भक्तपुरको सास्कृतिक स्वायतता बहसको विषय बनाऔं

“भक्तपुर संघीय संरचनाभित्रै एउटा मौलिक विशेष सांस्कृतिक राज्य स्वायत्त शासनको सम्भावना”
ख्वपिृङदेखि ख्वपःसम्मः नेवा सभ्यताको संरक्षण र विशेष सांस्कृतिक स्वायत्तताको बहस।राजनीतिक दल, राजनीतिकर्मी, समाजसेवी, बुद्धिजीवी, प्राज्ञिक वर्ग र आम नगरवासीसमक्ष एउटा सार्वजनिक बहसको आह्वान
अब भक्तपुरको भविष्यबारे गम्भीर बहस गर्ने बेला भएन र?
भक्तपुर केवल नेपालको एउटा पुरानो सहर मात्र होइन यो नेपालको इतिहास, नेवा सभ्यता, मौलिक संस्कृति, कला, वास्तुकला, हस्तकला, धार्मिक परम्परा र सामुदायिक जीवनपद्धतिको विशिष्ट केन्द्र हो। यहाँको सभ्यता कुनै एउटा पुस्ता वा शासकले निर्माण गरेको होइन। हजारौँ वर्षको ऐतिहासिक विकासक्रम, पुस्तौँको श्रम, सीप, ज्ञान, सामाजिक सम्बन्ध र सामूहिक अभ्यासले यसलाई आजको स्वरूप दिएको हो।
प्राचीन ख्वपिृङ देखि ख्वपःसम्मको ऐतिहासिक पहिचान बोकेको यो नगर आफ्नो भाषा, लिपि, जात्रा, पर्व, संस्कार, धार्मिक परम्परा, तान्त्रिक नगर संरचना, अष्टमातृका परम्परा, मठमन्दिर, बहाः, बही, परम्परागत बस्ती र हस्तकलाका कारण विशिष्ट छ। भक्तपुरको पहिचान यहाँका मन्दिर र दरबारमा मात्र छैन। ती संरचना निर्माण गर्ने कालीगढको सीपमा छ, जात्रा चलाउने समुदायको सामूहिकतामा छ, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको संस्कारमा छ र यहाँको जीवन पद्धतिमा छ।
भक्तपुरको ऐतिहासिक सभ्यता र मौलिक पहिचानलाई वर्तमान विकासको ढाँचाबाट मात्र सुरक्षित राख्न सम्भव छ?
आधुनिक सहरीकरण तीव्र हुँदै गएको छ। पुराना बस्तीको स्वरूप परिवर्तन हुँदैछ। परम्परागत पेसा र हस्तकलामा नयाँ पुस्ताको आकर्षण घट्ने चुनौती छ। स्थानीय भाषा, मौलिक सीप र परम्परागत ज्ञानको पुस्तान्तरण कमजोर हुन सक्ने जोखिम छ। ऐतिहासिक सम्पदाको संरक्षण र स्थानीय नागरिकको दैनिक जीवन बीच सन्तुलन कायम गर्नुपर्ने आवश्यकता बढ्दै गएको छ।
हामीले मन्दिरको छाना मर्मत गर्न सक्छौँ, दरबारको पर्खाल पुनर्निर्माण गर्न सक्छौँ, पुराना गल्ली र चोक संरक्षण गर्न सक्छौँ। तर ती सम्पदासँग जोडिएको जीवन्त संस्कृति, ज्ञान, सीप, संस्कार र सामुदायिक सम्बन्ध हराउँदै गए भने के बाँकी रहन्छ?
भक्तपुरलाई केवल पर्यटकीय गन्तव्यका रूपमा चिनाउने कि यसको मौलिक सभ्यता र संस्कृति सुरक्षित राख्दै आधुनिक विकासको नमुना नगर बनाउने? परम्परागत कला र हस्तकलालाई नयाँ पुस्ताको रोजगारीसँग कसरी जोड्ने? स्थानीय भाषा, लिपि, जात्रा र संस्कारलाई भविष्यसम्म कसरी हस्तान्तरण गर्ने? ऐतिहासिक नगरको विकासमा स्थानीय समुदायको निर्णयकारी भूमिका कसरी सुनिश्चित गर्ने?
यी प्रश्नको उत्तर खोज्न अब एउटा व्यापक सार्वजनिक बहस आवश्यक छ।
त्यही बहसको प्रस्ताव होः “भक्तपुर मौलिक विशेष सांस्कृतिक राज्य” को सम्भावना
यो अवधारणा कुनै जाति, समुदाय वा राजनीतिक दलको एकल एजेन्डा होइन। यो भक्तपुरको ऐतिहासिक पहिचान, सांस्कृतिक अधिकार, स्थानीय सहभागिता र भावी पुस्ताको भविष्यसँग सम्बन्धित साझा सार्वजनिक विषय हो।
१. ख्वपिृङ देखि ख्वपःसम्मः एउटा सभ्यता, एउटा ऐतिहासिक पहिचान ।
भक्तपुरको इतिहासलाई केवल राजदरबार र शासकहरूको इतिहासका रूपमा बुझ्नु अपूर्ण हुन्छ। यसको इतिहास प्राचीन बस्ती विकास, धार्मिक दर्शन, तान्त्रिक नगर संरचना, कृषि जीवन, व्यापार, कला, हस्तकला र समुदायको सामूहिक योगदानसँग जोडिएको छ।
लिच्छविकालीन अभिलेखमा उल्लेखित “ख्वपिृङ” लाई भक्तपुरको प्राचीन नामसँग जोडेर अध्ययन गरिन्छ। यस ऐतिहासिक नामको भाषिक अर्थ र विकासक्रमबारे थप अनुसन्धान आवश्यक भए पनि यसले भक्तपुरको प्राचीन बस्ती र ऐतिहासिक पहिचानबारे अध्ययन गर्ने आधार प्रदान गर्छ।
समयक्रममा खोप्रिङ, खोप र स्थानीय नेपालभाषाको ख्वपः नामबीचको सम्बन्धबारे विभिन्न व्याख्या प्रचलित छन्। यी नामहरूको ऐतिहासिक तथा भाषिक विकासक्रमलाई प्रमाणका आधारमा थप अध्ययन गर्नु आवश्यक छ।
भक्तपुरको धार्मिक तथा सांस्कृतिक संरचनामा तान्त्रिक दर्शन, नवदुर्गा,अष्टमातृका, भैरव, शक्तिपीठ, मठमन्दिर, बहाः, बही, जात्रा र पर्वको महत्त्वपूर्ण स्थान छ। यहाँको नगर संरचना केवल आवास र व्यापारको व्यवस्थापन मात्र होइन, धार्मिक आस्था, सामाजिक सम्बन्ध र सांस्कृतिक अभ्याससँग समेत जोडिएको छ।
यसैले भक्तपुरलाई एउटा पुरानो सहरका रूपमा मात्र होइन, विशिष्ट धार्मिक तथा सांस्कृतिक भूगोल भएको जीवन्त सभ्यताका रूपमा अध्ययन गर्नुपर्छ।
अब प्रश्न उठ्छः यस्तो विशिष्ट सभ्यताको संरक्षण र विकासका लागि राज्यले विशेष नीति र संस्थागत व्यवस्था निर्माण गर्नको लागि हामिले बहश गर्नु पर्छ ?
यो प्रश्न इतिहासविद् वा संस्कृतिविद्को मात्र होइन। यो स्थानीय सरकार, संघीय सरकार, राजनीतिक दल, नागरिक समाज र प्रत्येक नगरवासीको सरोकारको विषय हो।
२. भक्तपुरको मौलिक सभ्यता संरक्षणको जिम्मेवारी कसको?
भक्तपुरको सांस्कृतिक पहिचानको चर्चा गर्दा प्रायः सम्पदा संरक्षण, पर्यटन र जात्रापर्वको कुरा गरिन्छ। तर ती विषयलाई निरन्तरता दिने मानिस, समुदाय र संस्थाको भविष्यबारे पर्याप्त सार्वजनिक बहस हुन सकेको छ कि छैन?
परम्परागत काष्ठकला, धातुकला, मूर्तिकला, पौभा चित्रकला, माटाका भाँडा, परम्परागत इँटा निर्माण, वास्तुकला र विभिन्न हस्तकलाका सीप पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका छन्। यी सीप भक्तपुरका सांस्कृतिक सम्पदा मात्र होइनन्, स्थानीय अर्थतन्त्र र रोजगारीका सम्भावना पनि हुन्।
यदि परम्परागत हस्तकर्मीले आफ्नो पेसाबाट सम्मान जनक जीवनयापन गर्न सकेनन् भने नयाँ पुस्ता त्यो पेसामा कसरी आकर्षित हुन्छ? यदि परम्परागत ज्ञानलाई आधुनिक शिक्षा र अनुसन्धानसँग जोडिएन भने त्यसको निरन्तरता कसरी सुनिश्चित हुन्छ? यदि सांस्कृतिक संस्थाहरू आर्थिक र संस्थागत रूपमा कमजोर भए भने जात्रा र पर्वको व्यवस्थापन कसरी दिगो हुन्छ?
त्यसैले सांस्कृतिक संरक्षणलाई केवल भावनात्मक विषय बनाउनु हुँदैन। यसलाई शिक्षा, अर्थतन्त्र, रोजगारी, स्थानीय शासन र सार्वजनिक नीतिसँग जोड्नुपर्छ।
३. सांस्कृतिक स्वायत्तताः अलगाव होइन, पहिचानको सम्मान र स्थानीय अधिकार
सांस्कृतिक स्वायत्तताको अवधारणाबारे केही प्रश्न र भ्रम आउन सक्छन्। के यो छुट्टै राज्य बनाउने प्रस्ताव हो? के यसले कुनै एउटा जाति वा समुदायलाई विशेष अधिकार दिन खोजेको हो? के यसले अन्य समुदायको अधिकार सीमित गर्छ? यी प्रश्नलाई स्पष्ट रूपमा सम्बोधन गर्नुपर्छ।
यस बहसमा प्रस्तावित सांस्कृतिक स्वायत्तता नेपालको राष्ट्रिय एकता, संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणालीभित्र रही भक्तपुरको ऐतिहासिक सभ्यता, संस्कृति, भाषा, सम्पदा र परम्परागत सीपको संरक्षण तथा विकासका लागि विशेष नीतिगत र संस्थागत व्यवस्था खोज्ने अवधारणा हो।
यसको अर्थ कुनै नागरिकको अधिकार घटाउनु होइन। बरु स्थानीय सांस्कृतिक पहिचानको संरक्षण गर्दै सबै नागरिकको समान अधिकार, सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्नु हो।
यस अवधारणाको मूल उद्देश्य निम्न विषयमा स्थानीय समुदायको अर्थपूर्ण भूमिका स्थापित गर्नु होः
– ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र व्यवस्थापन।
– नेपालभाषा, स्थानीय भाषा, लिपि र परम्परागत ज्ञानको प्रवद्र्धन।
– जात्रा, पर्व, गुठी र सांस्कृतिक संस्थाको संरक्षण।
– परम्परागत हस्तकला र सीपको पुस्तान्तरण।
– ऐतिहासिक बस्ती र सांस्कृतिक भूगोलको संरक्षण।
– सांस्कृतिक पर्यटन तथा स्थानीय अर्थतन्त्रको विकास।
– सांस्कृतिक शिक्षा, अनुसन्धान र अभिलेखीकरण।
– विकास योजना निर्माणमा सांस्कृतिक प्रभाव मूल्याङ्कन।
– सबै समुदायको समान अधिकार र सहभागिताको सुनिश्चितता।
भक्तपुरको सांस्कृतिक पहिचानलाई जोगाउने जिम्मेवारी नेवा समुदायको मात्र होइन। यहाँ बसोबास गर्ने सबै नागरिकको साझा जिम्मेवारी हो। नेवा सभ्यताको सम्मान र संरक्षण गर्नु नेपालको बहुसांस्कृतिक पहिचानको सम्मान गर्नु पनि हो।
४. अब राजनीतिक दलहरूले आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ

भक्तपुरको राजनीतिक इतिहास लामो र विशिष्ट छ। विगत करिब चार दशकदेखि यहाँको स्थानीय राजनीतिक तथा स्थानिय शासन व्यवस्थामा मुख्यतः एउटै राजनीतिक दलको प्रभावशाली नेतृत्व र प्रतिनिधित्व रहँदै आएको छ। यस अवधिमा विभिन्न एउतै दलका नेतृत्व र प्रतिनिधिहरूले फरक–फरक कालखण्डमा जनताको प्रतिनिधित्व गर्दै स्थानीय शासन सञ्चालन गरेका छन्। यस ऐतिहासिक राजनीतिक निरन्तरताले भक्तपुरको विकास, सामाजिक संरचना र सांस्कृतिक पहिचानमा पारेको प्रभावबारे पनि वस्तुनिष्ठ समीक्षा र बहस आवश्यक छ।
तर भक्तपुरको ऐतिहासिक सभ्यता, नेवा संस्कृति र मौलिक पहिचान कुनै एउटा राजनीतिक दल वा नेतृत्वको मात्र विषय होइन। यो सम्पूर्ण नगरवासीको साझा सम्पदा र जिम्मेवारी हो। त्यसैले लामो समयदेखि स्थानीय शासन र राजनीतिक नेतृत्वमा प्रतिनिधित्व गर्दै आएको दलसहित यहाँ क्रियाशील सबै राजनीतिक दल, वर्तमान तथा पूर्वजनप्रतिनिधि र राजनीतिक नेतृत्वले भक्तपुरको सांस्कृतिक भविष्यबारे गम्भीर बहसमा सहभागी हुने अपेक्षा गरिएको छ।
भक्तपुरको सांस्कृतिक पहिचान संरक्षण र विशेष सांस्कृतिक स्वायत्तताको अवधारणालाई राजनीतिक आग्रह वा पूर्वाग्रहका आधारमा होइन, नगरको दीर्घकालीन हित, ऐतिहासिक जिम्मेवारी र भावी पुस्ताको भविष्यका आधारमा बहसमा ल्याउनु आजको आवश्यकता हो।
तर भक्तपुरको ऐतिहासिक सभ्यता, नेवा संस्कृति र सांस्कृतिक अधिकारको दीर्घकालीन संरक्षणबारे राजनीतिक दलहरूको स्पष्ट नीति र साझा दृष्टिकोण आवश्यक छ।
अब यो विषयलाई चुनावी भाषण, सांस्कृतिक कार्यक्रमको शुभकामना वा सम्पदा संरक्षणका सामान्य प्रतिबद्धतामा मात्र सीमित राख्नु हुँदैन।
भक्तपुरमा क्रियाशील सबै राजनीतिक दलले सार्वजनिक रूपमा छलफल गर्नुपर्ने विषय हुनः
– भक्तपुरको मौलिक सभ्यता र सांस्कृतिक पहिचान संरक्षणबारे दलहरूको दीर्घकालीन नीति के हो?
– भक्तपुरलाई विशेष सांस्कृतिक नगरका रूपमा विकास गर्ने अवधारणाबारे दलहरूको धारणा के छ?
– ऐतिहासिक सम्पदा, भाषा, जात्रा, गुठी र हस्तकलाको संरक्षणमा स्थानीय सरकारको भूमिका कसरी प्रभावकारी बनाउने?
– सांस्कृतिक अधिकार र स्थानीय सहभागितालाई कानुनी तथा संस्थागत रूपमा कसरी सुनिश्चित गर्ने?
– संघीय र प्रदेश सरकारसँग भक्तपुरका लागि विशेष सांस्कृतिक नीति तथा कार्यक्रमको माग गर्न दलहरू साझा रूपमा तयार छन?
– सांस्कृतिक संरक्षणलाई राजनीतिक प्रतिस्पर्धा भन्दा माथि राखेर साझा नगर एजेन्डा बनाउन सकिन्छ?
राजनीतिक दलहरूबीच विचार र कार्यक्रमको प्रतिस्पर्धा स्वाभाविक हो। तर भक्तपुरको सभ्यता र सांस्कृतिक भविष्य साझा सरोकारको विषय हो। यसमा संवाद, सहकार्य र सार्वजनिक जवाफदेहिता आवश्यक छ।
कुनै एउटा दलले मात्र यसको स्वामित्व लिन खोज्नु उचित हुँदैन। कुनै दलले उठाएको विषय भएकै कारण त्यसलाई अस्वीकार गर्नु पनि नगरको हितमा हुँदैन।
भक्तपुरको सांस्कृतिक भविष्य कुनै दलको चुनावी नारा होइन, सबै दलले सार्वजनिक रूपमा जवाफ दिनुपर्ने दीर्घकालीन नीतिगत विषय बन्नुपर्छ।
५. बुद्धिजीवी, प्राज्ञिक वर्ग र समाजसेवीको भूमिकाः
इतिहासविद्, संस्कृतिविद्, पुरातत्त्वविद्, भाषाविद्, कानुनविद्, वास्तुविद्, अर्थशास्त्री, शिक्षाविद्, समाजशास्त्री, अनुसन्धानकर्ता,हष्तकलाकर्मी,व्यवसायी र नागरिक समाजका अगुवाको यस बहसमा महत्त्वपूर्ण भूमिका हुनेछ।
सांस्कृतिक स्वायत्तताको अवधारणा भावनामा मात्र आधारित भएर अघि बढ्न सक्दैन। यसको ऐतिहासिक आधार, कानुनी सम्भावना, आर्थिक व्यवहार्यता, प्रशासनिक संरचना र सामाजिक स्वीकार्यताको अध्ययन आवश्यक हुन्छ।
यसका लागि भक्तपुरमै एउटा खुला बौद्धिक मञ्च वा अध्ययन समूह निर्माण गर्न सकिन्छ। यसले निम्न काम गर्न सक्छः
– भक्तपुरको इतिहास र सांस्कृतिक सम्पदाको तथ्यमा आधारित अध्ययन।
– खोप्रिङदेखि ख्वपःसम्मको नामपरम्पराको अभिलेखीय अनुसन्धान।
– तान्त्रिक नगर संरचना र धार्मिक भूगोलको नक्साङ्कन।
– परम्परागत हस्तकला र सीपको अवस्था अध्ययन।
– सांस्कृतिक सम्पदामाथि सहरीकरणको प्रभाव मूल्याङ्कन।
– सांस्कृतिक स्वायत्तताको संवैधानिक तथा कानुनी सम्भाव्यता अध्ययन।
– नागरिक परामर्श र सार्वजनिक बहसका लागि अवधारणापत्र तयार गर्ने।
हाम्रो उद्देश्य कुनै पूर्वनिर्धारित निष्कर्षलाई सबैमाथि थोपर्नु होइन। तथ्य, तर्क र अनुसन्धानका आधारमा साझा निष्कर्षमा पुग्नु हो।
६. आम नगरवासीको स्वामित्वबिना सांस्कृतिक स्वायत्तता सम्भव छैन
भक्तपुरको सांस्कृतिक स्वायत्तताको बहस केही बुद्धिजीवी, राजनीतिकर्मी वा सांस्कृतिक अभियन्तामा मात्र सीमित हुनु हुँदैन।
यो घरघरमा पुग्नुपर्छ। टोलटोलमा छलफल हुनुपर्छ। युवापुस्ताले बुझ्नुपर्छ। महिलाको सहभागिता हुनुपर्छ। हस्तकर्मी, किसान, व्यापारी, शिक्षक, विद्यार्थी, ज्येष्ठ नागरिक र विभिन्न समुदायका प्रतिनिधिले आफ्नो धारणा राख्न पाउनुपर्छ।
यस बहसमा कसैले समर्थन गर्न सक्छ, कसैले प्रश्न उठाउन सक्छ, कसैले फरक विकल्प प्रस्तुत गर्न सक्छ। सबै विचारलाई सम्मान गर्दै तथ्य र तर्कका आधारमा छलफल गर्नुपर्छ।
सांस्कृतिक स्वायत्तताको अवधारणा सफल हुन यसको स्वामित्व आम नागरिकमा स्थापित हुनुपर्छ। नागरिकको सहभागिता र सहमति बिना कुनै पनि संस्थागत संरचना दिगो हुन सक्दैन।
७. राज्यसँग के माग्ने? अब नीतिगत पहलको समय
भक्तपुरको सांस्कृतिक पहिचान राष्ट्रिय महत्वको विषय हो। त्यसैले यसको संरक्षणलाई स्थानीय सरकारको सीमित कार्यक्रमका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन।
संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय गरी भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक विशिष्टतालाई सम्बोधन गर्ने विशेष नीति निर्माण गर्न आवश्यक छ।
यसका लागि स्थानीय नागरिक र सरोकारवालाले राज्य समक्ष निम्न विषयमा नीतिगत पहलको माग गर्न सक्छनः
पहिलोः विशेष सांस्कृतिक अध्ययन तथा आयोग
भक्तपुरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, भाषिक र सामाजिक विशिष्टताको अध्ययन गर्न विशेषज्ञ, स्थानीय प्रतिनिधि र सरोकारवालाको सहभागितामा अध्ययन आयोग वा कार्यदल गठन गर्ने।
दोस्रोः सांस्कृतिक स्वायत्तताको कानुनी सम्भाव्यता अध्ययन
नेपालको संविधानको धारा ५६(५) लगायत सम्बन्धित संवैधानिक तथा कानुनी व्यवस्थाको अध्ययन गरी भक्तपुरको सन्दर्भमा विशेष सांस्कृतिक संरचनाको सम्भावना पहिचान गर्ने। उक्त धाराले सामाजिक–सांस्कृतिक संरक्षण वा आर्थिक विकासका लागि संघीय कानुनबमोजिम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र स्थापना गर्ने व्यवस्था गरेको छ। यसको प्रयोग र कार्यान्वयनका लागि कानुनी प्रक्रिया तथा मापदण्डको विस्तृत अध्ययन आवश्यक हुन्छ।
तेस्रोः भक्तपुर विशेष सांस्कृतिक नीति
भाषा, संस्कृति, सम्पदा, हस्तकला, परम्परागत ज्ञान, जात्रा, पर्व, गुठी र ऐतिहासिक बस्ती संरक्षणका लागि दीर्घकालीन नीति निर्माण गर्ने।
चौथोः सांस्कृतिक परिषद् वा संस्थागत संयन्त्र
स्थानीय सरकार, विशेषज्ञ, सांस्कृतिक संस्था, कलाकार, हस्तकर्मी, युवा, महिला र विभिन्न समुदायको प्रतिनिधित्व रहने समावेशी सांस्कृतिक परिषद् वा उपयुक्त संस्थागत संयन्त्रको सम्भाव्यता अध्ययन गर्ने।
पाँचौँः सांस्कृतिक विकास कोष
परम्परागत सीप, भाषा, जात्रा, सम्पदा, अनुसन्धान, सांस्कृतिक शिक्षा र नयाँ पुस्ताको सहभागिताका लागि पारदर्शी तथा जवाफदेही कोषको व्यवस्था गर्ने सम्भावना खोज्ने।
छैटौँः राष्ट्रिय सांस्कृतिक नमुना नगरको अवधारणा
भक्तपुरलाई मौलिक सभ्यता संरक्षण, सांस्कृतिक अर्थतन्त्र, व्यवस्थित सहरीकरण र नागरिक सहभागिताको आधारमा नेपालकै नमुना सांस्कृतिक नगरका रूपमा विकास गर्ने दीर्घकालीन योजना बनाउने।
८. सार्वजनिक बहसका लागि केही आधारभूत प्रश्न
यो अवधारणा आम नागरिकमाझ पु¥याउँदा निम्न प्रश्नमा खुला छलफल हुनुपर्छः
– भक्तपुरको सांस्कृतिक पहिचान जोगाउन वर्तमान व्यवस्था पर्याप्त छ?
– के भक्तपुरलाई विशेष सांस्कृतिक नगरका रूपमा विकास गर्न आवश्यक छ?
– सांस्कृतिक स्वायत्तताको कानुनी स्वरूप कस्तो हुनुपर्छ?
– यसले स्थानीय नागरिकलाई के अधिकार र जिम्मेवारी दिनुपर्छ?
– सबै जातजाति, भाषा, धर्म र समुदायको समान सहभागिता कसरी सुनिश्चित गर्ने?
– सांस्कृतिक सम्पदा संरक्षण र आधुनिक विकासबीच सन्तुलन कसरी कायम गर्ने?
– स्थानीय हस्तकला, कला र परम्परागत सीपलाई रोजगारीसँग कसरी जोड्ने?
– संघीय र प्रदेश सरकारले भक्तपुरका लागि कस्तो विशेष नीति तथा बजेट व्यवस्था गर्नुपर्छ?
– यस्तो संरचनाको पारदर्शिता र जवाफदेहिता कसरी सुनिश्चित गर्ने?
– भावी पुस्तालाई कस्तो भक्तपुर हस्तान्तरण गर्ने?
यी प्रश्नमा सार्वजनिक छलफल हुनु नै यस बहसको पहिलो उपलब्धि हुनेछ।
९. अब भक्तपुरबाट एउटा साझा आवाज उठ्नुपर्छ
भक्तपुरको सांस्कृतिक भविष्यबारेको बहस कुनै एक राजनीतिक दल, नेता, संस्था वा व्यक्तिको निजी विषय होइन। यो भक्तपुरको ऐतिहासिक पहिचान र भावी पुस्ताको भविष्यसँग जोडिएको साझा विषय हो।
त्यसैले भक्तपुरका सबै राजनीतिक दलले आफ्नो धारणा सार्वजनिक गरून्। राजनीतिकर्मीहरूले यसलाई नीति र कार्यक्रमको विषय बनाऊन्। समाजसेवीहरूले समुदायमा छलफल चलाऊन्। बुद्धिजीवी र प्राज्ञिक वर्गले तथ्य तथा अनुसन्धानका आधारमा मार्गदर्शन गरून्। संस्कृतिकर्मी र हस्तकर्मीले आफ्नो अनुभव र आवश्यकता प्रस्तुत गरून्। युवा पुस्ताले आफ्नो भविष्यसँग जोडेर प्रश्न उठाओस्। आम नगरवासीले यस विषयको स्वामित्व ग्रहण गरून्।
स्थानीय तहबाट उठेको आवाज प्रदेश र संघीय सरकारसम्म पुग्नुपर्छ। राज्यले पनि भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक विशिष्टतालाई सम्बोधन गर्ने नीतिगत छलफल र अध्ययनको प्रक्रिया अघि बढाउनुपर्छ।
हामीले राज्यसँग कुनै विशेषाधिकार माग्न खोजेका होइनौँ। हामीले ऐतिहासिक सभ्यताको संरक्षण, सांस्कृतिक अधिकारको सम्मान, स्थानीय नागरिकको सहभागिता र भावी पुस्ताको सांस्कृतिक भविष्य सुनिश्चित गर्ने नीतिगत व्यवस्था खोजेका हौँ।
भक्तपुरलाई माया गर्नु भनेको यसको विगतको प्रशंसा मात्र गर्नु होइन। यसको भविष्यका लागि आज जिम्मेवारी लिनु पनि हो।
निष्कर्षः भक्तपुरको सांस्कृतिक भविष्यबारे मौन बस्ने कि बहस सुरु गर्ने?
हामीसँग गौरवशाली इतिहास छ। मौलिक संस्कृति छ। संसारले चिनेको कला र वास्तुकला छ। पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सीप र ज्ञान छ। तर यी सबैलाई भविष्य सम्म सुरक्षित राख्ने संस्थागत आधार कति बलियो छ भन्ने प्रश्नको उत्तर खोज्न बाँकी छ।
यदि हामी आजै गम्भीर भएनौँ भने भोलि हाम्रो पुस्ताले संरक्षण गर्नुपर्ने सम्पदा मात्र बाँकी रहन सक्छ, त्यसलाई जीवन्त राख्ने सीप, संस्कार र सामाजिक सम्बन्ध कमजोर हुन सक्छन्।
त्यसैले अब भक्तपुरको सांस्कृतिक भविष्यबारे सार्वजनिक बहस सुरु गरौँ।
राजनीतिक दलहरूलाई आफ्नो धारणा राख्न आह्वान गरौँ। स्थानीय सरकारलाई नीतिगत छलफल अघि बढाउन आग्रह गरौँ। प्रदेश र संघीय सरकारसँग विशेष अध्ययन तथा कानुनी सम्भाव्यता पहिचान गर्न माग गरौँ। बुद्धिजीवी र प्राज्ञिक वर्गलाई अनुसन्धानमा जुट्न आह्वान गरौँ। आम नागरिकलाई यस बहसमा सहभागी हुन प्रेरित गरौँ।
यो बहस कसैको विरुद्धमा होइन, भक्तपुरको पहिचान र भविष्यको पक्षमा हो।
यो बहस कुनै जाति वा समुदायको एकाधिकारका लागि होइन, सबै नागरिकको साझा सांस्कृतिक अधिकार र जिम्मेवारीका लागि हो।
यो बहस विगतको गौरवमा मात्र रमाउन होइन, भावी पुस्ताले आफ्नो सभ्यता र पहिचानसहित सम्मानजनक जीवन बाँच्न सक्ने भक्तपुर निर्माण गर्नका लागि हो।८८
आउनुहोस्, भक्तपुरको सांस्कृतिक स्वायत्तताको विषयलाई टोलदेखि नगरसम्म, नगरदेखि प्रदेशसम्म र प्रदेशदेखि संघीय सरकारसम्म पु¥याउने खुला, तथ्यपरक र लोकतान्त्रिक बहस सुरु गरौँ।
खोप्रिङ देखि ख्वपःसम्मको सभ्यतालाई इतिहासको पानामा मात्र सीमित नराखौँ। त्यसलाई भविष्यको नीति, शिक्षा, अर्थतन्त्र र शासन व्यवस्थासँग जोडौँ।
भक्तपुरको सांस्कृतिक स्वायत्तताः अब मौनता होइन, सार्वजनिक बहसको विषय बनाऔँ।
(लेखक राजेश शिल्पकार रास्वपा भक्तपुर नगरका संस्थापक अध्यक्ष हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *