भक्तपुर । भक्तपुर जिल्लाबाट साउन महिनाभरिमा ९९ जना प्रतिवादी पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक कुमार कार्कीका अनुसार अपराध नियन्त्रण, नियमित गस्ती, चेकजाँच तथा समुदायमा सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइएको छ । यही क्रममा पक्राउ गरेको उहाँंले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी परिसर भक्तपुरले २०८३ साल साउन महिनामा जिल्लामा ११० वटा मुद्दा दर्ता भएको पनि जनाएको छ । प्रहरीले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार साउनमा जघन्य तथा गम्भीर प्रकृतिका १७ वटा अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये लागूऔषधका सात, कर्तव्य ज्यानका पाँच, जबरजस्ती करणीका तीन तथा ज्यान मार्ने उद्योगका दुई मुद्दा रहेका छन् । आर्थिक अपराधतर्फ बैंकिङ कसुरका ४७ र ठगीका १२ गरी ५९ वटा मुद्दा दर्ता भएका छन् ।
साउन महिनामा लागूऔषधसम्बन्धी सात मुद्दामा १२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउका क्रममा ४३ थान डाइजोपाम, ५१ थान नुर्फिन, ४४ थान फेनारगन, ९०३ क्याप्सुल ट्रामाडोल, १४ केजी गाँजा र ७.४१ ग्राम खैरो हेरोइन बरामद भएको छ ।
प्रहरीका अनुसार जिल्लामा साउन महिनामा ३१ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा दुई जनाको मृत्यु र ५२ जना घाइते भएका छन् । तीमध्ये चालकको सडकमा ध्यान नपुगेका कारण आठ, लापरबाहीपूर्वक सवारी चलाउँदा १०, तीव्र गतिका कारण छ तथा मादक पदार्थ सेवनका कारण पाँच दुर्घटना भएका हुन् । सवारी जाँचका क्रममा तीन हजार ४०० कारबाही गरी १४ लाख ९४ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको छ ।
विपद् व्यवस्थापनतर्फ आगलागी, बाढी तथा वर्षा र पहिरोसहित १० वटा घटनामा प्रहरी परिचालन गरिएको थियो । ती घटनामा एक जनाको मृत्यु, तीन जना घाइते तथा चार जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । विपद्बाट १८ लाख ६० हजार ५०० रुपैयाँ बराबरको क्षति भएको विवरणमा उल्लेख छ ।
यस अवधिमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित चार वटा अपराधका घटना दर्ता भएका छन् । तीमध्ये जबरजस्ती करणीका तीन र बाल यौन दुरुपयोगको एक घटना रहेको छ । जिल्लामा ४० जना हराएकामध्ये ३५ जना फेला परेका छन् भने पाँच जना अझै फेला पर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
साउन महिनामा प्रहरी र मातहतका निकायले समुदाय तथा विद्यालय केन्द्रित १३२ वटा कार्यक्रम सञ्चालन गरेका छन्, त्यसमा छ हजार ५०६ जनाको सहभागिता रहेको थियो । १६ वटा विद्यालयमा सञ्चालन गरिएको सचेतनामूलक कार्यक्रममा ८९८ विद्यार्थी सहभागी भएका थिए ।
भक्तपुरबाट ९९ जना प्रतिवादी पक्राउ












Leave a Reply