भक्तपुरमा १२ जना पक्राउ

फैसला कार्यान्वयनतर्फका फरार

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुर र मातहतका प्रहरी कार्यालयले विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका १२ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त ठिमी, जगाती तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले फैसला कार्यान्वयनका क्रममा फरार प्रतिवादीहरूलाई पक्राउ गरी जिल्ला अदालत भक्तपुरमा बुझाएको प्रहरीले जनाएको छ।

पक्राउ परेकामध्ये चेक अनादर मुद्दाका छ जना रहेका छन्। उनीहरूलाई जम्मा चार वर्ष पाँच महिनाको कैद र एक हजार दुई सय रुपैयाँ जरिवाना तोकिएको थियो। त्यसैगरी बैंकिङ कसुर मुद्दाका चार जना, हातहतियार तथा खरखजना सम्बन्धी कसुरका एक जना र जबरजस्ती करणी मुद्दाका एक जना पक्राउ परेका छन्।

पक्राउ परेका १२ जनालाई विभिन्न मुद्दामा गरी जम्मा २१ वर्ष दुई दिन कैद तथा नौ लाख १२ हजार रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ। जबरजस्ती करणी मुद्दाका एक प्रतिवादीलाई ११ वर्ष ११ महिनाको कैद सजाय तोकिएको थियो।

जिल्ला प्रहरी परिसर भक्तपुरले २०८३ भदौ ११ गते उक्त जानकारी सार्वजनिक गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *