भक्तपुर । ताथलीमा चाँगुनारायण नगरपालिकाकै पहिलो व्यायाम पार्क बन्ने भएको छ । बढ्दो सहरीकरणले खुला स्थान तथा खेलमैदानको अभाव सिर्जना भएको अवस्थामा खेलमैदानसँगै व्यायाम पार्क बन्ने भएको हो ।
‘व्यायाम पार्क बनाउने योजना गत वर्षकै हो, गत वर्ष पार्कका लागि आवश्यक सामानहरु चीनबाट ल्याउनु पर्ने हुँदा समस्या भएको थियो, लकडाउन खुलेसँगै हामीले चीनबाट उपकरण ल्याएका छौं, अब पार्क छिट्टै बन्छ ।’ पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष विकास बासुकलाले भने ।
उनले योजना अनुसारको काम गर्नका लागि ताथलीको सौडोलस्थित सार्वजनिक जग्गा सम्याउने काम थालिएको बताए । सौडोलमा रहेको करिब ४ रोपनीको पर्ती जग्गामध्ये आवश्यक जग्गा सम्याउने काम भएको बताउँदै अध्यक्ष बासुकलाले योजनाका लागि वडा नं. ९ मार्फत् रु. ५ लाख विनियोजन भएको जानकारी दिए ।
पार्कमा हात, पाखुराका लागि, कम्मर दुखाइका लागि, खुट्टा दुखेको, पेटको तौल घटाउने र सामान्य खेलकुदका उपकरण जडान गरिने छ । युवा तथा ज्येष्ठ नागरिकका लागि लक्षित गर्दै निर्माण हुन लागेको पार्कमा जडान गरिएको उपकरणमा शारीरिक व्यायाम गर्न सकिने र त्यसले शारिरीक रुपमा स्र्फुत रहन सहयोग पुग्ने कारण व्यायाम पार्क निर्माणको योजना बनाएको वडा अध्यक्ष गणेश त्यातले बताए ।
उनले भने, ‘अहिलेको बदलिँदो जीवनशैलीको कराण नसर्ने रोग, हाडजोर्नीको दुखाइ, नसासम्बन्धी रोगहरू बढ्दो छ । शारीरिक श्रमको कमीले निम्त्याएका रोग निर्मूलका लागि व्यायामको आवश्इकता महशुस गरी व्यायाम पार्क बनाउन लागेका हौं ।’










