४५ फरार प्रतिवादी पक्राउ

भक्तपुर — जिल्ला प्रहरी परिसर भक्तपुर तथा मातहतका प्रहरी कार्यालयले अदालतबाट फैसला भई कार्यान्वयन हुन बाँकी रहेका मुद्दाका ४५ जना फरार प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालत भक्तपुरमा बुझाएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार २०८३ साल साउन महिनाभर फैसला कार्यान्वयनतर्फ फरार रहेका उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूलाई जिल्ला अदालत भक्तपुरमा उपस्थित गराइएको परिसरले जनाएको छ।

पक्राउ परेकामध्ये सबैभन्दा बढी १५ जना चेक अनादर मुद्दाका छन्। त्यस्तै बैंकिङ कसुरका ९, चोरीका ७, कुटपिटका ५, लागूऔषधका ४, जुवाका २ तथा लेनदेन, सवारी ज्यान र अभद्र व्यवहारका एक–एक जना रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेका ४५ जनामाथि अदालतबाट तोकिएको कुल ३ वर्ष १ महिना ९ दिन कैद तथा १० लाख ४६ हजार ४५० रुपैयाँ जरिवाना कार्यान्वयन गर्न बाँकी रहेको थियो।

जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त ठिमी, जगाती तथा मातहतका प्रहरी कार्यालयबाट फरार प्रतिवादी पक्राउ गरी फैसला कार्यान्वयनमा सहयोग गरिएको परिसरले जनाएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरले २०८३ साउन २९ गते जारी गरेको प्रेस विज्ञप्तिमा उक्त विवरण सार्वजनिक गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *