आफ्नै संस्कृतिमा रमाएको पस गाउँ पुग्दा…

पस गाउँ नाम
सुन्ने बित्तिकै जाउँ जाउँ लागेको थियो। तमु गुरुङ संचारकर्मी संघको चौथो
राष्ट्रिय महाधिवेशन पस गाउँमा सहभागी हुन क्यामेराको झोला बोकेर
साथीहरूसँगै पोखरा हिँडियो।

पोखरामा स्थानीय र बाहिरबाट आएका पत्रकार
साथीहरू हामीलाई पर्खिरहेका थिए। अमरसिंह चोकमा पस गाउँ हिँड्न तम्तैयार
बसको आडैमा हामी ओर्लिएपछि सबै जना बसमा उक्लियौं। बस पस गाउँ जान विजयपुर
हुँदै हुइँकियो।

पोखरालाई तल पारेर पहाड चढ्दै गर्दा
पोखराको दृष्य लोभलाग्दो देखियो। कच्ची बाटोमा बससँगै हल्लिदै अघि बढ्यौं।
मादी खोलाको तिर ठूला-ठूला फाँट तोरीबारी अनि ग्रामीण बस्तीको सुन्दरताले
मन लोभिँदै थियो अनि थकान हराउँदै थियो।

खुला आकाश खुला धर्ती फाँटको बीच-बीचमा
परालको टौवाहरू अनि केही ठाँटी र पानी घट्टहरू कुनै कलाकारले रचेको एउटा
कृति जस्तो देखिने। हेर्दाहेर्दै बसभित्र बत्ती बल्न थाल्यो बाहिर अँध्यारो
हुँदै गयो।

साँझ झमक्क हुँदा पस गाउँको पुछारमा रहेको
बसपार्कमा पुगियो। बसबाट ओर्लन नपाउँदै पन्चेबाजा घन्किन थाल्यो। गाउँले
भाका रन्किन थाल्यो। गाउँको आमा समूह र साँस्कृतिक समूहको स्वागत गुरुङ
संस्कृति अनुसार माला र टीका अनि संगीतले  हामीलाई स्वागत गरियो। त्यो क्षण
अत्यन्तै रोचक लाग्यो। 

https://raracms.setopati.com/uploads/shares/2020/sujita/travel dairy/travel (1).jpg

पस गाउँबारे नसुनेको होइन तर आफ्नै आँखाले
प्रत्यक्ष अनुभव गर्ने मौका पाएको थिइनँ। त्यसैले यो भ्रमणलाई अवसरको
रूपमा लिएको थिएँ। अँधेरी रात बाधक बनेको झैं लाग्यो भोलि उज्यालो त हुँदै
थियो तर उत्सुक मनले तन गाउँतिर फर्कियो। डाँडामा टम्म मिलेको गाउँ पहाडी
घरको आकार अस्पष्ट देखियो। घरको बरण्डामा झुन्डिएको बिजुली बत्तीको
उज्यालोले आकर्षक घरहरूको आकार देखिन्थ्यो।

स्वागतँगै पस गाउँ पस्यौं। थकाइ र हिँडाइ
चटक्कै बिर्साइ दिएको थियो पस गाउँ र गाउँलेको आतिथ्यताले। हामी गाउँको
बीचमा रहेको समाजघर अर्थात् कार्यक्रम स्थलमा पुग्यौं। नाचगानमा रमायौं।

त्यहीबेला एक जनाले ठूलो स्वरले गुरुङ
भाषामा बोले- भोलि गाउँ बाध्ने अर्थात् गाउँमा पाहुना आएको र कार्यक्रम
भएको हुँदा कसैले काम नगर्नू।

https://raracms.setopati.com/uploads/shares/2020/sujita/travel dairy/travel (1).jpg

हामी सानो छँदा पनि गाउँमा केही पर्यो वा
भेला हुनु पर्यो वा केही निर्णय गर्नु परे कटुवालले गाउँ जम्मैले सुन्ने
गरी साँझपख यसरी नै कराउने चलन थियो। यो देखेर सानोबेला याद आयो। तर अहिले?

यस्तै सोच्दा सोच्दै खाना खाने समय भयो। खाना खाइवरी जिउलाई आराम दिन निद्रादेवीको काखमा पल्टियौं।

बिहानी पख पातलो एक सरो सिरकले ज्यानलाई
थेगेन। चाँडै निद्रा खुल्यो। यदि चाँडो गर्ने के! चिसो छल्न उठेर हिँड्ने
निधो गर्यौं- साथी विवेक र म। गाउँ पूरै देखिने ठाउँ खोज्दै उकालो लाग्यौं।

उकालो लाग्दै गर्दा एउटा गुम्बा जस्तो
ठाउँमा पुग्यौं।  त्यो ठाउँमा मान्छेहरूको चहलपहल देखिन्थ्यो। कोही
पढिरहेका थिए,कोही काम गरिरहेका।

त्यो गाउँमा विद्यार्थी बस्ने होस्टेल पनि
रहेछ। गाउँलेकै पहलमा खोलिएको रे। गाउँ-गाउँमा विद्यार्थी नभएर र राम्रो
पढाइ नभएर स्कुलहरू धमाधम बन्द भइरहेकोबेला पस गाउँमा यो वातावरण देख्दा
खुसी लाग्यो।

त्यहाँ केही तस्बिर कैद गरेर उकालो लाग्यौं।  

https://raracms.setopati.com/uploads/shares/2020/sujita/travel dairy/travel (1).jpg

https://raracms.setopati.com/uploads/shares/2020/sujita/travel dairy/travel (1).jpg

घुमाउने घर गुरुङहरूको पुरानो पौराणिक घर
हो जो गोलो आकारमा बनाएको हुन्छ त्यो पस गाउँमा छ भन्ने सुनेको थिएँ।
सिरानमा एउटा पुरानो घुमाउने घर देखें र त्यसैतर्फ लागें।

सानो छँदा मामा घरमा देखेको घुमाउने घरको धमिलो सम्झना आयो। त्यहाँको केही फोटो खिची हामी फेरि गाउँ घुम्न थाल्यौं।

गाउँको देउराली, चौतारी, माने, ढुंगा, अनि
यो गुरुङ बस्ती माथिबाट नियाल्दा हाम्रो गाउँपालिकामा पर्ने बारपाक गाउँको
झल्को आयो। ठ्याक्कै उस्तै उस्तै। भूकम्प अघिको बारपाक जस्तै-जस्तै।

गाउँ डुल्दा छुट्टै अनुभूति हुन्छ। मीठो आभास,एक किसिमको चैन। गाउँमा देखिएका अनौठा चिजहरूको तस्बिर कैद गरी कार्यक्रममा गयौं।

कार्यक्रममा केहीबेर बसी म भने फेरि गाउँ
डुल्न थालें। ढुंगै ढुंगाले बिच्छाएका बाटा। न मोटर चल्ने न नै साइकल।
आफ्नै मौलिकपन। हिँड्दै गर्दा नि निक्कै आन्नद अनुभव। सहरमा चिल्ला सडकमा
हिँड्न नि सवारी नभइ नहुने मलाई यहाँ भने यसरी हिँड्दा साँच्चै एक किसिमको
खुसी अनुभव भइरहेको थियो।

पस गाउँ र गुरुङ संस्कृतिबारे थोरबहुत जान्ने मौका मिल्यो।

https://raracms.setopati.com/uploads/shares/2020/sujita/travel dairy/travel (1).jpg

अन्तिम दिन अर्थात् फर्कने दिन।

आमा समूहले घरबाट नै विदाइ गर्नुभयो। यो
दुई दिन मेरो लागि अविस्मरणीय रह्यो। छुट्टिन्न मन नभइ नभइ पनि छुट्टिन
पर्यो। हामीलाई बिदा माग्न गाह्रो भइरहेको थियो भने उहाँहरूलाई बिदाइ गर्न।
तर के गर्नू भेटिपछि तर आखिर छुट्नु त पर्छ नै। बस चढ्ने ठाउँ – गाउँको
पुछारसम्मै बिदाइ गर्न आउनुभयो। बिदाइको गीत गाउँदै,हात हल्लाउँदै बिदाइ
गर्नु भयो।

बसले गति लिँदै गर्दा बसको झ्यालबाट मन
खल्लो भए पनि हात हल्लाउन खोज्दै गर्दा त्यो डिलमा बसेर समुहले पच्छ्यौरी
हल्लाउदै बिदाइ गरेको दृश्यले हाम्रो संस्कृतिको बेस्सरी माया लगेर आयो अनि
 भित्र कहीं दुख्यो छुट्नुको पीडाले। 

छेउमा बस्ने रोशनीले जी जिस्कँदै भन्नुभयो,‘दुई दिनमै छुट्न यति गाह्रो एक हप्तै बसेको भए झनै कति पो रुवावासी भैजान्थ्यो होला’…

मलाई भने फेरि त्यो पच्छ्यौरी हल्लाएर बिदाइ गरेको दृष्य तस्वीरमा उतार्न नपाएकोमा खल्लो लाग्यो।

अनि आफ्नो गाउँ आफ्नो संस्कृति र संस्कारमा रमाएको पस गाउँ र गाउँलेको सम्झना मनभरि बोकेर बसको रफ्तारसँगै अघि बढ्यौं।

https://raracms.setopati.com/uploads/shares/2020/sujita/travel dairy/travel (1).jpghttps://raracms.setopati.com/uploads/shares/2020/sujita/travel dairy/travel (1).jpghttps://raracms.setopati.com/uploads/shares/2020/sujita/travel dairy/travel (1).jpghttps://raracms.setopati.com/uploads/shares/2020/sujita/travel dairy/travel (1).jpghttps://raracms.setopati.com/uploads/shares/2020/sujita/travel dairy/travel (1).jpghttps://raracms.setopati.com/uploads/shares/2020/sujita/travel dairy/travel (1).jpghttps://raracms.setopati.com/uploads/shares/2020/sujita/travel dairy/travel (1).jpghttps://raracms.setopati.com/uploads/shares/2020/sujita/travel dairy/travel (1).jpghttps://raracms.setopati.com/uploads/shares/2020/sujita/travel dairy/travel (1).jpg