भक्तपुर, २७ असोज । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा कमलबिनायक क्षेत्र ६ वटा खाद्य पसलहरुमा बजार अनुगमन भयो । दशैंमा कालो बजारी हुन नदिन दशैंलाई मध्य नजर गरी म्याद नाघेको सामान र लेवल नभएको साथै जथाभावी मुल्य तोकी महंगी गरेकोले बजार अनुगमन गरेको संयोजक गोराले बताउनु भयो ।
अनुगमनमा पूर्ण ट्रेडर्सले भक्तपुर नगरपालिकामा किराना पसलमा दर्ता गरेको पाइएकोले पूर्ण ट्रेडर्स पनि दर्ता गर्न र पसल नविकरण नभएकोले नविकरण गर्न र सरसफाईमा ध्यान दिन र पेटीमा सामान नराख्न निर्देशन दियो ।
त्यस्तै जे.एण्ड जे. किराना पसल नविकरण गर्न, सरसफाईमा ध्यान दिन, सामान व्यवस्थित तरिकाले राख्न र पेटीमा नराख्न, म्याद नाघेकोको र विग्रेको सामान छुट्टै छुट्याएर राख्न निर्देशन दियो ।
त्यस्तै जे.वि.स्टोरमा पसलका प्रोपाइटर नभएकोले काम गर्नेहरुले कागजात नदेखाएकोले कागजात सहित तीन दिन भित्र नगरपालिकामा उपस्थित हुन र पेटीमा सामान नराख्न निर्देशन दियो ।
त्यस्तै मेरो श्रेष्ठ किराना पसलमा म्याद नाघेको समानहरु नटराज दालमोठ १ पाकेट, डिएफसी सुपर फान भुजा २ पाकेट, पोटाटो क्रेकर १ पाकेट क्वीक्स् चिज बल्ब ७ पाकेट जफत गरी नष्ट गरियो ।
त्यस्तै कक्षपति किराना स्टोरमा प्याकेजिड्ड समान खाद्य विभागबाट अनुज्ञापत्र लिई लेबल राखेर मात्र विक्रि वितरण गर्न निर्देशन दिई म्याद नाघेको समानहरु किराले खाएको सुपारी ५ पाकेट, मधु गुट्खा ६ पाकेट, कर्नफ्लोर १५ पाकेट जफत गरि नष्ट गरियो ।
त्यस्तै विनायक फुड स्टोर ‘ख’ श्रेणीमा दर्ता भईराखेकोले ‘क’ श्रेणीमा अपग्रेड गर्न र सरसफाईमा ध्यान दिन निर्देशन दियो ।
अनुगमन समितिका सदस्य श्यामकृष्ण खत्री सुवाल, ज्ञान बहादुर मानन्धर, रिता फसिकवा, भनपा श्यानिटेशका न.नि. दिलिपकुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, कर शाखाका राजन लिवी, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक कृष्ण ब. खत्री, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, उद्योग बाणिज्य संघका बैकुण्ठ मानन्धर, भक्तपुर घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, घरेलु तथा साना उद्योग कार्यालयका लक्ष्मी प्रसाद कासुलाको सहभागी थियो ।
दशैंमा कालो बजारी हुन नदिन बजार अनुगमन












Leave a Reply