ङालाकेगू जात्राभित्र लुकेको कथा

नारायणमान बनमाला
मानव सभ्यतामा आधारित सांस्कृतिक नगर भक्तपुरको ऐतिहासिक नवदुर्गाको ङा लाकेगु (माछा मार्ने) जात्रा पुस ३० गतेदेखि भक्तपुर नगरपालिका वडा नं ९ सूर्यमढी (त्वचा) बाट वापि पाछाकेगु शुभारम्भ हुन्छ । परापूर्वकालदेखि हरेक वर्ष निरन्तर चल्दै आइरहेको नवदुर्गा देवगण जात्रा भक्तपुर नगरपालिकामा मात्र ८ महिनाभित्र विभिन्न स्थानमा गरी २१ स्थानमा हुन्छ । यस जात्रा सञ्चालनमा धेरै समस्याहरू देखिए तापनि जात्रालाई वर्तमान अवस्थासम्म निरन्तर सञ्चालनमा ल्याउन उजाजु (वनमाला) जातिको महत्वपूर्ण भूमिका देखिन्छ । यस जात्रामा लाग्दालाग्दै उजाजु जाति शिक्षा, स्वास्थ्य र आर्थिक क्षेत्रमा पछाडि परेको देख्न सकिन्छ । हरेक वर्ष टोलटोलमा हुने यस जात्राबारे छोटो जानकारी प्रस्तुत गर्न खोजेको छु ।
मल्लकालबाटै सञ्चालन भएको भने तापनि यसको ठोस प्रमाण अझै प्राप्त गर्न सकिरहेको छैन । यस नवदुर्गा जात्राले मानव सभ्यताको सन्देश दिइरहेको पाइन्छ । कुनै लिपिबद्ध लेख रचना नभएको कारण जात्राको महत्वमा कमी आइरहेको देखिन्छ । मानव सभ्यताको मातृ सत्तात्मककालदेखि देवीहरूको समूहबाट मानव समाजको बारेमा दिशानिर्देश गराउन जात्रा सञ्चालनमा आएको अनुमान गरिएको छ । यसमा देवगणले पहिरन र मुकुन्डो लगाई बाजाको तालमा गीति नाटकको रूपमा यो जात्रा प्रस्तुत हुन्छ । यस जात्रामा खिंबाजा, तंबाजा, कंशबाजा, भैरव, महाकाली, बाराही, कुमारी, गुज्यकाली, महालक्ष्मी, महादेव, गणेश, ब्रह्मायणी, महेश्वरी, भद्रकाली, पुजारी नकीं, बालकुमारी, दुम्हा, सिम्हा, श्वेतभैरव, देवगण हुन्छ । सोहीअनुसार फरकफरक ढङ्गको हाउभाउ विभिन्न शैलीको नाच प्रस्तुत गरिन्छ । यसमा शाकाहारी र मांसाहारी छुट्टै रहेको छ । यस जात्रामा पारिवारिक भूमिकाका सहकार्यहरू, नारीप्रति गरिएको अपहेलनाबाट नारीक्रोध, दानव नरसंहार, चेलीबेटीको विलाप, केटाकेटीको चकचके व्यवहार, दैनिक जीवनमा गर्नुपर्ने सरसफाइ, मानव जीवनमा गर्ने बेल विवाह तथा दाम्पत्य जीवनमा हुने रीतिरिवाज आदि यस जात्राले दिशाबोध गरिरहेको पाइन्छ ।
नवदुर्गा नाच जात्राले दैनिक जीवनमा हुने खानपिनबारे जानकारी बोध गराउँछ । द्यो ब्वकेगु अथवा प्रसादग्रहण गर्नेबारे पनि परिकारकोे आधारमा देखाइन्छ । परिकारमा माछा, अण्डा, बारा, चतामारी, योमरी, भटमास, सम्येबजी, मासुका परिकार, गेडागुडी, दही, चिउरालगायत चौरासी व्यञ्जन रहेको हुन्छ । पञ्च बलिको रूपमा हाँस, कुखुरा, राँगो, बोका, भेँडा बलि दिने गरिन्छ । मूल बलिको रूपमा सुँगुर लखेटेर बाहाँ लिकेगु जात्रा हुन्छ । व्रतबन्ध, शुभविवाहको शुभकार्यमा यस नवदुर्गा देवगणको प्रसादग्रहण (द्यो ब्वकेगु) गर्दा सन्तान निरोगी हुने, गरेको काम सफल हुने, कुल स्थिर हुने जनविश्वास रहेको छ । नवदुर्गाको अमूल्य प्रसादग्रहण (दही, चिउरा, पञ्चरङ्गी धागो, मूल पात्रको जल, कालो टीका (मोहनी) ग्रहण गर्दा विघ्न बाधा हट्नुको साथै निरोगी हुने विश्वास रहेको पाइन्छ । नयाँ घर निर्माण गर्दा नवदुर्गा देवगण भित्र्याउँदा घरमा शान्ति हुने, डरत्रासबाट मुक्त हुने भनाइ पनि छ । यो जात्रा भक्तपुर नगरमा बाहेक काठमाडौँको पशुपति, टोखा, गोकर्ण, साँखु, चाँगु, ठिमी, साँगा, नाला, धुलिखेल, बनेपा, खम्पु, पनौतीमा पनि चलाइन्छ । यस परम्परागत जात्राबारे नयाँ पिँढीलाई जानकारी दिनु आवश्यक छ । मानव जीवनमा आधारित ऐतिहासिक महत्व बोकेको सांस्कृतिक पर्वलाई जोगाउन सम्बन्धित निकाय र जनताको ध्यान जानु जरूरी छ । मजदुर