भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगर क्षेत्रभित्रका अस्पताल तथा स्वास्थ्य संस्थाका प्रमुखहरूको बैठक बुधबार सम्पन्न भयो ।
बैठकमा नगर प्रमुख प्रजापतिले नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड अनिवार्य पालना गरी अस्पतालहरूले सेवा सञ्चालनलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले भक्तपुर अस्पतालमा पीसीआर मेसिन राख्न प्रदेश सरकारसँग निरन्तर पहल गरिराखेको उल्लेख गर्दै नगर प्रमुख प्रजापतिले सबै अस्पतालले यो संकटको समयमा निःस्वार्थ रुपमा जनताको सेवा गर्नुपर्ने बताउनुभयो ।
बैठकले भक्तपुर नगरपालिकामा कोभिड–१९ रोगको संक्रमण दिनप्रतिदिन बढिरहेको अवस्थामा संक्रमित नगरबासीहरूलाई सुरक्षित रुपमा व्यवस्थापन गर्न नगरपालिकाद्वारा सञ्चालन गरिने आइसोलेसन केन्द्रका लागि आवश्यक प्राविधिक एवं चिकित्सकीय सेवामा सहयोग गर्न नगरस्थित सबै अस्पतालहरू सहमत भएको निर्णय ग¥यो ।
बैठकमा सहभागी भक्तपुर अस्पतालका मे.सु. डा. सुमित्रा गौतम, भक्तपुर क्यान्सर अस्पतालका मेडिकल अन्कोलोजिष्ट डा. रोशन प्रजापति, इवामुरा मेमोरियल अस्पतालका प्रशासक रन्जित मारिखु, सिद्धिस्मृति अस्पतालका प्रशासक अनिल राजभण्डारी र डा. अखिल ताम्राकार र जनस्वास्थ्य सेवा केन्द्रका प्रमुख डा. रत्नसुन्दर लासिवालगायतले हाल महामारीको रुपमा पैmलिएको कोभिड–१९ रोगको संक्रमण न्यूनीकरण तथा विरामीको उपचार सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
बैठकमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ र भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।









