यस्तो छ मध्यपुर थिमिको बाढी पीडितलाई सहयोग

रसुवा बाढीपीडितका लागि मध्यपुर थिमिले ५१ लाख सहयोग गर्ने

भक्तपुर, भदौ १२ गते । रसुवा जिल्लाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मध्यपुर थिमि नगरपालिकाले       रु ५१ लाख एक सय पाँच सहयोग गर्ने भएको छ । मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको नगर कार्यपालिकाको ५२औँ बैठकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका अनुसार उक्त रकम जनप्रतिनिधिको एक महिनाबराबरको सुविधा तथा नगरपालिका र मातहत कार्यरत शिक्षक तथा कर्मचारीको पारिश्रमिकबाट तहअनुसार क्रमशः दुई, पाँच र सात दिनको रकम कट्टा गरी संकलन गरिनेछ । सो रकममा नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट समेत रकम थप गरिनेछ ।

गत भदौ १० गते रसुवा जिल्लाको भोटेकोशीमा आएको आकस्मिक बाढीबाट भएको जनधनको क्षतिप्रति बैठकले दुःख व्यक्त गरेको छ । बाढीका कारण बेपत्ता भएका नागरिकको सकुशल उद्धार तथा घाइतेको उचित स्वास्थ्य उपचारको व्यवस्था मिलाउन नेपाल सरकारलाई अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको छ । बैठकले बाढी तथा विपत्तिका क्रममा ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको नगरपालिकाका प्रवक्ता कृष्णहरि आचार्यले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *