भक्तपुर । पोखरा विश्वविद्यालयका परीक्षा नियन्त्रक राजु पाण्डेले नेपाल इन्जिनियरिङ कलेज (एनईसी) को औपचारिक भ्रमण गरेका छन्।
भ्रमणका क्रममा परीक्षा नियन्त्रक पाण्डेले नेपालमा इन्जिनियरिङ शिक्षाको विकास तथा दक्ष प्राविधिक जनशक्ति उत्पादनमा नेपाल इन्जिनियरिङ कलेजले पुर्याएको योगदानको उच्च प्रशंसा गरे। उनले कलेजको गुणस्तरीय शैक्षिक वातावरण, आधुनिक पूर्वाधार, दक्ष तथा समर्पित प्राध्यापक समूह र पोखरा विश्वविद्यालयको शैक्षिक प्रतिष्ठा अभिवृद्धिमा कलेजले निर्वाह गरेको भूमिकाको सराहना गरे।
भ्रमणका अवसरमा निमित्त प्राचार्य मोहनध्वज के.सी. तथा विभिन्न शैक्षिक विभागका प्रमुखहरूसँग भएको छलफलमा शैक्षिक गुणस्तर अभिवृद्धि, परीक्षा प्रणाली र पाठ्यक्रम व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तथा विश्वविद्यालय र आंगिक तथा सम्बन्धन प्राप्त कलेजबीचको सहकार्यलाई सुदृढ बनाउने विषयमा विचार-विमर्श भएको थियो।
परीक्षा नियन्त्रक पाण्डेले शैक्षिक तथा प्रशासनिक चुनौतीहरूको समाधानका लागि विश्वविद्यालय सम्बद्ध कलेजहरूसँग निरन्तर सहकार्य गर्न प्रतिबद्ध रहेको बताए। उनले विश्वविद्यालयले शैक्षिक पात्रोलाई नियमित बनाउने, समयमै परीक्षा सञ्चालन गर्ने, नतिजा पारदर्शी र समयमै प्रकाशन गर्ने तथा निष्पक्ष, मर्यादित र भयमुक्त परीक्षा वातावरण सुनिश्चित गर्न निरन्तर प्रयास गरिरहेको जानकारी दिए।
निमित्त प्राचार्य मोहनध्वज के.सी.ले नेपाल इन्जिनियरिङ कलेजले विगत तीन दशकदेखि इन्जिनियरिङ शिक्षा, प्राविधिक जनशक्ति विकास तथा पोखरा विश्वविद्यालयको शैक्षिक उत्कृष्टतामा उल्लेखनीय योगदान दिँदै आएको बताए। उनले विद्यार्थी तथा सम्बन्धन प्राप्त कलेजहरूको हितलाई केन्द्रमा राखेर नीति तथा निर्णयहरू अघि बढाइनुपर्नेमा जोड दिए।
सन् १९९४ मा स्थापना भएको नेपाल इन्जिनियरिङ कलेज एक गैरनाफामुखी सामाजिक शैक्षिक संस्था हो, जुन पोखरा विश्वविद्यालय स्थापना हुनुअघि नै सञ्चालनमा आएको थियो। तीन दशकभन्दा बढी समयदेखि कलेजले गुणस्तरीय शिक्षा, नवप्रवर्तन तथा नेपाल र अन्तर्राष्ट्रिय बजारका लागि दक्ष इन्जिनियर उत्पादन गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै आएको जनाएको छ।











Leave a Reply