भक्तपुरमा ७ जना फरार प्रतिवादी पक्राउ

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा फरार रहेका सात जना प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालत भक्तपुरमा बुझाएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त ठिमी, जगाती तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले २०८३ असोज १४ गते विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये बैंकिङ कसुरका तीन जना, चेक अनादरका तीन जना तथा गम्भीर उत्तेजना वा रिसको आवेगमा आई कुटपिट तथा अंगभंगसम्बन्धी मुद्दाका एक जना रहेका छन्।

बैंकिङ कसुर मुद्दामा तीन जनालाई १७ दिन कैद र दुई लाख ५७ हजार ५०० रुपैयाँ जरिवाना, चेक अनादर मुद्दामा तीन जनालाई दुई वर्ष कैद र दुई हजार रुपैयाँ जरिवाना तथा कुटपिट तथा अंगभंगसम्बन्धी मुद्दामा एक जनालाई ७०० रुपैयाँ जरिवाना तोकिएको थियो।

पक्राउ परेका सातै जनालाई कुल दुई वर्ष १७ दिन कैद र दुई लाख ६० हजार २०० रुपैयाँ जरिवाना असुलउपर गर्ने प्रयोजनका लागि जिल्ला अदालत भक्तपुरमा बुझाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपकुमार कार्कीले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त जानकारी दिइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *