फूलपातीको दिन पनि रोकिएन सरसफाइ, भक्तपुरमा “वातावरणमैत्री दसैँ” को सन्देश

नबराज काफ्ले

भक्तपुर,आश्वीन ३१

विगत एक दशकदेखि भक्तपुर जिल्लाको पर्यावरण संरक्षणमा निरन्तर खटिँदै आएको “राष्ट्रको लागि २ घण्टा” अभियानका अभियान्ताहरु फूलपातीको पावन दिन पनि अरनिको राजमार्ग खण्डस्थित राधे राधे सडकमा उत्रिए, र दसैँलाई वातावरणमैत्री बनाउने प्रतीकात्मक सन्देश दिए । उनीहरूले भक्तपुरको अरनिको राजमार्ग खण्ड अन्तर्गत राधे राधे सडक खण्डमा रोपिएका बिरुवाको संरक्षण, गोडमेल तथा सडक र राजमार्ग सरसफाइ गर्दै एकअर्कालाई शुभकामना आदानप्रदान समेत गरे । घरभित्रको पूजा, फूलपाती र घरायसी कामको व्यस्तताबीच पनि अभियानका सदस्यले समय निकालेर वातावरण संरक्षणमा योगदान दिएका हुन् । यसमार्फत उनीहरूले दसैँलाई वातावरणमैत्री बनाउँदै लैजानुपर्ने सन्देश प्रतीकात्मक रूपमा दिए । सरसफाइपछि पदाधिकारीहरूले अभियानको मर्म, गतिविधि र वातावरण संरक्षणमा अभियानको भूमिकाबारे आफ्ना धारणा राख्दै शुभकामना मन्तव्य व्यक्त गरे। अभियानका उपाध्यक्ष नरेश रञ्जितले “चाडपर्व भनेको रोकिने दिन होइन, समाजलाई सन्देश दिने अवसर पनि हो । विगत १० वर्षदेखि हामीले कुनै पनि दिन वातावरणको काम रोकेका छैनौँ। आज फूलपातीको पावन दिनमा पनि सडकमै उपस्थित हुनुको मर्म त्यही हो। निरन्तरता नै यस अभियानको सबैभन्दा ठूलो शक्ति हो।” त्यसैगरी अभियानका महासचिव नवराज काफ्लेले “दसैँ हाम्रो महान् चाड हो, तर यसले प्रकृतिमाथि बोझ थप्नु हुँदैन। पूजाका सामग्री, प्लास्टिक र फोहोरको व्यवस्थापनमा सचेत भए दसैँलाई सजिलै वातावरणमैत्री बनाउन सकिन्छ। घरभित्रको व्यस्तताका बीच पनि हाम्रो टोली सडकमा उत्रिनु यही सन्देश दिन हो।” अभियानका सचिव चन्द्रकृष्ण श्रेष्ठले “राधे राधे परिसरमा रोपिएका बिरुवा हाम्रा लागि सन्तान जस्तै हुन्। रोप्नु सजिलो छ, तर हुर्काउन गोडमेल, पानी र संरक्षण चाहिन्छ। आजको गोडमेल कार्यक्रम त्यही जिम्मेवारीको एक अंश हो। भक्तपुरलाई हरियालीयुक्त बनाउने हाम्रो प्रयास जारी रहनेछ।” अभियानका अर्का सचिव गोविन्द प्रसाद आचार्यले “वातावरण संरक्षण एक्लो संस्थाले मात्र गर्न सक्ने काम होइन। स्थानीय निकाय, सरोकारवाला र प्रत्येक नागरिकको साझा सहभागिता चाहिन्छ। आफ्नो घर, टोल र सडक सफा राख्ने जिम्मेवारी सबैले लिए पर्यावरणीय समस्याको धेरै हल आफैँ निस्कन्छ।” अभियानका सदस्य रोकट बस्नेतले “‘राष्ट्रको लागि २ घण्टा’ भनेको दिनको थोरै समय राष्ट्र र समाजका लागि दिने अवधारणा हो। यही सानो समयदान नै ठूलो परिवर्तनको आधार बन्छ। विशेषतः युवा पुस्ताले यस अभियानमा जोडिएर आफ्नो समुदायको वातावरण जोगाउन अग्रसर हुनुपर्छ।” उनीहरूका अनुसार भक्तपुरको वातावरण स्वच्छ र हरियालीयुक्त बनाउने अभियान आगामी दिनमा पनि जारी रहने बताए। साथै, चाडपर्वलाई प्रकृतिमैत्री बनाउन समाजका सबै पक्षको साझा सहभागिता आवश्यक रहेको औंल्याए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *