प्रादेशिक योग परिषद निर्माण गर्ने ऐतिहासिक उदघोष

​भक्तपुर,आश्वीन २५

पातञ्जल योग समिति नेपालको आयोजना तथा शुभकामना सामूहिक योग साधना केन्द्रको व्यवस्थापनमा विजया दशमी २०८३ को शुभ अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक कार्यक्रम एवं बागमती प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री माननीय किरण थापामगरलाई विशेष बधाई तथा नागरिक सम्मान कार्यक्रम सूर्यविनायकस्थित शुभकामना पार्टी प्यालेसमा भव्यताका साथ सम्पन्न भएको छ।

​घटस्थापनाका दिन आयोजित उक्त विशेष समारोहमा बागमती प्रदेशमा योग, प्राकृतिक चिकित्सा तथा जनस्वास्थ्यका क्षेत्रमा योगको संस्थागत विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्‍याएबापत प्रदेशका मुख्यमन्त्री एवं पातञ्जल योग समिति नेपालका केन्द्रीय सल्लाहकार माननीय किरण थापामगरलाई दोसल्ला, फूलमाला र सम्मानपत्रद्वारा विशेष सम्मान गरियो ।

​कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै मुख्यमन्त्री थापाले बागमती प्रदेशलाई योग, स्वास्थ्य र समृद्धिको नमुना प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । बागमती प्रदेशमा सर्वसाधारणको पहुँचमा योग र स्वस्थ जीवनशैली पुर्‍याउन ‘प्रादेशिक योग परिषद्’ निर्माण गर्ने ऐतिहासिक उद्घोष गर्नुभयो । यसका लागि आवश्यक नीतिगत तथा कानुनी प्रक्रिया अघि बढाउन प्रादेशिक योग समिति गठन गरी कार्य प्रारम्भ भइसकेको जानकारी गराउनुभयो ।

मुख्य मन्त्री थापाले भक्तपुर जिल्लालाई योग, शिक्षा, स्वास्थ्य र पर्यटनको एकीकृत हबका रूपमा रूपान्तरण गर्दै बागमती प्रदेशका १३ वटै जिल्लामध्ये एक मुख्य नमुना जिल्ला बनाउने आधारशिला तयार भइरहेको र सोका विभिन्न सूचकहरूबारे स्पष्ट पार्नुभयो ।

संस्थाका संरक्षक बालमुकुन्द सुवालले विशिष्ट अतिथिको आसनबाट विजया दशमीको पावन अवसरमा शुभकामना दिँदै योगलाई पूर्वीय दर्शन र मौलिक संस्कृतिको रूपमा जोडेर प्रत्येक घर-घरमा पुर्‍याउनुपर्नेमा जोड दिनुभयो।

​​कार्यक्रमका सभापति तथा पातञ्जल योग समिति नेपालका अध्यक्ष सुदर्शन सुवेदीले विजया दशमीको शुभकामना व्यक्त गर्दै संस्थागत गतिविधि र आगामी कार्यदिशामाथि प्रकाश पार्नुभयो।
​उहाँले संस्थाले देशभर योग साधनाको प्रचार-प्रसार, साधकहरूको सशक्तिकरण र स्वस्थ समाज निर्माणमा खेलेको भूमिकाबारे चर्चा गर्नुभयो। ​प्रदेश सरकारले योगलाई प्राथमिकतामा राखेकोमा खुसी व्यक्त गर्दै समितिको तर्फबाट पूर्ण सहकार्य रहने प्रतिबद्धता जनाउनुभयो ।

​बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयअन्तर्गत गठित प्रादेशिक योग समितिका सदस्य एवं पातञ्जल योग समितिका महासचिव डाक्टर नबराज काफ्लेले प्रादेशिक योग परिषद् निर्माणको प्राविधिक तथा नीतिगत गृहकार्य द्रुत गतिमा भइरहेको जानकारी दिनुभयो । ​मुख्यमन्त्रीको तत्परता र योगप्रतिको प्रतिबद्धताले परिषद् गठनको कार्यले तीव्रता पाएको भन्दै उहाँले प्रदेश सरकार र मुख्यमन्त्रीज्यूलाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो।

​​​कार्यक्रममा पातञ्जल योग समितिको सांस्कृतिक विभागका तर्फबाट विशेष सांस्कृतिक कार्यक्रम तथा योगसाधकहरूद्वारा आकर्षक योगासनका विशेष प्रस्तुतिहरू प्रदर्शन गरिएको थियो। घटस्थापनाको पावन दिनमा आयोजित शुभकामना आदान-प्रदानले साधकहरूबीच आपसी सद्भाव र भ्रातृत्व थप प्रगाढ बनाएको थियो।

​समारोहमा संस्थाका पदाधिकारी/सदस्यहरु, केन्द्रीय सल्लाहकार तथा उपत्यकाभित्रका विभिन्न योग साधना केन्द्रका योगसाधकहरूको बाक्लो र उत्साहजनक उपस्थिति रहेको थियो।
​
वरिष्ठ उपाध्यक्ष राजभक्त श्रेष्ठ, उपाध्यक्षत्रय होमप्रसाद गौतम, गीताप्रसाद नेपाल र योगप्रसाद आचार्य, भक्तपुर जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य रिता पाख्रीन, बागमती प्रदेश सदस्य मनिषा भुजु, दुबुलापेश्वर योग साधना केन्द्रका अध्यक्ष सुरक्षा मल्ल ठकुरीले विजयादशमीको शुभकामना प्रकट गरेका थिए ।
​
कार्यक्रममा केन्द्रीय सचिव बालकृष्ण प्रधान, केन्द्रीय सल्लाहकारद्वय रमेश पन्त र दुर्गा पन्त, केन्द्रीय सदस्यहरू कपिल शाही, बद्रीनारायण ताम्रकार, शुसिला श्रेष्ठ, हेमा प्रजापति, उमेशमान मधिकर्मी र डा. सरिता भुजु, महिला विभाग कोषाध्यक्ष इन्दु लम्साल, योग तथा खेलकुद विभाग सदस्य राममणि तिमल्सिना, सांस्कृतिक विभाग कोषाध्यक्ष गगन तामाङ, र बागमती प्रदेश महिला विभाग उपाध्यक्ष बिना चौलागाईं लगायतका व्यक्तित्वहरूको विशेष सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *