सुनिल प्रजापति, प्रमुख भक्तपुर नगरपालिकाका
चिकित्साशास्त्र, मानविकी र राजनीति शास्त्र पढ्ने विद्यार्थीले गणित वा अन्य विषय नपढे पनि बिषय बस्तुको हिसाबले खास फरक नपर्ला किनभने एउटै बिषयमा गहिरिएर पढे बिशेषज्ञ बन्न सक्छ । तर कानून सबै विषय पढ्नेहरुको लागि उत्तिकै आवश्यक बिषय हो । कानून ी ज्ञानको अभावमा कैयौं डाक्टर, इञ्जिनियर, वैज्ञानिक, प्राध्यापकलगायत उच्च पदस्थ पदाधिकारीहरुले अदालतबाट सजाय पाएका छन् । संसदबाट पारित हुने वित्तिकै देशभरका सबै नागरिकले कानून थाहा पाएको मानिन्छ । मलाई थाहा छैन भनेर कसैले पनि उन्मुक्ति पाउन सक्दैन । त्यसैले भनिन्छ, ‘कानून को अज्ञानता क्षम्य हुने छैन’।
डाक्टर अशोकानन्द मिश्र उमेरले ७५ वर्ष कति सक्नुभयो । उहाँ राम्रो डाक्टर हुनुहुन्छ । ४०÷४५ वर्ष अघि भक्तपुर अस्पतालको इन्चार्ज भएर पनि काम गर्नु भयो । २÷३ वर्ष अघि राजविराज स्थित हामी उहाँको घरमा गयौं । उहाँले हाँस्दै भन्नुभयो– ‘मैले पनि अधिवक्ताको लाइसेन्स पाइसके नि । उहाँको कुरा सुनेर आश्चर्य मान्दै हामीले जिज्ञासा राख्यौ ‘यो उमेरमा तपाई वकिल ?’ उहाँले कानुनको महत्वबारे स्पष्ट पार्दै भने– ‘म वकिल बन्न कानुन पढेको होइन । यहाँ केही हुनासाथ डाक्टरलाई दुःख दिन्छन्, भए नभएका कुरा लगाएर प्रशासन, अदालतमा बोलाउन्छन् । आफँलाई प¥यो भने आफैले वहस गर्ने हिसावले आफ्नो पेशागत सुरक्षाको लागि पढेको हुँ ।’
एक वर्ष अघि भनपामा काम गर्ने एक जना ठेक्केदारसँग हाम्रो विवाद भयो । उनले समयमा गुणस्तरीय काम गरि दिएनन् । उनी विभिन्न वहानाबाजी गरेर थप पैसा असुल्ने दाउमा थिए । हामीले कानून बमोजिम हदैसम्मको जरिवाना ग¥यौं । अदालत जाने उनले धम्की पनि दिए । पछि उनी अदालत गएनन् । उनले अहिले पनि भक्तपुरमा काम गर्दैछन् । पहिलेको तुलनामा गुणस्तरीय र समयमा सिध्याउने हिसावले काम गर्दैछन् । यसर्थ गलत काम गर्नेहरूलाई दण्ड सजाय गरेर ठिक ठाउँमा ल्याउने माध्यम पनि कानून हो ।
भारत नेपाल भन्दा जनसंख्या, सैन्य र आर्थिक सबै हिसाबले ठँलो र शक्तिशाली छ । तर नेपाल एक स्वतन्त्र देश हो, संयुक्त राष्ट्र संघमा जति भारतको अधिकार छ त्यतिनै नेपालको पनि छ । नेपालको राष्ट्रपति र प्रधानमन्त्री भारतको राष्ट्रपति र प्रधानमन्त्रीको समान हैसियत राख्छन् । त्यसैले आकार र शक्तिमा ठँलो सानो भए पनि सार्वभौमिकता सबैको बराबर हुन्छ । भौतिक शक्तिले भारतसंग लड्न नसके पनि कानून ी लडाइमा भारतलाई नेपालले हाराउन सक्छ । त्यो तागत नेपालसँग छ । किनभने उसले अन्तराष्ट्रिय कानून विपरीत काम गरेको छ । त्यसको लागि नेपाल सरकारले भारत विरुद्ध कदम चाल्ने आँट गर्नु पर्छ ।
साम्राज्यवादीहरुले कुनै देशमाथि आफ्नो प्रभुत्व जामाउनु प¥यो भने ती देशका नेता, मन्त्री, सांसद, सचिवहरुलाई प्रभावमा पार्छन् । सामान्य नागरिकलाई तिनीहरु ध्यान दिदैनन् । राज्यका उच्च ओहदामा पुगेकाहरु जस्ले नीति निर्माणमा प्रभाव पार्न सक्छन् त्यस्ताहरुलाई नातागोता, भाइ भतिजा, भान्जा–भान्जीको नाउँमा गैर सरकारी संस्था (एनजीओ) दर्ता गर्न लगाउन्छन् र लाखौं डलर पठाउँछन् । मानिसको स्वभाव हो – जस्को सिता खान्छ, उसको गित गाउँछ । आफँले लगानी गरे अनुसार उसले आफ्नो अनुकुलतामा ऐन, कानून र नीति निर्माण गर्ने जोड दिन्छन् र कानुनको माध्यमबाट देशलाई उपनिवेश बनाउन्छन् ।
यही कुरालाई ध्यानमा राखेर भक्तपुर नगरपालिकालाई ख्वप मा. वि, ख्वप कलेज, ख्वप इञ्जिनियरिङ कलेज, ख्वप कलेज अफ इञ्जिनियरिङ लगायत सातवटा शैक्षिक संस्थाहरु संचालन गर्दै आएको छ । इञ्जिनियरिङ विज्ञान, व्यापार शास्त्र, मानविकी लगायतका विषयमा स्नातकोत्तर तहसम्म नगरपालिकाकै कलेजमा पढ्ने वातावरण तयार गरेका छौं । सस्तो र गुणस्तरीय शिक्षा दिने उद्देश्यले स्थापित हाम्रा कलेजहरुमा ७६ जिल्लाका विद्यार्थीहरुले अध्ययन गरी सकेका छन् भने ६५ जिल्लामा करिब ६ हजार विद्यार्थी अध्ययनरत छन् । स्थानीय तहले उच्च शिक्षा संचालन गर्ने पहिलो र एक मात्र स्थानीय तह भक्तपु नगरपालिका हो ।
स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार मा.वि. तहसम्मको सबै जिम्मेवारी स्थानीय तहमा आएपछि गत वर्षदेखि कानुनमा कक्षा ११ सुरु गरेका थियौ भने ११ र १२ संगै कानून मा स्नातक पढाउनेतर्फ पनि हामीले जोड दिदैछांै । सबै विद्यार्धी भाइबहिनीहरुले राम्रो वकिल बनेर देश र समाजको सेवा गर्न सकुन् हाम्रो तर्फबाट हार्दिक शुभकामना ।
(भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप मावि र शारदा कलेजको आयोजनामा कानुन विषय लिई उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी ‘कानुन विषयको अध्ययन र यसको महत्व’ विषयमा प्रवचन कार्यक्रम नगर प्रमुख प्रजापतिको मन्तव्य)










