भक्तपुर । प्रहरीले पूर्व सूचना प्रबिधि तथा संचारमन्त्री गोकुलप्रसाद बास्कोटाको घरमा बम विस्फोट गराउने मुख्य दुई जना योजनाकारहरुलाई पक्राउ गरेको छ । फागुन २८ गते विहान करिव आठ बजे भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थली मनहरा आँखा अस्पताल एरियामा रहेको पूर्व सुचना प्रबिधि तथा संचार मन्त्री बास्कोटाको घरमा वम विस्फोट गराउने फरार मुख्य दुई जना योजनाकारहरुलाई पक्राउ गरिएको हो । मुख्य योजनाकारहरु नेकपा (विप्लव समूह) भक्तपुर जिल्लाका सेक्रेटरी ऐनबहादुर शाही र विजय शाहीलाई विशेष सूचनाको आधारमा पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले असार १५ गते कानून बमोजिम पक्राउ गरी त्यसको भोलिपल्ट जिल्ला अदालत भक्तपुरवाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकारी दीपक गिरीले जनाए ।
यसअघि निर्माण सम्पन्न हुन लागेको साढे तीन तले घरको दक्षिण पुर्वी वाल कम्पाउण्डमा बम बिस्फोटन गर्ने तथा गराउने अभिषेक भन्ने टेकबहादुर बि.क, अमृतबहादुर कुमाल, लक्ष्मण सेठी, देबीबहादुर गुरुङसमेतका ४ जना मानिसहरुलाई नियन्त्रणमा लिएको थियो । उनीहरुमाथि अनुसन्धानपश्चात् जिल्ला अदालत भक्तपुरको चैत ३० गते पत्रले देबीबहादुर गुरुङलाई साधारण तारेखमा छोडेको र बाँकी ३ जनालाई पुर्पक्षको लागी डिल्लीबजार कारागार चलान गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । सोही घटनामा फरार रहेका मुख्य योजनाकारहरुलाई अहिले पक्राउ गर्न प्रहरी सफल भएको हो ।










