थिमि । भक्तपुर प्रहरीले मध्यपुर थिमि नगरपालिका–२ दिव्यश्वरी प्लानिङ क्षेत्रबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार २०८३ कात्तिक १४ गते गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरूलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका–९ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा बस्ने ३८ वर्षीय बसन्तबहादुर खत्री र दोलखाको मेलुङ गाउँपालिका–३ घर भई हाल कागेश्वरी मनोहरा बस्ने २८ वर्षीय प्रदीप केसी रहेका छन्। प्रहरीका अनुसार खत्रीको साथबाट ४२.८४ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ र ट्रामाडोल १० क्याप्सुल बरामद भएको छ। त्यस्तै, केसीको साथबाट १.२८ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
उनीहरूलाई कात्तिक १५ गते लागूऔषधसम्बन्धी मुद्दामा भक्तपुर जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।












Leave a Reply