भक्तपुर । नेपालीहरूको महान् पर्व विजया दशमीको अवसर पारेर भक्तपुरको सल्लाघारी खुला चौरमा भइरहेको ‘भक्तपुर दसैँ रमाइलो महोत्सव–२०८३’ को सोमबारसम्ममा १५ हजार वढीले अवलोकन गरेको जनाएको छ । मेलाको विहीबार औपचारिक उदघाटन गरिएको थियो । औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपालको आयोजनामा सञ्चालन भएको महोत्सवको बागमती प्रदेशका मन्त्री ज्ञानबहादुर तामाङले एक विशेष समारोहकाबिच भव्य उदघाटन गरेका थिए ।
५० भन्दा बढी स्टल र किनमेलको अवसरमहोत्सवमा सर्वसाधारणका लागि दैनिक जीवनमा प्रयोग हुने विविध सामग्रीहरूको प्रदर्शनी तथा बिक्री कक्ष (स्टल) राखिएको छ । मेलामा खाद्यान्न, अटोमोबाइल, लत्ताकपडा, जुत्ता–चप्पल, कृषिजन्य उत्पादनका साथै हस्तकलाका सामग्रीहरू उपलब्ध छन् ।
आयोजकका अनुसार ५० भन्दा बढी स्टलहरू रहेको मेलामा स्थानीय उद्यमी तथा व्यवसायीहरूलाई प्रोत्साहन गर्न स्टलको आकार अनुसार न्यून शुल्कमा स्टल उपलब्ध गराइएको छ । यसले स्थानीय उत्पादक र उपभोक्ताबिच सीधा सम्पर्क स्थापित गराउने अपेक्षा गरिएको छ ।
अत्याधुनिक बालउद्यान र खेल–मनोरञ्जन महोत्सवलाई पारिवारिक वातावरणमा रमाइलो बनाउन बालबालिका तथा युवाहरूका लागि विभिन्न खेल तथा मनोरञ्जनका सामग्रीहरूको व्यवस्था गरिएको छ । मेला परिसरमा रोटेपिङ, झुला र नाउ, मिनी बन्जी जम्प र वाटर बल, बालबालिकाका लागि मिकी माउस, ट्राम्पोलिन र बाल उद्यान जस्ता विविध मनोरञ्जनात्मक खेलहरू राखिएका छन् ।
दैनिक सांस्कृतिक कार्यक्रम र खुल्ला नृत्य प्रतियोगिता मेलाको अर्को मुख्य आकर्षण भनेको सांस्कृतिक तथा सांगीतिक प्रस्तुतिहरू हुन् । महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति, हास्यव्यङ्ग्य प्रहसन तथा दैनिक रूपमा खुला नृत्य प्रतियोगिता आयोजना गरिनेछ । यसका साथै के.डी. श्री डान्स कल्चर एकेडेमी प्रा.लि. को विशेष सांस्कृतिक प्रस्तुति समेत रहनेछ ।
महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई रु. १००, विद्यार्थी (परिचयपत्रका आधारमा) रु. ५० र ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरू निःशुल्क रहेको छ । महोत्सवले यहाँको व्यापार, संस्कृति र पर्यटन प्रवद्र्धनमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । मेला संयोजक संगम लामाले नेपाली परम्परा र संस्कृतिलाई जोगाउँदै आन्तरिक पर्यटन तथा व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले आयोजिते मेला असोज ३० गतेसम्म निरन्तर सञ्चालन हुने बताए ।
भक्तपुर दसैँ रमाइलो महोत्सव–२०८३ः १५ हजार वढीले गरे अवलोकन












Leave a Reply