ख्वप माध्यमिक विद्यालयले पोसाक आपूर्तिमा अनियमितता भएको आरोपको खण्डन गर्यो
भक्तपुर। ख्वप माध्यमिक विद्यालयले विद्यार्थीको पोसाक तथा ट्र्याकसुट आपूर्तिसम्बन्धी विषयमा सार्वजनिक भएको समाचारप्रति ध्यानाकर्षण जनाउँदै आफ्नो धारणा सार्वजनिक गरेको छ। विद्यालयले सम्बन्धित कम्पनीले सम्झौताअनुसार समयमै सामान उपलब्ध नगराएको र पटक–पटक सम्झौता उल्लङ्घन गरेको दाबी गरेको छ।
विद्यालयले २०८३ कात्तिक १२ गते जारी गरेको ‘यथार्थ जानकारी गराइएको बारे’ शीर्षकको पत्रमा श्री बगलामुखी फेसन सेन्टरसँग भएको पोसाक तथा ट्र्याकसुट आपूर्तिसम्बन्धी सम्झौता र त्यसको कार्यान्वयनबारे आफ्नो पक्ष प्रस्तुत गरेको छ।
विद्यालयका अनुसार शैक्षिक वर्ष २०८३ मा विद्यार्थीका लागि पोसाकअन्तर्गत एक हजार आठ सय थान ट्र्याकसुट खरिद तथा बिक्रीसम्बन्धी सम्झौता भएको थियो। सम्झौताअनुसार सामान आपूर्ति हुनुपर्ने समयसीमा सकिँदासमेत आवश्यक परिमाणमा सामान उपलब्ध नभएको विद्यालयको भनाइ छ।
पत्रमा उल्लेख भएअनुसार शैक्षिक वर्ष २०७९ मा ख्वप माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीका लागि पोसाक आपूर्ति गर्दा पनि सम्बन्धित कम्पनीले सम्झौताभन्दा ढिलो सामान उपलब्ध गराएको थियो। त्यसैगरी, जाडोयाममा समेत विद्यार्थीलाई आवश्यक स्वेटर समयमै वितरण गर्न नसकिएको विद्यालयले जनाएको छ।
विद्यालयले २०८० वैशाख २० गते महालक्ष्मी सप्लायर्स एन्ड ट्रेडर्स प्रा.लि.सँग भएको अर्को सम्झौतामा समेत सामान आपूर्तिमा ढिलाइ भएको उल्लेख गरेको छ। पटक–पटक सामान आपूर्तिमा समस्या आएपछि सम्बन्धित कम्पनीसँगको सम्झौता कार्यान्वयनमा प्रश्न उठेको विद्यालयको भनाइ छ।
विद्यालयका अनुसार २०८३ वैशाख ७ गते सम्झौता भएको ट्र्याकसुट आपूर्तिका सम्बन्धमा पनि समयमै सामान उपलब्ध नभएपछि सञ्चालक समितिले आवश्यक निर्णय गरेको थियो। पछि सामान खरिद तथा आपूर्तिसम्बन्धी प्रक्रिया अघि बढाइएको विद्यालयले जनाएको छ।
विद्यालयले कात्तिक १० गते News 24 टेलिभिजनको ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा प्रसारित विषयवस्तुप्रति पनि ध्यानाकर्षण भएको जनाएको छ। उक्त कार्यक्रममा प्रस्तुत विषयबारे आफ्नो पक्ष स्पष्ट पार्दै विद्यालयले सम्बन्धित कम्पनीसँग भएका सम्झौता, सामान आपूर्तिको समयसीमा र त्यसको कार्यान्वयनसम्बन्धी विवरण सार्वजनिक गरेको हो।
पत्रमा विद्यालयले सम्बन्धित कम्पनीका प्रतिनिधिबाट कार्यालयमा दुर्व्यवहार भएको र आफूविरुद्ध लगाइएका आरोपका विषयमा प्रहरीमा जानकारी गराइएको समेत उल्लेख गरेको छ। विद्यालयले घटनासम्बन्धी कानुनी प्रक्रिया अघि बढिरहेको जनाउँदै आफ्नो कामकारबाही कानुनी प्रक्रियाअनुसार अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
विद्यालयका प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्यद्वारा हस्ताक्षरित पत्रमा सम्बन्धित विषयमा थप जानकारी आवश्यक परे विद्यालयमा सम्पर्क गर्न सकिने उल्लेख छ।









Leave a Reply