केके मानन्धर
भक्तपुरको मध्यपुर थिमिमा आउँदो साउनको अन्तिम सातादेखि जग्गाधनी पुर्जा वितरण गरिने भएको छ । लामो समयदेखि स्वबासी पुर्जा नभएर हैरानी व्यहोरेका स्थानियलाई स्थायी पुर्जा वितरणसँगै राहत मिल्नेभएको छ । रास्वपा मध्यपुरका सभापति न्हुछेरत्न मानन्धरको अगुवाइमा मालपोत तथा नापी कार्यालय प्रमुखसँग भएको संयुक्त बैठकमार्फत पुर्जा वितरण गर्ने समझदारी बनाएको हो ।
‘जग्गाधनी पुर्जा नपाएका स्थायीबासिन्दाको गुनासोको आधारमा हामीले नापी र मालपोत कार्यालयसँग समन्वय गरेका छौं । यसअघि वितरण भएर छुट भएका स्वबासीलाई साउन महिनाको अन्तिम सातादेखि स्थायी जग्गाधनी पुर्जा दिलाउने समझदारी बनाएका छौं ।’ सभापति मानन्धरले बताए ।
समझदारी बमोजिम वडा नं. ८ क्षेत्रमा साउन महिनाको अन्तिम साता, वडा ५ मा भदौको पहिलो साता पुर्जा वितरण हुनेछ । कतिपय ठाउँमा सम्बन्धित कित्ता तथा आसपासका जग्गाको सर्जमिन (यकिन) बाँकी रहेको बताइएको छ । ती ठाउँमा मध्यपुर थिमि नगरपालिकाको कार्यपालिकाबाट निर्णय प्राप्त भएपछि ३५ दिने सार्वजनिक सूचना जारी गरेर लालपुर्जा वितरण प्रक्रिया अघि बढाइने भएको छ ।
स्थायी पुर्जा वितरण सम्बन्धिको समस्यालाई समाधान गर्ने विषयमा भुमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलसँग समेत छलफल भएको छ । पर्ती जग्गाको संरक्षण, स्वबासीलाई पुर्जा वितरण तथा समसामयिक विषयमा प्रतिनिधिसभा सांसद राजीव खत्री तथा कुसुम महर्जनले छलफल गरेका छन् ।
आदिकालदेखि स्थायी बसोबास गर्दैआएका काठमाडौं उपत्यकाभित्रका स्थानियबासी स्थायी पुर्जा अभावमा हैरानी व्यहोर्दै आएका थिए । विशेषगरी काठमाडौंको असन, ललितपुर, भक्तपुरका पुराना बस्तीमा स्थायी पुर्जाको समस्या रहेको छ ।
मध्यपुरबासीलाई साउनभित्रै स्थायी जग्गाधनी पुर्जा वितरण गरिने














Leave a Reply