विश्व शान्ति दिवसमा बौद्धनाथमा दीपप्रज्वलन

मौनधारण तथा शान्तिको हस्ताक्षर संकलन

काठमाडौं, असोज ५, २०८३ । विश्व शान्ति दिवसको अवसरमा बाढीपहिरो तथा प्राकृतिक विपत्तिमा परी दिवंगत भएकाहरूको चिरशान्तिको कामना गर्दै काठमाडौंको बौद्धस्थित बौद्धनाथ महाचैत्य परिसरमा दीपप्रज्वलन, मौनधारण तथा शान्तिको सन्देशसहित हस्ताक्षर संकलन कार्यक्रम सम्पन्न भएको छ।

लुम्बिनी पीस अवार्ड संस्थाको आयोजना तथा मेलम्ची ध्याङ्ग गुठीको सहयोगमा आयोजित कार्यक्रममा बाढीपहिरो तथा प्राकृतिक विपत्तिबाट पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै शान्ति, करुणा, मानवता र सामाजिक सहयोगको सन्देश प्रवाह गरिएको थियो।

कार्यक्रममा संस्थाका अध्यक्ष आर. के. शाक्यले विश्व शान्ति दिवसको सन्दर्भमा प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई राज्य तथा समाजका सबै पक्षबाट सहयोग र सहानुभूति आवश्यक रहेको बताउनुभयो। उहाँले बौद्ध दर्शनले दिएको शान्ति र करुणाको सन्देशलाई व्यवहारमा उतार्न तथा शान्तिप्रेमी, समाजसेवी र मानव कल्याणमा योगदान पुर्‍याउने व्यक्तिहरूको उचित कदर तथा सम्मान गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा प्रोफेसर तथा मनोविज्ञ उजेलिया रञ्जितकारले बाढीपहिरोबाट पीडित व्यक्तिहरूले भोगिरहेको मानसिक पीडा र मनोदशाप्रति गम्भीर ध्यान दिनुपर्ने बताउनुभयो। प्राकृतिक विपत्तिले भौतिक क्षतिसँगै मानिसको मानसिक स्वास्थ्यमा समेत गहिरो प्रभाव पार्ने उल्लेख गर्दै उहाँले पीडितहरूको मानसिक पीडा कम गर्न तथा मनोदशालाई शान्त बनाउन सरकारले आवश्यक ध्यान दिनुपर्ने बताउनुभयो। साथै संस्थागत तथा व्यक्तिगत तहबाट आवश्यक मनोपरामर्श सेवा प्रदान गर्न आफूहरू तयार रहेको उहाँले जानकारी दिनुभयो।

कार्यक्रमका अतिथि पूर्वउपमेयर तथा पूर्वमन्त्री मा. हरिप्रभा खड्कीले देशका विभिन्न क्षेत्रमा बाढीपहिरोबाट प्रभावित नागरिकको अवस्था र उनीहरूलाई राज्य तथा समाजबाट आवश्यक सहयोगका विषयमा मन्तव्य दिनुभयो।

चीनका कूटनीतिज्ञ दिनेश खनालले प्राकृतिक विपत्ति मानव समाजका लागि चुनौती भएको उल्लेख गर्दै विपत्तिको सामना गर्न पूर्वतयारी, सहकार्य र मानवीय संवेदनशीलता आवश्यक रहेको धारणा राख्नुभयो।

त्यसैगरी बौद्ध क्षेत्र विकास समितिका अध्यक्ष सुरेन्द्र वज्राचार्यले बौद्ध शिक्षा, शान्ति र करुणाको महत्वबारे मन्तव्य दिनुभयो। उहाँले बौद्ध दर्शनले मानव जीवनमा मैत्री, करुणा र अहिंसाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

कार्यक्रममा महास्थविर प्रशन्न भन्ते तथा भिक्षु गुरूमा डा. प्रमिला शाक्यबाट बौद्ध पाठ तथा शान्तिको कामना गरिएको थियो। त्यसपछि बाढीपहिरो तथा प्राकृतिक विपत्तिमा दिवंगत भएकाहरूको चिरशान्तिको कामना गर्दै दीपप्रज्वलन र मौनधारण गरिएको थियो।

कार्यक्रममा सहभागीहरूले कपडाको ब्यानरमा हस्ताक्षर संकलन गर्दै विश्व शान्ति, करुणा, प्राकृतिक विपत्तिका पीडितप्रति ऐक्यबद्धता तथा मानवीय सहयोगको प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रमको सञ्चालन लुम्बिनी पीस अवार्ड संस्थाका सचिव रामचन्द्र मानन्धरले गर्नुभएको थियो। कार्यक्रमले प्राकृतिक विपत्तिमा जीवन गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै पीडितहरूको मानसिक तथा सामाजिक पुनर्स्थापना, शान्ति, करुणा र मानवीय एकताको आवश्यकता औँल्याएको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *