भक्तपुरमा सतर्कता अपनाउन प्रशासनको आग्रह
भक्तपुर । सम्भावित भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने र बाढी, पहिरो तथा डुबानको जोखिम हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
नेपाल मौसम विज्ञान विभागले २०८३ कात्तिक ११ गते जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार कात्तिक १४ गते शुक्रबारसम्म बागमती प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले जारी गरेको सूचनामा भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्ने, आकस्मिक बाढी आउने, पहिरो जाने तथा डुबान हुन सक्ने भएकाले जोखिम रहेका क्षेत्रमा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।
प्रशासनले हनुमन्ते, मनोहरा, चक्रपथ आसपासका लगायतका नदी तथा खोलाका किनारमा बसोबास गर्ने, पहिरोको जोखिममा रहेका भूभाग र भिरालो जमिनमा बस्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
त्यसैगरी जोखिमयुक्त स्थानमा आवतजावत नगर्न, स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गर्न, वनजङ्गल काट्ने, भिरालो क्षेत्रमा खेती गर्ने तथा नदी किनारमा जोखिम बढाउने गतिविधि नगर्न पनि अनुरोध गरिएको छ। बाढीपहिरोबाट प्रभावित हुन सक्ने बालबालिका, ज्येष्ठ नागरिक, अशक्त तथा बिरामी व्यक्तिको सुरक्षामा विशेष ध्यान दिन प्रशासनले आग्रह गरेको छ।
वर्षा तथा बाढीसम्बन्धी सूचना नियमित रूपमा लिन र निर्देशनको पालना गर्न अनुरोध गर्दै जिल्ला प्रशासन कार्यालयले आपत्कालीन अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माद्वारा कात्तिक ११ गते जारी सूचनामा विपद्को जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ।












Leave a Reply