भोटेकोसी बाढी प्रभावितका लागि यसै वर्ष एक हजार घर बनाउँछौँ : मुख्यमन्त्री थापामगर

रामहरि चौलागाईं
भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भोटेकोसी बाढी प्रभावितका लागि यसै वर्ष एक हजार घर निर्माण गर्ने बताएका छन्।
आइतबार भक्तपुर नागरिक समाजले विश्व पर्यटन दिवसको अवसरमा नेपाल प्रेस सोसाइटीमा आयोजना गरेको ‘भक्तपुरमा पर्यटनको सम्भावना र अवसर’ विषयक अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री थापामगरले विपन्न तथा बाढी प्रभावितको आवास निर्माणलाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताएका हुन्।
मुख्यमन्त्री थापामगरले प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनर्स्थापनाका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने निर्णय मन्त्रिपरिषद्बाट भइसकेको जानकारी दिए।
‘म मुख्यमन्त्री भइराख्दा बागमतीको बजेट बनिसकेको छ। उक्त बजेटबाट अन्य खर्च नहुने कार्यक्रम र केही विकासका बजेट कटौती गरेर जहाँ प्रभावित क्षेत्र छ, जहाँ पुनर्निर्माण र पुनर्स्थापना गर्नुपर्नेछ, त्यहाँ तत्कालै बजेट लगेर पुनर्निर्माण गर्ने निर्णय मन्त्रिपरिषद्बाट गराइसकेको छु,’ उनले भने।
उनका अनुसार आर्थिक मामिला मन्त्रीको संयोजकत्वमा विभिन्न मन्त्रालयका चालु आर्थिक वर्षमा सञ्चालन नगर्दा पनि हुने कार्यक्रम पहिचान गरी बजेट कटौती गर्ने प्रक्रिया अघि बढाइसकिएको छ। प्रत्येक मन्त्रालयबाट करिब १० प्रतिशतसम्म बजेट कटौती गर्न सकिए करिब पाँच अर्ब रुपैयाँ बचत हुने र उक्त रकम पुनर्निर्माणमा खर्च गरिने मुख्यमन्त्री थापामगरले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *