अरुण थापाको स्मृतिमा गीत–संगीतमार्फत सम्झना हुने

गायक अरुण थापाको स्मृतिमा गीत–संगीतमार्फत सम्झना, सम्मान तथा श्रद्धाञ्जली कार्यक्रम
भक्तपुर सांगीतिक समाजको आयोजनामा नेपाली सांगीतिक क्षेत्रका सदाबहार गायक तथा जादूमय स्वरका धनी दिवंगत गायक अरुण थापाको स्मृतिमा गीत–संगीतमार्फत सम्झना, सम्मान तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना हुने भएको छ।

नेपाली गीत–संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका गायक अरुण थापाको अमर सांगीतिक योगदानलाई स्मरण गर्दै कार्यक्रम यही साउन ३० गते शनिबार दिउँसो १ बजे भक्तपुर श्रीजनानगरस्थित मोडर्न स्कुल/कलेजमा आयोजना गर्न लागिएको हो।

भक्तपुरमा विगत ६ वर्षदेखि निरन्तर रूपमा अरुण थापाको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्दै आएको समाजले यस वर्ष पनि सो कार्यक्रमलाई निरन्तरता दिएको हो।

समाजका अध्यक्ष अल्बर्ट बज्राचार्यका अनुसार अरुण थापाको भौतिक शरीर हामीमाझ नरहे पनि उनका कालजयी गीत तथा जादूमय स्वरमार्फत उनी नेपाली संगीतप्रेमीको मनमा सदैव जीवित छन्। उनका गीतहरूले प्रेम, पीडा, जीवन, विरह तथा मानवीय संवेदनालाई अत्यन्त मार्मिक रूपमा अभिव्यक्त गरेका छन्।

कार्यक्रम संयोजक तथा समाजका उपाध्यक्ष शशी कस्पालका अनुसार कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रमा विशिष्ट योगदान दिएका संगीतकर्मी, कलाकार, गीत–संगीतका पारखी तथा शुभेच्छुकहरूको सहभागिता रहनेछ।

अरुण थापाका ‘चोट के हो, व्यथा के हो’, ‘भुलुँ भुलुँ लाग्यो मलाई’, ‘जति माया लाए पनि’, ‘साँझको जूनसँग’, ‘बितेका मेरा तीता–मीठा’, ‘दोष कसैलाई दिन चाहन्नँ’, ‘अरूसँग नजोख मलाई’, ‘जिन्दगी के छ र आखिर’, ‘तिमी हेर्छौ भने’, ‘नपोखिने नजोखिने’, ‘आँखाको निद खोसी लाने’, ‘यो मनको के भर हुन्छ’ लगायतका सदाबहार गीतहरू आज पनि नेपाली संगीतप्रेमीको मन–मस्तिष्कमा उत्तिकै लोकप्रिय छन्।

उनको सांगीतिक योगदानलाई नयाँ पुस्तासम्म पुर्‍याउने तथा नेपाली संगीतका यी अमर स्रष्टाप्रति सम्मान र श्रद्धा व्यक्त गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *