निकोसेरास्थित अजिमा पेट्रोल पम्प नजिक अख्तियारको फन्दामा, कारबाट ३३ लाख रुपैयाँ बरामद

भक्तपुर : मध्यपुर थिमि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले नियन्त्रणमा लिएको छ। उनका भाइ नाता पर्ने भुवन ढुङ्गेल सवार इभी कारबाट शंकास्पद नगद बरामद भएपछि घिमिरे कार्यालयबाटै पक्राउ परेका छन्।

अपराह्न मध्यपुर थिमि नगरपालिकाबाट निस्किएको बागमती प्रदेश ०१-०३५ च २६८७ नम्बरको टाटा इभी कार निकोसेरास्थित अजिमा पेट्रोल पम्प नजिक अख्तियारको फन्दामा परेको थियो। चेकजाँचको क्रममा शंकास्पद नगद बरामद भएपछि चालकसहित कारमा सवार  भुवन ढुङ्गेल र उनको श्रीमतीलाई अख्तियारले नियन्त्रणमा लियो। त्यसलगत्तै नगरपालिकाको कार्यालयबाट प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई नियन्त्रणमा लिइ घटनास्थलमा ल्याइएको छ।

कारबाट ३३ लाख रुपैयाँ बरामद भएको छ। सो रकम घिमिरेले घुसबापत लिइ ब्यवस्थापनको लागि ढुङ्गेललाई दिएको अख्तियारको दाबी छ। प्रमुख प्रशासकीय अधिकृत घिमिरेले भने घुस लिएको इन्कार गरेका छन्। हालः मुचुल्का तयार पार्ने काम भइरहेको छ। थप विवरण आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *