काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा पशुपति क्षेत्र परिसरको वागमती पारिपट्टी (तिलगंगामा) थप ३ वटा विद्युतीय शवदाह मेशिनसहित शवदाह गृह निर्माण हुने भएको छ ।
सम्झौतापत्रमा हस्ताक्षरपछि सम्वोधन गर्दै प्रमुख शाक्यले कोषलाई जति सक्दो छिटो शिलान्यास गरी ६ महिना भित्रमा उद्घाटन गरी सञ्चालन गर्ने गरी काम थाल्न आग्रह गर्नुभयो । ‘काठमाडौँ महानगरपालिकाले विगतमा पनि जनसरोकारका विषयलाई सम्वोधन गर्दै आएको छ । काठमाडौँ महानगरपालिका आफैँले गर्नुपर्ने कतिपय काम पनि जुन संघ–संस्थाले गरिरहेका छन् उनीहरुसँग सहकार्यमा गर्दै आएको छ,’ शाक्यले भन्नुभयो, ‘पशुपति क्षेत्र परिसरमा विद्युतीय शवदाह निर्माण गर्ने काममा पनि हामीले पशुपति क्षेत्र विकास कोषसँग सहकार्यमा गर्न लागेका हौँ ।’
असोज २० गते मेयर शाक्यको अध्यक्षतामा बसेको काठमाडौँ महानगरपालिकाको ५१ औ कार्यपालिका बैठकले पनि पशुपति क्षेत्रमा शवदाह गृह निर्माणका लागि अघि बढाएको प्रक्रियामा लाग्ने खर्च अनुदान दिने निर्णय गरिसकेको छ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मा शवदाह गृह निर्माणका लागि १५ करोड बजेट छुट्याएको भन्दै शाक्यले भौतिक पूर्वाधार निर्माणका लागि आर्थिक पाटोका बारेमा कुनै पनि चिन्ता नलिन आग्रह गर्दै काम समयमा सम्पन्न गर्न सुझाव दिनुभयो ।
शाक्यले काठमाडौँ महानगरपालिकाले १५ ओटा एम्बुलेन्स खरिद प्रक्रिया अघि बढाएको पनि जानकारी दिनुभयो ।
शाक्यले अहिले कोभिड–१९ का कारण विश्व नै महामारीको चपेटामा परिरहेको र नेपाल पनि त्यो भन्दा पृथक नरहेको भन्दै महामारी नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले स्वास्थ्य मापदण्डको पालना गर्न सबैलाई आग्रह गर्नुभयो । ‘हामी सबैले एकमुष्ठ सहयोग गरेर अघि बढ्ने हो भने महामारी नियन्त्रण गर्न सकिन्छ,’ उहाँले भन्नुभयो, ‘तर, भयावह अवस्था हुँदा हामी सबैलाई जोखिम बढी हुन्छ । यसमा सबैको ध्यान जान जरुरी छ ।’ कार्यक्रममा कोषका सदस्य सचिव ढकालले विद्युतीय शवदाहका लागि क्षमता विस्तार गर्दै जाने कोषको योजनाम काठमाडौँ महानगरपालिकाले सहयोग गरेको भन्दै उत्साहित भएको बताउनुभयो । ‘अहिले दैनिक ३५ देखि ४५ वटासम्म शवदाह हुने गरेका छन् । सञ्चालनमा रहेका दुई ओटा मेशिनबाट मात्रै अहिले दैनिक १५–२० ओटा शवदाह हुने गरेका छन्,’ उहाँले भन्नुभयो, ‘अब थप तीन ओटा मेशिन निर्माणपछि अहिलेको बढ्दो चापलाई धेरै हदसम्म व्यवस्थापन गर्न सकिन्छ ।’
ढकालले अहिले सञ्चालनमा रहेका मेशिनबाट शवदाह गर्न १ देखि डेढ घण्टासम्म लाग्ने गरेको भन्दै अब निर्माण हुने मेशिनबाट ३० देखि ४५ मिनेटमा शवदाह हुने बताउनुभयो । ‘नयाँ मेशिन जडानसँगै समयको पनि बचत हुने र व्यवस्थापन गर्न पनि सहज हुने हामीले अपेक्षा गरेका छौँ,’ ढकालले भन्नुभयो ।
