमिति संयोजक रमेश श्रेष्ठलगायतका लागि दाफा भजनलाई पुनर्जीवन दिने प्रयास वर्षौँदेखिको सपना साकार भएको क्षण बनेको छ।
वि.सं. २०६९ सालमा चाँगुनारायण विकास समिति स्थापना गर्दाकै उद्देश्य विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायणका लोपोन्मुख मूर्त तथा अमूर्त सम्पदाको संरक्षण गर्नु थियो। त्यसै उद्देश्यअनुरूप समितिले भौतिक सम्पदाको संरक्षणसँगै मौलिक कला, संस्कृति र परम्परागत बाजाको संरक्षण तथा पुस्तान्तरणलाई पनि प्राथमिकता दिँदै आएको छ।
अध्यक्ष राजोपाध्यायले लामो समयदेखि निष्क्रियप्रायः रहेको भजन परम्परालाई प्रशिक्षणमार्फत पुनः जीवन्त बनाउने प्रयास गरिएको बताए। सांस्कृतिक सम्पदाको संरक्षण सबैको सहभागिताबाट मात्र सम्भव हुने उल्लेख गर्दै उनले सीमित स्रोतसाधनका बाबजुद समितिले संरक्षणका कामलाई निरन्तरता दिइरहेको जानकारी दिए। संरक्षणका लागि प्रतिबद्धता व्यक्त गरिएअनुसार अपेक्षित आर्थिक सहयोग प्राप्त नभए पनि उपलब्ध स्रोतसाधनको उपयोग गरेर अभियान अघि बढाइएको उनको भनाइ छ।
समितिका सचिव श्रीभक्त भडेलले मौलिक कला, संस्कृति र परम्परागत बाजाको संरक्षण तथा पुस्तान्तरणलाई समितिले प्राथमिकता दिएको बताए। खिँ बाजा प्रशिक्षणपछि मुहाली बाजाको प्रशिक्षण सुरु गर्ने तयारी रहेको उनले जानकारी दिए। धिमे बाजाको प्रशिक्षण सञ्चालन गर्ने योजना पनि समितिले बनाएको छ।
सांस्कृतिक उपसमिति संयोजक रमेश श्रेष्ठका अनुसार करिब तीन लाख रुपैयाँको बजेटमा खिँ बाजा प्रशिक्षण सम्पन्न भएको हो। सीमित स्रोतसाधनका बीच सञ्चालन गरिएको प्रशिक्षणबाट सिकेको सीपलाई नियमित अभ्यासमा उतार्न सके मात्र यसको उद्देश्य पूरा हुने उनले बताए।
प्रशिक्षार्थीका तर्फबाट मन्तव्य राख्दै राजु भडेलले मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणमा सहभागी हुन पाउनु गौरवको विषय भएको बताए। नयाँ पुस्ताले मौलिक संस्कृति जोगाउने दायित्व निर्वाह गर्नुपर्ने उल्लेख गर्दै उनले प्रशिक्षणबाट प्राप्त सीपलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरे।
संस्कृति जोगाउन गुठी प्रणालीको संरक्षण आवश्यक
कार्यक्रमका प्रमुख अतिथि गुठी संस्थानका प्रमुख गोविन्द टण्डनले संस्कृति मानव जीवनको आधार भएको उल्लेख गर्दै संस्कृतिभित्र विकृति भित्र्याउन नहुने बताए। विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण क्षेत्रको सांस्कृतिक पहिचान र प्रवर्द्धनका लागि यस्ता प्रशिक्षण महत्त्वपूर्ण हुने उनको भनाइ थियो।
सम्पदाले धनी चाँगुनारायणको मौलिक कला, संस्कृति र परम्परागत बाजाको संरक्षणमा सबै पक्ष सक्रिय हुनुपर्नेमा जोड दिँदै उनले नासः द्यःसँग सम्बन्धित खिँ बाजाको महत्त्वबारे चर्चा गरे। खिँ बाजा सम्मेलन आयोजना गर्न सुझाव दिँदै उनले अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणमा परम्परागत गुठी प्रणालीको महत्त्वपूर्ण भूमिका रहेको बताए।
गुठी प्रणालीको संरक्षणसँगै कला, संस्कृति र परम्परालाई जीवन्त राख्न सबैले दत्तचित्त भएर लाग्नुपर्ने उनको भनाइ थियो।
चाँगुनारायण नगरपालिका–४ का वडाध्यक्ष रोजबहादुर तामाङले स्थानीय मौलिक कला तथा संस्कृतिको संरक्षणका लागि चाँगुनारायण विकास समितिले गरेको प्रयासको प्रशंसा गरे। खिँ बाजासँगै मुहाली र धिमे बाजाको प्रशिक्षण सञ्चालन गर्ने योजनाले स्थानीय सांस्कृतिक परम्पराको संरक्षणमा थप सहयोग पुग्ने उनले बताए।
समितिका सल्लाहकार कमलबहादुर बोगटीले पनि सांस्कृतिक सम्पदा संरक्षणमा स्थानीय समुदाय, सामाजिक संस्था र नयाँ पुस्ताबीच सहकार्य हुनुपर्ने धारणा राखे।
मन्दिरको सम्पदा मात्र होइन, त्यसको आत्मा पनि जोगाउनुपर्ने
चाँगुनारायण मन्दिरका कलात्मक मूर्ति, वास्तुकला, शिलालेख र ऐतिहासिक संरचना यस क्षेत्रका मूर्त सम्पदा हुन्। तर यिनै सम्पदासँग जोडिएका भजन, बाजा, जात्रा, पूजा विधि र सामुदायिक अभ्यासले चाँगुनारायणको सांस्कृतिक जीवनलाई पूर्णता दिन्छन्।
मन्दिरका संरचना जोगिए पनि त्यहाँ गुञ्जिने भजनका स्वर हराए, परम्परागत बाजा बजाउने हातहरू रोकिए र संस्कृतिसँग जोडिएका ज्ञान नयाँ पुस्तामा हस्तान्तरण हुन सकेनन् भने सम्पदाको जीवन्तता अपूरो रहन्छ। चाँगुनारायण विकास समितिका अध्यक्ष राजोपाध्याय र सचिव भडेलको जोड पनि मूर्त सम्पदासँगै अमूर्त सम्पदाको संरक्षणमा छ। मन्दिरको ऐतिहासिक महत्त्व जोगाउनुका साथै त्यससँग जोडिएका सांस्कृतिक अभ्यासलाई निरन्तरता दिन सके मात्र चाँगुनारायणको मौलिक पहिचान जीवन्त रहने उनीहरूको धारणा छ।
त्यसैले दाफा भजनको पुनर्जीवन चाँगुनारायणका लागि एउटा सांगीतिक उपलब्धि मात्र होइन, सांस्कृतिक पहिचान जोगाउने महत्त्वपूर्ण प्रयास पनि हो। साढे १० महिनाको प्रशिक्षणबाट तयार भएका १९ जना नयाँ बाजा वादक अब यो परम्परालाई निरन्तरता दिने आधार भएको समितिकाे ठहर छ ।तर प्रशिक्षण सम्पन्न हुँदैमा संस्कृति पूर्ण रूपमा पुनर्जीवित भएको मान्न सकिँदैन। ११ वर्षदेखि ३५ वर्षसम्मका प्रशिक्षार्थीहरू सम्मिलित उक्त प्रशिक्षणकाे पूर्णतासँगै नियमित अभ्यास गर्ने वातावरण, बाजा तथा सामग्रीको उपलब्धता, भजन गाउने स्थानको व्यवस्थापन र आवश्यक आर्थिक स्रोत सुनिश्चित गर्नुपर्छ।
पूर्णिमा, एकादशी, मोहनी तथा अन्य परम्परागत अवसरमा भजन प्रस्तुत गर्ने अभ्यासलाई पुनः नियमित बनाउन सके मात्र यो अभियानले स्थायित्व पाउनेछ। पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको उत्साहलाई जोड्न सके चाँगुनारायणमा दाफा भजन फेरि नियमित रूपमा गुञ्जिन सक्छ।
करिब पाँच दशकपछि मन्दिरको प्राङ्गणमा खिँ, ताः र झ्यालीमालीको तालमा भजन गुञ्जिँदा चाँगुनारायणवासी, संस्कृतिकर्मी र संस्कृतिप्रेमीहरूले अनुभव गरेको खुसी नै यस अभियानको सबैभन्दा सुन्दर उपलब्धि हो। मन्दिरको प्राङ्गणमा दशकौँपछि फर्किएको भजनको स्वर अब फेरि कहिल्यै नरोकिने गरी गुञ्जिरहोस्। चाँगुनारायणको सांस्कृतिक पुनर्जागरणको सार यही हो।
Leave a Reply