जयराम बिडारी
काठमाडौँ, असोज २३ गते
कृत्रिम बौद्धिकता (एआई) को प्रयोगमार्फत सामाजिक तथा आर्थिक असमानता न्यूनीकरण गर्ने उद्देश्यका साथ ललितपुरमा सञ्चालित ‘एआई साक्षरता’ सम्बन्धी एक विशेष पाइलट कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। लन्डन स्कुल अफ इकोनोमिक्स (LSE) को ‘एट्लान्टिक फेलोशिप फर सोशल एन्ड इकोनमिक इक्विटी’ (AFSEE) को सहयोग तथा ललितपुर महानगरपालिका वडा नम्बर २ को सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो। ललितपुरस्थित होटल शाङ्ग्रिला ब्लुमा अपराह्न ४ बजेदेखि सुरु भई तीन घण्टासम्म चलेको समापन समारोहमा स्थानीय सरकारका प्रतिनिधि, नागरिक समाजका साझेदार, शिक्षाविद्, नीति निर्माता, स्वयम्सेवक तथा स्थानीय समुदायका व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो। प्रविधिको पहुँचसँगै ‘एजेन्सी’ विकासमा केन्द्रित “पहुँचबाट एजेन्सीतर्फ: असमानता न्यूनीकरणका लागि एआई साक्षरता” भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रममा सहभागीहरूले एआई उपकरणहरूको प्रभावकारी प्रयोग, सिकाइ, सञ्चार एवं यसले समुदायमा पारेको सकारात्मक प्रभावबारे अनुभव आदानप्रदान गरेका थिए। गत जुन २०२६ मा प्रदान गरिएको तालिमका उपलब्धि, प्रस्तुतीकरण, प्रत्यक्ष प्रदर्शन र समूहगत छलफलमार्फत सहभागीहरूले आफ्ना सिकाइहरू साझा गरेका हुन्। कार्यक्रममा ललितपुरका स्थानीय समुदाय, पत्रकार, परियोजना सहजकर्ता तथा संयुक्त राष्ट्रसङ्घीय अनलाइन स्वयम्सेवकहरू (UNV) को सक्रिय सहभागिता रहेको थियो। यस पहलले सहभागीहरूलाई केवल प्रविधिको उपभोगमा सीमित नराखी उनीहरूमा आत्मबल, सक्रियता, सुसूचित निर्णय लिने क्षमता (एजेन्सी) र सहपाठी सिकाइ (Peer Learning) को विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको बताइएको छ। नीति निर्माताहरूका लागि सिफारिस र निष्कर्ष समारोहमा एआई प्रविधिले सिर्जना गरेका अवसर र चुनौतीहरूसँगै स्थानीय परिवेशमा यसको नैतिक प्रयोग, आलोचनात्मक सोच र डिजिटल समावेशीकरणका विषयमा गहन मन्थन भएको थियो। साथै, आगामी दिनमा एआई साक्षरतालाई कसरी समुदाय-केन्द्रित र फराकिलो बनाउन सकिन्छ भन्ने विषयमा नीति निर्माता तथा सरोकारवालाहरूका लागि उपयोगी सुझाव एवं सिफारिसहरू प्रस्तुत गरिएका छन्। कार्यक्रममा LSE को अन्तर्राष्ट्रिय असमानता संस्थान (III) का प्रतिनिधि तथा साझेदार संस्थाका वक्ताहरूले सहभागीहरूको सक्रियता र योगदानको प्रशंसा गरेका थिए। तीव्र गतिमा विकास भइरहेको एआई प्रविधिलाई सार्वजनिक हित, मानव कल्याण र समावेशीकरणको केन्द्रमा राखेर प्रयोग गर्न यस्ता समुदाय-केन्द्रित अभियानहरू अपरिहार्य रहेको निष्कर्ष यस कार्यक्रमले निकालेको छ।












Leave a Reply