सूर्यविनायक, भक्तपुर — सूर्यविनायक नगरपालिका, नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालित ‘सूर्यविनायक अन्तर-वडा स्तरीय फुटबल प्रतियोगिता’ भव्य रूपमा सम्पन्न भएको छ।
नगर खेलकुद विकास समितिका सदस्य सचिव दिपक थापाको अध्यक्षतामा आयोजित समापन तथा पुरस्कार वितरण समारोहमा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापा प्रमुख अतिथिका रूपमा हुनुहुन्थ्यो। त्यसैगरी कार्यक्रममा नेपाल जिम्नास्टिक सङ्घका उपाध्यक्ष बचन देउजा विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने अन्य अतिथिका रूपमा नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरू तथा वडा सदस्यहरूको उपस्थिति रहेको थियो।
अत्यन्तै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको फाइनल खेलमा वडा नं. १० (चित्तपोल) ले वडा नं. ९ (नङ्खेल) लाई ३-१ को गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो कब्जामा पारेको छ। जितसँगै वडा नं. १० पहिलो हुन सफल भएको छ भने वडा नं. ९ दोस्रो स्थानमा चित्त बुझाउन पुगेको छ। यसैगरी तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धात्मक खेलमा वडा नं. ४ (दधिकोट) ले वडा नं. ८ (सिपाडोल) लाई ४-१ ले पराजित गर्दै तृतीय स्थान हासिल गरेको छ। प्रतियोगितामा वडा नं. ८ सिपाडोलले सान्त्वना स्थान प्राप्त गरेको छ।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने व्यक्तिगत विधातर्फ वडा नं. १० का युग देउजा प्रतियोगिताको ‘बेस्ट प्लेयर’ घोषित हुनुभयो। त्यसैगरी वडा नं. १० कै रोजित खत्री सर्वाधिक गोलकर्ता (हाइ स्कोरर) बन्नुभयो भने सोही वडाका अश्विन देउजाले ‘बेस्ट गोलकिपर’ को उपाधि हात पार्नुभयो। उपविजेता बनेको वडा नं. ९ का टोली प्रशिक्षक दिपेश खत्री प्रतियोगिताको ‘बेस्ट कोच’ चुनिनुभयो।
खेलकुदप्रेमी महानुभावहरू, स्थानीय बासिन्दा तथा पत्रकार/सञ्चारकर्मीहरूको बाक्लो सहभागिता रहेको सो समारोहमा प्रमुख अतिथि, विशेष अतिथि लगायत उपस्थित अतिथिहरूले विजयी टिम, उत्कृष्ट खेलाडीहरू तथा प्रशिक्षकलाई ट्रफी, र प्रमाणपत्र प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो।
सूर्यविनायक अन्तर-वडा स्तरीय फुटबलको उपाधि वडा नं. १० चित्तपोललाई












Leave a Reply