शिक्षा विकास तथा समन्वय एकाइ भक्तपुरको आयोजना कक्षा १–३ को एकीकृत पाठ्यक्रमसम्बन्धी पाँचदिने कस्टमाइज तालिम शिक्षा विकास तथा समन्वय एकाइ, भक्तपुरकी प्रमुख सरिता देवी शर्माको सभापतित्वमा सम्पन्न भएको छ। शिक्षकहरूको पेसागत क्षमता अभिवृद्धि, विषयगत ज्ञानको प्रभावकारी प्रयोग तथा बालमैत्री शिक्षण सिकाइ प्रक्रियालाई सुदृढ बनाउने उद्देश्यका साथ तालिमले प्रारम्भिक कक्षाका बालबालिकाको उमेर, रुचि, आवश्यकता, सिकाइको स्तर तथा दैनिक जीवनका अनुभवलाई केन्द्रमा राखेर शिक्षण गर्ने व्यावहारिक पक्षमा जोड दिएको छ।
विषयगत ज्ञान, सीप, धारणा र सिकाइ उपलब्धिलाई कक्षाकोठामा प्रभावकारी रूपमा प्रयोग गर्न शिक्षकले पाठ्यक्रमका उद्देश्य, सिकाइ उपलब्धि, विषयवस्तु, विषयगत ज्ञान, सीप, धारणा तथा मूल्यलाई एकअर्कासँग सम्बन्धित गराउँदै कक्षाकोठामा प्रभावकारी शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न सक्षम बनाउनु रहेको बताउदै यसका साथै विद्यार्थीको सक्रिय सहभागिता, अनुभवमा आधारित सिकाइ, अन्तरविषयगत सम्बन्ध, निरन्तर मूल्याङ्कन तथा सिकाइ उपलब्धिमा सुधार ल्याउने उपायबारे शिक्षकहरूले कक्षाकोठामा आफ्नो कौशल देखाउनु पर्ने कुरा शर्मा बताउनुहुन्छ। कक्षा १–३ को एकीकृत पाठ्यक्रमसम्बन्धी पाँचदिने कस्टमाइज तालिम प्रारम्भिक तहको शिक्षण सिकाइ प्रक्रियालाई बालमैत्री, व्यवहारिक, सहभागितामूलक र उपलब्धिमुखी बनाउने दिशामा महत्त्वपूर्ण अवसरका रूपमा लिन सकिन्छ। विषयगत ज्ञान, सीप, धारणा, मूल्य र व्यवहारलाई एकीकृत गर्दै बालबालिकाको दैनिक जीवनसँग सम्बन्धित सिकाइ अनुभव प्रदान गर्नु यसको प्रमुख मर्म हो। उहाँले भनुभयो-तालिमको वास्तविक उपलब्धि तालिम अवधिमा सिकिएका विषयवस्तुको प्रस्तुति वा प्रमाणपत्र प्राप्तिमा मात्र सीमित हुँदैन; त्यसको सफलता कक्षाकोठामा देखिने शिक्षण अभ्यास, विद्यार्थीको सक्रिय सहभागिता, सिकाइमा आएको सुधार र अपेक्षित सिकाइ उपलब्धि हासिल गर्ने क्षमताबाट मापन गर्न सकिन्छ। त्यसैले तालिमबाट प्राप्त ज्ञान र सीपलाई नियमित शिक्षण अभ्यासमा रूपान्तरण गर्दै विद्यालयमा सहकार्य, अनुभव आदानप्रदान, निरन्तर मूल्याङ्कन र सुधारको संस्कृतिलाई प्रवर्द्धन गर्न सकेमा कक्षा १–३ को एकीकृत पाठ्यक्रमको कार्यान्वयन थप प्रभावकारी बन्नेछ।
तालिममा सहजीकरणका लागि (ERO) का निर्देशक युवराज अधिकारी,CDC का जगन्नाथ अधिकारी,बिनोद राज भट्ट, CDC का पाठ्यक्रम छनोट समितिका सदस्य डा. सीता सुवेदी पन्थी र CDC का खिलानाथ श्रेष्ठले विषयवस्तुको प्रस्तुति तथा सहजीकरण गरेका थिए।तालिमको सञ्चालनका क्रममा कक्षा १–३ को एकीकृत पाठ्यक्रमको मर्म, कार्यान्वयन प्रक्रिया र शिक्षकको भूमिकाबारे विभिन्न विषयमा छलफल तथा अभ्यास गरिएको थियो। शिक्षकहरूको पेसागत क्षमता अभिवृद्धि, विषयगत ज्ञानको प्रभावकारी प्रयोग तथा बालमैत्री शिक्षण सिकाइ प्रक्रियालाई सुदृढ बनाउने उद्देश्यका साथ तालिमले प्रारम्भिक कक्षाका बालबालिकाको उमेर, रुचि, आवश्यकता, सिकाइको स्तर तथा दैनिक जीवनका अनुभवलाई केन्द्रमा राखेर शिक्षण गर्ने व्यावहारिक पक्षमा जोड दिनुपर्ने प्रशिक्षकहरुको भनाइ रहेकोछ। एकीकृत पाठ्यक्रमको मर्म र उद्देश्य अनुरुप एकीकृत पाठ्यक्रमले बालबालिकालाई छुट्टाछुट्टै विषयका तथ्य र जानकारी मात्र सिकाउने नभई उनीहरूको दैनिक जीवन, वातावरण, व्यवहार, अनुभव र आवश्यकतासँग जोडेर समग्र सिकाइको अवसर प्रदान गर्ने मान्यता राख्छ। प्रारम्भिक तहमा बालबालिकाको सिकाइलाई सहज, रोचक, अर्थपूर्ण र दिगो बनाउन विषयवस्तुबीचको सम्बन्ध पहिचान गरी विभिन्न सिकाइ क्षेत्रलाई एकीकृत रूपमा प्रस्तुत गर्नु यसको महत्त्वपूर्ण पक्ष हो। तालिमका क्रममा शिक्षक जीवन सुवालले पाठ्यक्रमको अध्ययन गर्दा केवल पाठ्यपुस्तकका पाठ र अभ्यासमा सीमित नभई सिकाइ उपलब्धि, विषयगत ज्ञान, सीप, धारणा, मूल्य तथा व्यवहारमा अपेक्षित परिवर्तनलाई समेत ध्यान दिनुपर्ने अनुभूति गरायो। विद्यार्थीले के जान्ने, के बुझ्ने, के गर्न सक्ने र सिकेको ज्ञानलाई आफ्नो दैनिक जीवनमा कसरी प्रयोग गर्ने भन्ने प्रश्नलाई शिक्षण योजनाको केन्द्रमा राख्नुपर्ने र शिक्षकको भूमिका पाठ पढाउनेमा मात्र सीमित नभई बालबालिकाको जिज्ञासा जगाउने, सिर्जनशीलता बढाउने र सिकाइप्रति सकारात्मक धारणा विकास गराउने पनि रहेछ भन्दै कस्टमाइज तालिम निकै उपयोगी, व्यावहारिक र ज्ञानवर्धक रहेको सुनाउनुभयो। एकीकृत शिक्षणको उद्देश्य विद्यार्थीलाई विषयवस्तु घोकाउनेभन्दा पनि खोज, अवलोकन, छलफल, प्रश्नोत्तर, प्रयोग, सिर्जना र सहकार्यका माध्यमबाट ज्ञान निर्माण गर्न प्रेरित गर्नु हो। यसबाट विद्यार्थीमा भाषिक अभिव्यक्ति, तार्किक सोच, समस्या समाधान, सिर्जनात्मकता, सामाजिक व्यवहार तथा आत्मविश्वास विकास गर्न सहयोग पुग्छ। तालिममा विषयगत ज्ञान, सीप र धारणाबीचको सम्बन्धलाई विशेष महत्त्व दिइएको थियो। ज्ञानले विद्यार्थीलाई कुनै विषयबारे जानकारी र बुझाइ प्रदान गर्छ भने सीपले उक्त ज्ञानलाई व्यवहारमा प्रयोग गर्न सक्षम बनाउँछ। धारणाले विषयप्रति सकारात्मक सोच, दृष्टिकोण, मूल्य र व्यवहार विकास गर्न सहयोग पुर्याउँछ। यी पक्षलाई अलग-अलग सिकाइका रूपमा सीमित नराखी एउटै पाठ वा क्रियाकलापभित्र सम्भव भएसम्म समेट्नु एकीकृत शिक्षणको महत्त्वपूर्ण विशेषता हो। अन्ततः बालबालिकाको सर्वाङ्गीण विकास, गुणस्तरीय आधारभूत शिक्षा र जीवनोपयोगी सिकाइ सुनिश्चित गर्न शिक्षकको निरन्तर पेसागत विकास तथा कक्षाकोठामा त्यसको व्यावहारिक प्रयोग अपरिहार्य रहेको छ।












Leave a Reply