बाढी–पहिरो पीडितको उद्धार र राहतमा जुट्न दुर्लभ थापाको आह्वान
भक्तपुर, भदौ १०। रसुवालगायत विभिन्न जिल्लामा गएको भीषण बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति हुनुका साथै नागरिक विस्थापित भएको र स्थानीय तथा पर्यटकीय पूर्वाधारमा गम्भीर असर परेकोप्रति नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले दुःख व्यक्त गरेको छ।
नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा राज्यका सबै संयन्त्र, राजनीतिक दल, सामाजिक संघसंस्था तथा स्वयंसेवकहरू एकजुट भएर सक्रिय हुन आह्वान गरेका छन्।
थापाले बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित नागरिकको पीडामा ऐक्यबद्धता जनाएका छन्।
उनले विपत्तिको यस कठिन घडीमा खोज, उद्धार र राहत कार्यलाई थप प्रभावकारी बनाउन स्थानीय प्रशासन, सुरक्षा निकाय, उद्धारकर्मी तथा स्वयंसेवकहरूलाई सक्रियताका साथ परिचालन गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेस भक्तपुरले नेपाल सरकार तथा सम्बन्धित निकायसँग प्रभावित क्षेत्रमा तत्काल खोज तथा उद्धार अभियान तीव्र बनाउन र पीडित परिवारसम्म खाद्यान्न, औषधि तथा अस्थायी आवासलगायत आवश्यक राहत सामग्री शीघ्र र प्रभावकारी रूपमा पुर्याउन जोडदार माग गरेको छ।
त्यसैगरी, बाढी तथा पहिरोका कारण अवरुद्ध भएका मुख्य राजमार्ग तथा अन्य आवश्यक पूर्वाधारलाई शीघ्र सञ्चालनमा ल्याई जनजीवन सामान्य बनाउन विशेष पहल गर्न पनि थापाले सरकारको ध्यानाकर्षण गराएका छन्।
“प्राकृतिक विपत्तिको यस पीडादायी अवस्थामा सबै मिलेर धैर्य र सहकार्यका साथ उद्धार तथा राहतमा जुट्न आवश्यक छ,” सभापति थापाले भनेका छन्।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले विपत्तिमा परेका नागरिकलाई सहयोग गर्न सबै तह र तप्कालाई मानवीय भावनाका साथ अघि बढ्न आग्रह गरेको छ।












Leave a Reply