विजयादशमीको अवसरमा चाँगुनारायण–२ मा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम वातावरण संरक्षण, हरियाली प्रवर्द्धन र सार्वजनिकस्थलको स्वच्छता कायम गर्ने उद्देश्यले विभिन्न सामाजिक संस्थाको संयुक्त पहल
नबराज काफ्ले
भक्तपुर,आश्वीन २८
चाडपर्वलाई सामाजिक उत्तरदायित्व, वातावरण संरक्षण र सामुदायिक सेवासँग जोड्ने उद्देश्यले विजयादशमी २०८३ को अवसरमा चाँगुनारायण नगरपालिका–२ स्थित फैटोका गणेश मन्दिर परिसरमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ ।
चागुनारायण नगरपालिका,वडा नं. २ को कार्यालय,रोट्र्याक क्लब अफ काठमाडौं मेडिकल कलेज, नेपाल रेडक्रस सोसाइटी दुवाकोट उपशाखा, रोटरी क्लब अफ चाँगुनारायण तथा नेप्सेम्याक भक्तपुरको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता, युवा तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै चाँगुनारायण नगरपालिका–२ का वडाध्यक्ष सोमप्रसाद प्रधानले वातावरण संरक्षणका लागि वृक्षारोपण गर्नु मात्र पर्याप्त नहुने, रोपिएका बिरुवाको संरक्षण, संवर्द्धन र उचित व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने बताए। उनले वातावरण संरक्षण गर्नु सबै नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै अभियानमा सक्रिय सहभागिता जनाउन वडावासीलाई आह्वान गरे। साथै, संयुक्त रूपमा सामाजिक कार्यमा योगदान पुर्याउने आयोजक संस्थाहरूप्रति धन्यवाद व्यक्त गरे। त्यसैगरी, रोट्र्याक क्लब अफ काठमाडौं मेडिकल कलेजका सचिव उज्जवल गिरिले रोट्र्याक क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सेवा तथा जनचेतनामूलक गतिविधि सञ्चालन गर्दै आएको बताए। उनले वातावरणीय सन्तुलन कायम राख्न वृक्षारोपण, सरसफाइ तथा पर्यावरण संरक्षणका कार्यक्रमलाई क्लबले प्राथमिकताका साथ अघि बढाउँदै आएको उल्लेख गरे । वृक्षारोपण वर्तमानको पहल, भविष्यको सुरक्षा र प्रकृति संरक्षणको आधारभूत उपाय हो । रूखबिरुवाले वायुमण्डलबाट कार्बन डाइअक्साइड सोसेर अक्सिजन उत्पादन गर्न सहयोग गर्नुका साथै वायु प्रदूषण न्यूनीकरण, माटोको क्षय नियन्त्रण, जैविक विविधताको संरक्षण तथा स्थानीय तापक्रम सन्तुलनमा महत्त्वपूर्ण भूमिका खेल्छन् । त्यस्तै, मन्दिर, विद्यालय, सार्वजनिक स्थल तथा बस्ती आसपासको हरियालीले वातावरणलाई स्वच्छ, सुन्दर र स्वस्थ बनाउन सहयोग पुर्याउँछ। तर वृक्षारोपणको वास्तविक उपलब्धि बिरुवा रोपेर मात्र प्राप्त हुँदैन । रोपिएका बिरुवाको नियमित गोडमेल, सिँचाइ, संरक्षण र हुर्काउने जिम्मेवारी सुनिश्चित गर्नु उत्तिकै आवश्यक हुन्छ। त्यसैले यस्ता कार्यक्रमलाई एकदिने औपचारिक गतिविधिमा सीमित नराखी दीर्घकालीन वातावरणीय अभियानका रूपमा अघि बढाउनु जरुरी हुने सामाजिक अभियान्ता नबराज काफ्ले बताउछन् ।
यस प्रकारका सामुदायिक अभियानले स्थानीय तह, सामाजिक संघसंस्था, युवा पुस्ता र नागरिकबीच सहकार्यको भावना विकास गर्नुका साथै सार्वजनिक सम्पत्ति प्रतिको अपनत्व र वातावरणीय जिम्मेवारीसमेत अभिवृद्धि गर्न सहयोग पुर्याउँछन्। कार्यक्रममा नेप्सेम्याक भक्तपुरका गुरु प्रसाद चापागाईं,नेपाल रेड्क्रस सोसाइटी दुवाकोट उपशाखाका मीन चौलागाईं,उत्तम श्रेष्ठ,रोट्र्याक क्लबका प्रनिसा अधिकारी, कृतिका जीसी, उत्सव पौडेल लगायत आयोजक संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। विजयादशमी जस्तो सांस्कृतिक पर्वलाई प्रकृति संरक्षण र सामाजिक सेवासँग जोडेर सञ्चालन गरिएको यस कार्यक्रमले चाडपर्वको खुसीलाई सामुदायिक हितसँग जोड्ने सकारात्मक सन्देश दिएको छ। यस्ता अभियानको निरन्तरताले स्वच्छ, हरित र स्वस्थ समाज निर्माणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।












Leave a Reply