तःमुज्याको आज पत्रकार सम्मेलनः असोज १७ गते साइकल रयाली

भक्तपुर । भक्तपुरमा ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या आगामी कार्तिक ६ र ७ गते हुने भएको छ । आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गरी नेपाल संवत् ११४६ को अवसरमा भक्तपुर नगरपालिका–७, गोमारीको यातामा दुईदिने साहित्य सम्मेलन आयोजना गर्न लागेको जानकारी दिएको हो । ‘जनता म्वाःसा भाषा म्वाई’ अर्थात् ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने मूल नाराका साथ आयोजना हुने सम्मेलन दुवै दिन बिहान ११ बजेदेखि राति ११ बजेसम्म चल्नेछ ।
पत्रकार सम्मेलनमा मुल समितिका संयोजक आशाकुमार चिकंबञ्जारले यो वर्ष पनि गतवर्षहरुमा जस्तै भव्यताका साथ तःमुंज्या हुन लागेको जानकारी दिए । बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले तःमुंज्यामा नेपालका विभिन्न भाषाभाषिका मात्रै नभई देशी विदेशी भाषाका नागरिकहरुबाट पनि साहित्य वाचन हुँंदै आएको स्मरण गरे ।
४६ औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या आयोजक समितिका अध्यक्ष उकेश कवांले नेपाल संवत् ११०० अर्थात् विसं २०३७ देखि निरन्तर आयोजना हुँदै आएको तःमुंज्याले नेपालभाषा, साहित्य, कला, संस्कृति तथा सम्पदाको संरक्षण र संवद्र्धन गर्दै आएको जानकारी दिए । सम्मेलनले साहित्यिक गतिविधिमार्फत सामाजिक तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्नुका साथै नयाँ पुस्तालाई नेपालभाषामा लेख्न, सिर्जना गर्न र सार्वजनिक रूपमा आफ्नो प्रतिभा प्रस्तुत गर्न प्रोत्साहित गर्ने उद्देश्य राखेको उनले जनाए ।
सम्मेलनमा नेपालभाषाका कविता, कथा, निबन्धलगायत साहित्यिक रचना वाचन गरिनेछ । आमन्त्रित तथा अतिथि साहित्यकारले पनि आफ्ना रचना प्रस्तुत गर्नेछन् । भाषा तथा साहित्यसम्बन्धी विज्ञका मन्तव्य, साहित्यकार तथा कलाकारको सम्मान र समसामयिक सामाजिक विषयमा छलफलसमेत हुने आयोजकले जनाएको छ । त्यसैगरी नाटक, ख्याल, नृत्य, गीतिनाटक तथा गीतलगायत सांस्कृतिक प्रस्तुति पनि सम्मेलनका आकर्षण रहनेछन् । कार्यक्रमको पहिलो चरणमा दिउँसो साहित्यिक गतिविधि र दोस्रो चरणमा साँझ सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने परम्परा रहेको छ ।
आयोजक समितिका प्रचार प्रसार समितिका संयोजक बलराम गोसाईले तःमुंज्याले सामाजिक असमानता, अन्याय, श्रमिक तथा किसानका समस्या, शिक्षा, स्वास्थ्य, राष्ट्रियता र भाषा–संस्कृति संरक्षणजस्ता जनजीवनसँग सम्बन्धित विषयलाई साहित्य र सांस्कृतिक प्रस्तुतिमार्फत उठाउँदै आएको जनाए । यस वर्ष पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रम, समसामयिक राजनीतिक तथा सामाजिक विषय र प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकका समस्यालाई साहित्यिक र सांस्कृतिक विधामार्फत प्रस्तुत गर्ने तयारी गरिएको उनले जनाए ।
सम्मेलनको प्रचारप्रसारका लागि आयोजकले विभिन्न कार्यक्रमसमेत तय गरेको छ । असोज १७ गते शनिबार बिहान ७ बजेदेखि काठमाडौं उपत्यकामा करिब ४० किलोमिटर दूरीको साइकल ¥याली आयोजना गरिनेछ । त्यस्तै, असोज २५ गते घटस्थापनाका दिन साँझ ५ बजे भक्तपुर दरबार क्षेत्रमा बाँसुरी बाजा प्रदर्शनी हुनेछ । सम्मेलनको अघिल्लो दिन कार्तिक ५ गते दिउँसो २ बजेदेखि सुकुन्दा ¥याली निकालिने आयोजकले जनाएको छ ।
प्रत्येक वर्ष भक्तपुरका फरक–फरक वडा तथा टोलमा आयोजना हुँदै आएको तःमुंज्यामा अन्य भाषाका साहित्यिक तथा सांस्कृतिक प्रस्तुतिलाई समेत स्थान दिइनेछ । प्रतियोगितात्मक साहित्य वाचनमार्फत नयाँ पुस्ताका लेखक, कवि तथा कलाकारलाई प्रोत्साहन गरिने आयोजकको भनाइ छ ।
चार दशकभन्दा लामो इतिहास बोकेको तःमुंज्याले साहित्यिक कार्यक्रमका अतिरिक्त सामाजिक, सांस्कृतिक तथा राजनीतिक चेतना अभिवृद्धिको सार्वजनिक मञ्चका रूपमा भूमिका निर्वाह गर्दै आएको छ । आयोजकले सम्मेलन सफल बनाउन साहित्यकार, कलाकार, संस्कृतिकर्मी, युवा, शिक्षक, विद्यार्थी, स्थानीय समुदाय, सञ्चारकर्मी तथा भाषा–संस्कृतिप्रेमी सबैमा सहभागिता र सहयोगका लागि आह्वान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *