११२ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको आयोजनामा प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रम बोल्नुहुँदै सांसद सुवालले समाजमा महिला र पुरुषलाई समानता ल्याउन उत्पादनका मुख्य मुख्य साधनहरु सरकारको हुनुपर्ने, समान वितरण तथा श्रम विभाजन हुनुपर्ने बताउनुभयो ।
उहाँले अन्तर्राष्ट्रिय महिला आन्दोलनमा महिला नेतृहरुको भूमिकाको विषयमा अध्ययन गर्नुपर्नेमा जोड दिनुहुँदै समाजलाई बुद्धिजीवीकरण गर्न समाजलाई साक्षर होइन शिक्षित समाजको रुपमा विकास गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
महिलाहरुलाई विज्ञान र प्रविधिबारे जानकारी दिई सीप विकास गरी समाज परिवर्तनको लागि नयाँ पुस्ताको भूमिका महवपूर्ण हुने धारणा राख्नुहुँदै उहाँले सबै नागरिकले समय अनुसार विज्ञान र प्रविधिबारे जानकारी राख्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले समाजमा वर्ग रहेसम्म महिला शोषण अन्त्य नहुने धारणा राख्नुहुँदै प्रमुख प्रजापतिले समाजवादी व्यवस्था कायम नभएसम्म महिला हिंसा र शोषणको अन्त्यको सम्भावना छैन भन्नुभयो ।
उहाँले “पूँजीवाद गरिबहरुको निम्ति मूल्यहीन जीवन विताउनुपर्ने व्यवस्था हो” भन्नुहुँदै कामदार वर्गको प्रतिनिधित्व नभएसम्म समाज अगाडि बढाउन नसक्ने उल्लेख गर्नुभयो ।
उहाँले एमसीसी सम्झौता व्याख्यात्मक घोषणाको आधारमा अनुमोदन गर्नु जनतालाई धोखा दिनु र छलछाम गर्नु हो भन्नुभयो । एमसीसी लगायतका देशघाती सम्झौता गर्ने हरेक नेताहरुलाई भविष्यमा जनताले सजायँ दिनेछन् भन्नुहुँदै विभिन्न देशका व्यक्तित्वहरुको जीवनी अध्ययन गरी देश र जनताको सहयोगमा लागि पर्नुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रमका सभापति एवं महिला तथा बालबालिका समितिका संयोजक रोशनमैंया सुवालले ११२ औ“ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरह“दा अधिकांश श्रमिक नेपाली महिलाहरू शिक्षाबाट वञ्चित हुनुपरेको बताउनुहुँदै क्लारा जेड्कीनको संक्षिप्त जीवनीबारे प्रकाश पार्नुभयो भने कार्यपालिका सदस्य छोरीमैंया सुजखुले रोजा लक्जम्बर्गको संक्षिप्त जीवनीबारे प्रकाश पार्नु भयो ।
कार्यपालिका सदस्य कृष्णलक्ष्मी दुवालले स्वागत गर्नुभएको उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने महिला स्वास्थ्य स्वयम्सेविका तारादेवी धन्छा र शिशु स्याहारमा कार्यरत शिक्षिका नजरमाया बाटीले महिलाहरुको समान हकको निम्ति पुरुषसँगै लड्नुपर्ने बताउनुभयो ।