बैंकिङदेखि खेलकुदसम्मको अनुभव, अब विटिआई ग्रुपको नेतृत्वमा बराल

काठमाडौँ । बैंकिङ, व्यवस्थापन, लेखन र खेलकुद क्षेत्रमा अनुभव हासिल गर्नुभएका दिलीपराज बराल भिटिआई ग्रुप अफ भेन्चर्सको प्रमुख कार्यकारी अधिकृत नियुक्त हुनुभएको छ।
४८ वर्षीय बराल महोत्तरी जिल्लाका हुनुहुन्छ। ग्रुपका कार्यकारी अध्यक्ष हरि रायमाझीले उहाँलाई व्यावसायिक सञ्जालमा स्वागत गर्दै जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो।
बरालले आईएमई रेमिट्यान्स, ग्लोबल आईएमई बैंक तथा ज्योति विकास बैंकमा काम गरिसक्नुभएको छ। व्यवस्थापन, कानुन तथा राजनीतिशास्त्रको ज्ञान भएका उहाँ संस्थागत सुशासन र नतिजामुखी कार्यसम्पादनलाई सफलताको आधार मान्नुहुन्छ।
विटिआई ग्रुपमा सेवा, उद्योग, व्यापार, खेलकुद, सञ्चारमाध्यम तथा सामाजिक क्षेत्रसँग सम्बन्धित १० वटा संस्था आबद्ध छन्। ती संस्थाले २७ वर्षदेखि विभिन्न क्षेत्रमा गतिविधि सञ्चालन गर्दै आएका छन्।
अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी पुस्तक लेख्नुभएका बराल नेपाल स्केटिङ तथा स्केटबोर्डिङ सङ्घका प्रमुख प्रशिक्षक पनि हुनुहुन्छ। उहाँ सामाजिक गतिविधिमा समेत संलग्न रहँदै आउनुभएको छ।
विविध क्षेत्रको अनुभवलाई एकीकृत गर्दै ग्रुपका संस्थालाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउनु उहाँको नयाँ जिम्मेवारीको महत्त्वपूर्ण पक्ष हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *