सागर गुरागाईं
अहिले पितृहरुको सम्झनामा श्राद्ध, तर्पण, दान आदि पितृ कर्महरु चलिरहेका छन् । स्रोह्र श्राद्धलाई पितृपक्ष पनि भन्ने गरिन्छ । देवताले हामीलाई कुनै आशिर्वाद वा वरदान दिएपनि यदि पितृ बेखुसी छन् भने हाम्रो खुसी खोस्न सक्छन् भन्ने जनश्रुति पनि छ । त्यसैले आफ्ना दिवंगत पितृहरुको सम्झनामा गरिने श्राद्धकर्मबारे केहि विषयहरु यहाँ प्रस्तुत गरिएको छ । देहत्याग गरेका जीवात्माहरुलाई तृप्त पार्ने उद्देश्यले श्राद्धको अनुष्ठान गरिँदै आएको हो । श्राद्धको मूल भनेको श्रद्धा हो । विनाश्रद्धा श्राद्ध हुनै सक्तैन । श्रद्धायुक्त भएर गरिने कर्मविशेष नै श्राद्धपदले प्रशसित छ । श्राद्धकर्म शास्त्रोक्त विधिनिर्देशलाई परिपालन गर्दै सम्पन्न गरिन्छ । यसको छु¤ै पद्धति रहेको छ । देशकाल तथा परिस्थिति अनुकूल हुने गरी उपयुक्त तिथि अनुसार पद्धति अनुरुपका प्रविधि प्रयोग गर्दै श्राद्धकर्म पूर्ण गरिन्छ । मूलतः श्राद्धमा तर्पण, पिण्डदान र ब्राह्मण भोजनको विशेष महत्व रहन्छ । श्राद्धकर्मको मूलभूत उद्देश्य भनेको ब्राह्मण भोजन, तर्पण र पिण्डदानको माध्यमद्वारा पितृहरुलाई सन्तुष्ट पार्नु हो । श्राद्धमा विभिन्न स्वादिष्ट परिकार तयार गरी आमन्त्रित ब्राह्मणहरुलाई सन्तुष्ट हुने गरी भोजन गराउने काम हुन्छ । श्राद्धकर्ममा कर्ता, पुरोहित तथा आमन्त्रित ब्राह्मणहरु विशेषतः मन, वचन र कर्मले पवित्र रहनुपर्ने कुरालाई विभिन्न धार्मिक ग्रन्थले उल्लेख गरेका छन् ।
श्रद्धापूर्वक गरिने कार्य नै श्राद्ध हो । श्राद्ध शब्दमा निहित मूल तत्व श्रद्धा हो । श्रद्धाबिना श्राद्ध हुनै सक्तैन । विभिन्न शास्त्रीय ग्रन्थमा श्राद्धको स्वरुपबारे व्यापक चर्चा गरिएको छ । श्राद्धमा श्रद्धापूर्वक दिइने पदार्थको महत्व रहन्छ । खास गरी देहत्याग गरिसकेका पित्रादि जीवात्माहरुलाई लक्ष्य गरेर श्रद्धापूर्वक जुन दान दिइन्छ, त्यही नै विशेषतः श्राद्ध हो । भौतिक देह त्याग गरेका प्रेत तथा पितृहरुलाई उद्देश्य गरेर तिनका निमित्त जुन स्वादिष्ट वस्तुहरु श्रद्धापूर्वक दान गरिन्छ, त्यही नै श्राद्ध हो। ब्रह्मपुराणका अनुसार दिव»्गत पितृहरुले पाऊन् भन्ने उद्देश्यद्वारा मन्वादि शास्त्रहरुमा उल्लेख गरे अनुसारका देश, काल र पात्रहरुको पहिचान गरी श्रद्धापूर्वक तिनका समक्ष गरिने दानविशेषलाई श्राद्ध भनिन्छ । वृहस्पतिस्मृतिमा उल्लेख गरिए अनुसार तिनै माथि उल्लिखित गुणविशेष भएका सुयोग्य पात्रहरुलाई पितृको स्वरुप कल्पना गर्दै श्रद्धापूर्वक गरिने दही, दुध, घिउ, मह आदि शुद्ध तथा स्वादिष्ट वस्तुहरुको समर्पणलाई श्राद्ध भनिएको छ । पौरस्त्य आचार्यहरुका मतहरुलाई समीक्षा गर्दै के निष्कर्ष निकाल्न सकिन्छ भने श्राद्धकर्ममा अत्यावश्यक ठानिने पहिलो तत्व भनेको श्राद्धकर्तामा रहनुपर्ने श्रद्धाभाव हो भने श्रद्धापूर्वक पितृहरुलाई अर्पण गरिने अन्नपानादि चाहिँ श्राद्धकर्मको आधारभूत भौतिक तत्व हो । यसप्रकार श्राद्ध भनेको पितृहरुलाई लक्ष्य गरी श्रद्धापूर्वक सत्पात्रमा गरिने दानविशेष नै हो भन्ने सिद्धान्त स्थापित भएको देखिन्छ ।
श्राद्धका प्रकार ः धर्मशास्त्रले श्राद्धलाई देशकाल तथा परिस्थिति अनुकूल हुने गरी अनेकौँ भेदमा विभक्त गरेको छ । यसलाई कसैले एक, कसैले दुई, कसैले पाँच तथा कसैले १२ प्रकारले समेत विभक्त गरेका छन् । मूलतः श्राद्धका एकोद्दिष्ट र पार्वण गरी दुई भेद रहेको कुरा धेरै जसोले उल्लेख गरेका छन् । नित्य, नैमित्तिक र काम्य गरी श्राद्धलाई तीन भागमा पनि वर्गीकरण गरिएको देखिन्छ । मनुले नित्य, नैमित्तिक, एकोद्दिष्ट, वृद्धिश्राद्ध र पार्वणश्राद्ध गरी श्राद्धका पाँच भेदको उल्लेख गरेका छन् । विश्वामित्रले नित्य, नैमित्तिक, काम्य, वृद्धिश्राद्ध, सपिण्डन श्राद्ध, पार्वणश्राद्ध, गोष्ठी श्राद्ध, शुद्धिश्राद्ध, कर्मा»्गश्राद्ध, दैवी श्राद्ध, तीर्थश्राद्ध र पुष्टिश्राद्ध गरी श्राद्धलाई १२ भेदमा विभक्त गरेका छन् । भविष्यत् पुराणमा श्राद्धका यी १२ वटै भेदको स्वरुपको चर्चा गरेको छ । उपर्युक्त श्राद्धमध्ये प्रतिदिन निरन्तर नित्य कर्मकै रुपमा विधीयमान श्राद्धलाई नित्यश्राद्ध, एकोद्दिष्ट नामक वार्षिक श्राद्धलाई नैमित्तिक श्राद्ध, इष्टसिद्धिका लागि गरिने श्राद्धलाई काम्यश्राद्ध, समृद्धि हासिल गर्ने उद्देश्यले गरिने श्राद्धलाई वृद्धिश्राद्ध, प्रेतावस्थामा रहेको जीवलाई पितृमा मिलाउने उद्देश्यले सम्पादन गरिने श्राद्धलाई सपिण्डीकरण श्राद्ध भनिएको छ । पर्वविशेष अर्थात् पितृपक्ष, अमावस्या आदि १६ तिथिमा गरिने श्राद्धलाई पार्वण श्राद्धका रुपमा अर्थ्याइएको छ । अनेकौँ जनसमूहका बिचमा गरिने अर्थात् गोठमा रही श्रद्धापूर्वक गरिने श्राद्धलाई गोष्ठी श्राद्ध भनिन्छ । त्यसरी नै शुद्धिका निमित्त गरिने श्राद्धविशेषलाई शुद्धिश्राद्ध भनिन्छ । विवाहादि संस्कारका क्रममा तत् तत् कर्मका अंगका रुपमा गरिने श्राद्धलाई कर्मा»्गश्राद्ध भनिन्छ । त्यसरी नै तीर्थयात्रा तथा देशान्तर भ्रमणका क्रममा गरिने श्राद्ध तीर्थश्राद्ध वा यात्राश्राद्ध र शारीरिक तथा आर्थिक समृद्धिका लागि गरिने श्राद्ध पुष्टिश्राद्ध भनिएको छ ।
श्राद्ध गर्ने अधिकार ः धर्मशास्त्रले हरेक कर्म गर्ने पृथक् पृथक् अधिकारी तोकेको हुन्छ । श्राद्धकर्म सम्पादन गर्न पनि विशेष अधिकारी तोकेको छ । पित्रादिको श्राद्ध पुत्रादिले गर्नुपर्ने शास्त्रनिर्देश तथा व्यवहार पनि चल्दै आएको छ । तर्पण तथा पिण्डदानलाई विशेषतः सम्पत्तिको अधिकारसँग पनि जोडिएको छ । विष्णुधर्मसूत्रमा उल्लेख भए अनुसार श्राद्ध नगर्ने मनुष्यलाई कसैको पनि सम्पत्ति उपभोग गर्ने अधिकार हुँदैन । मनुष्यले सामान्यतया आफ्ना परलोकमा रहेका पिता, पितामह, प्रपितामह, सहोदर दाजुभाइ, पुत्र, पौत्र, प्रपौत्रसम्मको श्राद्ध गर्नु पर्छ भन्ने कुरालाई बौधायन धर्मसूत्रमा पनि स्पष्ट पारिएको छ । पितुः पुत्रेण कर्त्तव्या पिण्डदानोदकक्रिया। पुत्राभावे तु पत्नी स्यात्तदभावे तु सोदरः ।। अर्थात् पुत्र हुँदाहुँदै अरुले श्राद्ध गर्न मिल्दैन, पुत्र नभएका परिस्थितिमा चाहिँ श्राद्ध गर्ने अधिकार मृतककी पत्नीको रहन्छ । पत्नी नहुँदा सहोदर दाजुभाइले तर्पण तथा श्राद्ध गर्नु पर्छ भन्ने धर्मशास्त्रकार शङ्खको यस वचनलाई निर्णयसिन्धुले उद्धृत गरेको छ । जुन जात तथा वर्णका मानिसलाई जुन पद्धतिको निर्देश गरिएको हुन्छ, त्यसै पद्धतिका आधारमा तत् तत् जात वर्ण तथा सम्प्रदायका मनुष्यले आफ्ना पितृहरुको श्राद्ध गर्नु पर्छ । महाभारत शान्तिपर्वमा उल्लेख भए अनुसार यवन, किराँत आदिले पनि आफ्ना पितृहरुको श्राद्ध आआफ्नै रीतिस्थिति अनुसार गर्नुपर्ने उल्लेख गरिएको छ । वायुपुराणमा म्लेच्छहरुद्वारा सम्पादित पितृकर्मको पनि चर्चा छ । स्मृतिचन्द्रिकाका अनुसार जस जसका प्रति आफूमा श्रद्धाभाव रहन्छ, ती सबैको श्राद्ध गर्ने अधिकार श्रद्धालुलाई रहन्छ । स्त्री तथा शूद्र तथा असंस्कृतहरुले गर्नुपर्ने श्राद्ध पुरोहितका माध्यमद्वारा गर्नुपर्ने कुरालाई स्मृत्यर्थसार नामक ग्रन्थले स्पष्ट पारेको छ ।
श्राद्ध गर्ने अवस्था ः श्राद्धभूमिं पवित्र हुनु पर्छ । चारैतिरबाट सुरक्षित र दक्षिणतिर भिरालो भएको स्थानलाई श्राद्धका लागि श्रेयस्कर मानिएको छ । मनुष्यको आवतजावत नहुने र गाईको गोबरले लिपेर परिष्कार गरिएको स्थान हुनु पर्छ। पवित्र स्थल तथा पुण्य तीर्थहरुमा गई श्राद्ध गर्दा पितृहरु ज्यादा प्रसन्न हुन्छन् । खास गरी कुरुक्षेत्र, गया, गंगा नदी, सरस्वती नदी, प्रभास तथा पुष्कर तीर्थहरुलाई श्राद्धकर्मका लागि विशेषतः उचित स्थानका रुपमा चर्चा गरिएको छ । यी स्थानमा श्राद्ध गर्नाले अधिक फल प्राप्त हुने कुरा धर्मग्रन्थहरुमा उल्लेख गरिएको छ। महर्षि वेदव्यासका अनुसार गंगा, यमुना, पयोष्णी तथा नर्मदा नदीका तीरमा गई विधिपूर्वक गरिएको श्राद्धले अक्षयफल प्राप्त गराउँछ र हिमालय पर्वत, नैमिषारण्य, पुष्कर, गया तथा समुद्रका तटमा गरिएको तर्पण तथा पिण्डदानले पनि मनुष्यलाई विशिष्ट फल प्राप्त हुने कुरा सन्देहरहित छ। त्यसरी नै तुलसी पर्याप्त हुने स्थान पनि श्राद्धका निमित्त अति उपयुक्त छ तर धर्मशास्त्रमा द्वीप तथा अन्तरिक्षमा श्राद्ध गर्न नमिल्ने कुरा उल्लेख गरिएको छ । एकसरो कपडा लगाएर तथा मन, वचन र कर्मले शुद्ध नभएको परिस्थितिमा पनि श्राद्ध गर्नु हुँदैन । त्यसरी नै शास्त्रमा उल्लेख नगरिएका देश, सन्ध्याकाल तथा रात्रिको समयमा पनि श्राद्ध गर्न नहुने कुरा निर्णयसिन्धु आदि ग्रन्थहरुमा किटान गरिएका छन् । गाई, गोरु तथा घोडा आदि जनावरहरुले जुठ्याएको स्थान, वर्णाश्रम धर्म नष्ट भइसकेका स्थान, अरु कसैको स्वामित्वमा रहेका स्थानविशेषमा समेत श्राद्ध गर्न नहुने कुरालाई वायुपुराणले उल्लेख गरेको छ ।
श्राद्ध र सोह्रश्राद्धको समय ः धर्मशास्त्र अनुसार श्राद्ध सम्पादन गर्नका लागि समय जुराउनु पनि अत्यावश्यक छ । मनु, याज्ञवल्क्य आदि विभिन्न धर्मशास्त्रकारले श्राद्धकालको विशेष चर्चा गरेका देखिन्छ । याज्ञवल्क्यले औंसी तिथि, चार अष्टका (हेमन्त र शिशिर ऋतु अन्तर्गतका कृष्णपक्षसम्बद्ध चार अष्टमी), पुत्रजन्मादि वृद्धिका अवसरहरु, कृष्णपक्ष, अयनारम्भ, धनधान्यादि पर्याप्त भएको अवस्था, शास्त्रोक्त गुणले युक्त ब्राह्मण उपस्थित भएको अवस्था, व्यतिपातयोग, सूर्यग्रहण र चन्द्रग्रहणको समय तथा श्राद्ध कर्मप्रति रुचि जागृत भएको अवस्थालाई समेत श्राद्ध गर्ने उचित अवसरका रुपमा व्याख्या गरेका छन् । मनीषीहरुले मेष र तुला स»््क्रान्तिलाई समेत श्राद्ध सम्पादनको सुयोग्य काल ठहर गरेका छन् । एकोद्दिष्ट श्राद्ध खास गरी वार्षिक श्राद्धका रुपमा प्रसिद्ध छ । यो एकोद्दिष्ट श्राद्ध हरेक वर्ष मरेको तिथिमा गरिने अनिवार्य कर्म हो । धर्मसिन्धुकारले वर्षभरिमा श्राद्धानुष्ठानका ९६ अवसरको चर्चा गरेका छन् । यस अनुसार वर्षभरिमा १२ अमावस्या, पुराणादितिथि चार, मन्वादि तिथि १४, सङ्क्रान्ति १२, वैधृतियोग १२. व्यतिपातयोग १२, पितृपक्ष १५, अष्टकाश्राद्ध पाँच, अन्वष्टकाश्राद्ध पाँच, पूर्वेद्यु पाँच गरी जम्माजम्मी ९६ थरी श्राद्धको चर्चा गरिएको छ । पितृपक्ष भनेको आश्विन कृष्णपक्ष हो। यसलाई पाक्षिक श्राद्ध पनि भनिन्छ । यतिखेर गरिने श्राद्ध महालयश्राद्धका नामले प्रसिद्ध छ । कृष्णपक्षका १५ वटा तिथि र आश्विन शुक्ल प्रतिपदालाई समेत गणना गरी जम्मा १६ वटा तिथिमा महालयश्राद्ध गरिने आर्षपरम्परा रहेको छ । शास्त्र अनुसार मरेको दिन र तिथिमा पितृको वार्षिक श्राद्ध अनिवार्य रुपमा गर्नु पर्छ । पार्वण तथा एकोद्दिष्ट श्राद्ध गर्नुअघि कर्ताले एक दिनअघि नै शास्त्रोक्त विशेषता भएका ब्राह्मणलाई निम्ता गर्नु पर्छ । निमन्त्रित ब्राह्मण र श्राद्धकर्ता दुवैले अघिल्लो दिनदेखि नै मन, वचन र कर्मद्वारा विशेष रुपले शुद्ध र जितेन्द्रिय बन्नुपर्ने कुरालाई समेत विचार गर्नु पर्छ । उपर्युक्त विभिन्न श्राद्धमध्ये मध्याह्न कालमा एकोद्दिष्ट, अपराह्न कालमा पार्वण श्राद्ध र प्रातः कालमा आभ्युदयिक श्राद्धको अनुष्ठान गर्नुपर्ने कुरालाई धर्मशास्त्रले महत्वका साथ वर्णन गरेको छ । श्राद्धमा बोलाइने ब्राह्मण ः श्राद्धकर्मलाई फलदायी बनाउन निमन्त्रित ब्राह्मणहरुको भूमिका रहन्छ । त्यसकारण कर्ताले के कस्ता ब्राह्मणलाई श्राद्धमा निम्ता गर्ने र के कस्तालाई निम्ता नगर्ने भन्ने कुरा विचार गर्नु पर्छ । राम्ररी वेद पढेका र निरन्तर वेदकै अनुष्ठान गर्ने ब्रह्मज्ञानी युवकलाई श्राद्धभोजनका लागि निम्ता दिनुपर्ने कुरा याज्ञवल्क्यले उल्लेख गरेका छन् । यस प्रकारका सदाचारी युवा ब्राह्मणहरुको अभावमा भानिज, ज्वाइँ, कुलपुरोहित, यजमान, ससुरा, मामा, छोरीको छोरा, शिष्य तथा बन्धुबान्धवहरु पनि सदाचारी छन् भने श्राद्धभोजनका लागि निम्ता गरिन योग्य छन् । ती ब्राह्मणहरु श्राद्धभोजनका लागि योग्य मानिन्छन्, जो शास्त्रज्ञ, तपस्वी, ब्रह्मचारी तथा बाबुआमाका सेवक हुन्छन् भन्ने योगीश्वर याज्ञवल्क्यको कथन छ । के कस्ता ब्राह्मणहरुलाई श्राद्ध भोजनका लागि निम्ता गर्न नहुने हो, सो कुराको विवरण पनि याज्ञवल्क्यस्मृतिमा पाइन्छ । उहाँका अनुसार रोगादिद्वारा ग्रस्त, अपा»्ग, पुनर्विवाह गरेकी महिलाबाट जन्मिएको सन्तान, ब्रह्मचर्य नष्ट गरेको व्यक्ति, अरुका पत्नीबाट जन्मिएका अवैध सन्तति, जन्मिँदैदेखि न»हरु कुत्सित भएको व्यक्ति, कालो दाँत भएको मनुष्य, पैसा लिएर पढ्ने र पढाउने मनुष्य, नपुंसक, कन्यादूषक, मित्रघाती, परनिन्दक, जेठाको विवाह नगरी विवाह गर्ने कान्छो भाइ र कान्छाको विवाह हुँदा पनि अविवाहित नै रहने जेठो दाजु, बाबुआमा तथा गुरुको त्याग गर्ने मनुष्य, पापवृत्ति भएका बाबुको छोरा, अर्काकी पत्नी सकार्ने मनुष्य तथा शास्त्रविरुद्ध आचरण गर्ने कुनै पनि मनुष्य श्राद्धभोजनका लागि अयोग्य मानिन्छ ।
एक दिनमा एउटा मात्रै श्राद्ध ः सामान्यतया एक दिनमा एउटा मात्रै श्राद्ध गर्नुपर्ने शास्त्रीय मान्यता रहिआएको छ । कहिलेकाहीँ एकभन्दा बढी श्राद्ध एकै पटक पर्न सक्छन् । एकै दिनमा दुई वटा श्राद्ध पर्न गएमा मृत्युक्रमले श्राद्ध गर्नुपर्ने हुन्छ । अर्थात् पहिले मरण भएकाको पहिले श्राद्ध सम्पादन गरी पुनः स्नानादि कर्मद्वारा शुद्ध भएर पृथक् पाकद्वारा पछि मरण भएकाको श्राद्ध गर्नुपर्ने विधान छ । एकै दिनमा धेरैको मृत्यु भएमा भने पितृक्रमले श्राद्ध गर्नु पर्छ । त्यतिखेर पहिले बाबुको गरी पछि अरुको गर्नुपर्ने विशेष व्यवस्था उल्लिखित छ । एकै दिनमा तीन वटा श्राद्ध भने गर्नु हुँदैन। गर्नु परेमा श्राद्धकर्ता अर्को भाइ हुनु पर्छ। भाइ नभएमा उक्त तेस्रो श्राद्धलाई दोस्रो दिनमा सम्पादन गर्नु भन्ने शास्त्रीय मान्यता छ । यसप्रकारका नियमलाई बेवास्ता गरी त्यसै दिनमा गरिएमा श्राद्ध नास गरेको र श्राद्धलाई भ्रष्ट पारेको समेत दोष कर्तालाई लाग्न जाने ऋषि पुलस्त्यको वचन छ । सामान्यतया एक दिनमा एउटै श्राद्ध गर्नुपर्ने मुख्य व्यवस्था धर्मशास्त्रमा उल्लिखित छ । एकोद्दिष्ट र पार्वण (सोह्रश्राद्ध) दुवै श्राद्ध एकै दिनमा पर्न गएमा पार्वण श्राद्ध सम्पन्न गरिसकेपछि शुद्ध भएर श्रद्धाभावद्वारा एकोद्दिष्ट श्राद्ध सम्पन्न गर्नुपर्ने हुन्छ । आमा र बाबुको श्राद्ध एकै दिनमा परेमा बाबुको श्राद्ध पूरा गरी आमाको श्राद्ध गर्नु पर्छ। कुनै निमित्त पर्न गई श्राद्ध रोकिएमा रोकिएको उक्त श्राद्ध एकादशी वा औंसी तिथिमा गर्नुपर्ने र महालयश्राद्ध (सोह्रश्राद्ध) रोकिँदा अष्टमी, द्वादशी तथा औंसी तिथिमा रोकिएको उक्त श्राद्ध सम्पन्न गर्नुपर्ने शास्त्रीय मान्यता रहिआएको छ ।
महालयश्राद्धकों विशेषता ः श्राद्धहरुमध्ये महालयश्राद्धको विशेष महत्व रहेको देखिन्छ । आश्विन कृष्णपक्षका १५ र आश्विन शुक्ल प्रतिपदासहितका जम्मा १६ तिथि महालयश्राद्धसँग सम्बद्ध छन् । यी तिथिमा भोक र तिखलि छट्पटाएका पितृहरु आफ्ना उत्तराधिकारीहरुसमक्ष उपस्थित भई उनीहरुबाट पिण्ड–पानीको याचना गर्छन् र श्राद्ध गरिसकेपछि उनीहरु सन्तुष्ट भएर आआफ्ना निवासतर्फ फर्कन्छन् भन्ने विषयलाई विभिन्न स्मृत्ति तथा पुराणहरुले चर्चा गरेका छन् । जुठो, सूतक तथा मलमास आदि निमित्तद्वारा उक्त श्राद्ध रोकिएमा पुत्रादिले त्यसलाई कात्तिक मासान्तसम्म भए पनि गरिसक्नुपर्ने हुन्छ । कात्तिक मसान्तसम्म अर्थात् सूर्य वृश्चिक राशिमा प्रवेश गर्नुपूर्व नै श्राद्ध नगरिए पितृहरु निराश भई पुत्रादिलाई श्राप दिएर फर्किन्छन् भन्ने धर्मशास्त्रीय तथा पौराणिक मान्यतासमेत रहेकाले समयमै महालयश्राद्ध गर्नुपर्ने देखिन्छ ।
श्राद्धकर्ताले पालन गर्नुपर्ने नियम ः श्राद्धका विभन्न नियम छन् । तीमध्ये श्राद्धकर्ता मनुष्य र श्राद्धभोजन गर्ने ब्राह्मणले पालन गर्नुपर्ने विशेष नियमलाई धर्मशास्त्रले महत्वका साथ उल्लेख गरेको छ । जावालि ऋषिका अनुसार श्राद्धकर्ता मनुष्यले दाँत माझ्ने काम, ताम्बूलभक्षण अर्थात् पान खाने, तेलमालिस, उपवास बस्ने काम, यौन सम्पर्क, औषधि सेवन र परान्न भोजन गर्नु हुँदैन । यमका अनुसार पुनर्मोजनमध्वानं भाराध्ययनमैथुनम् । सन्ध्यां प्रतिग्रहं होमं श्राद्धभोक्ता ष्ट वर्जयेत् ।। अर्थात् श्राद्धमा भोजन गरेको ब्राह्मणले पुनः भोजन गर्ने, यात्रा गर्ने, भार वहन गर्ने, अध्ययन गर्ने, मैथुन गर्ने, सन्ध्या गर्ने, प्रतिग्रह ग्रहण गर्ने र हवन गर्ने कामलाई चटक्कै त्यागिदिनु पर्छ । यस प्रकारका शास्त्रोक्त नियमहरुको परिपालन नगर्ने श्राद्धकर्ता र श्राद्धभोजन गर्ने निमन्त्रित ब्राह्मणहरु पापभागी हुने हुनाले तिनको परलोक कष्टकर हुने वर्णन धार्मिक ग्रन्थहरुमा पाइने हुँदा ती दुवै पक्ष निषिद्ध कर्म गर्नबाट जोगिनुपर्ने देखिन्छ ।
श्राद्ध र सोह्रश्राद्ध गर्दा र नगर्दा फरक ः पुत्रादि यजमानले पित्रादि परलोकवासीहरुको श्राद्ध गर्ने पर्छ । माता, पिता आदि परलोकवासीहरुको विधिपूर्वक श्राद्ध गरेमा कर्ताको पितृप्रतिको कर्तव्य पूरा हुने र उसलाई श्राद्धको फल पनि प्राप्त हुने कुरा उल्लेख गरिएको छ भने श्राद्ध नै नगरेमा कर्ता दोषी हुने र दोषबाट दुःख जन्मिने कुराको पनि मनन गर्नुपर्ने हुन्छ । श्रद्धापूर्वक आफ्ना पितृहरुको श्राद्ध गर्ने कर्तालाई श्राद्ध सम्पादनद्वारा सन्तुष्ट पितृहरुले दीर्घायु, सन्तान, समृद्धि, विद्याबुद्धि, स्वर्ग तथा मोक्षादि फल प्रदान गर्छन् भन्ने शास्त्रीय चिन्तन रहिआएका छन् । पितृको अस्तित्व नै स्वीकार नगर्ने र तिनको श्राद्ध नै नगर्ने मनुष्यलाई भने पितृहरुले अनेकतिरबाट दुःख दिने कुरा निश्चित छ । जो मनुष्य मरेका पितृउपर अनास्था गरी विधिपूर्वक श्रद्धाभाव अर्पण गर्दैन, त्यस नास्तिक मनुष्यको रगतलाई पिएर पितृहरुले अनेक किसिमले दुःख दिन्छन् भन्ने विषय पनि स्पष्ट रुपले उल्लिखित छ । यसरी श्राद्ध गर्दा महत्वपूर्ण फलहरु प्राप्त हुने र नगर्दा दुष्फल प्राप्त हुने हुँदा पुत्रादिले मृत पितृहरुको श्राद्ध अवश्य गर्नु पर्छ ।
निष्कर्ष ः सनातन धर्मशास्त्रमा सोह्रश्राद्ध एवं श्राद्धकर्मको ठुलै प्रशंसा गरिएको छ । पितृहरुलाई उद्देश्य गरी श्रद्धापूर्वक गरिने दानविशेषलाई खास अर्थमा श्राद्ध भनिएको पाइन्छ । श्राद्धलाई कसैले दुई, कसैले तीन, कसैले पाँच, कसैले १२ तथा कसैले ९६ प्रकारले पनि वर्गीकरण गरेका छन्। यी विभिन्न श्राद्धमध्ये पार्वण, एकोद्दिष्ट तथा वृद्धि श्राद्धलाई मुख्य अनुष्ठेय विषयका रुपमा उल्लेख गरिएको छ भने सोह्रश्राद्ध गर्नेपर्ने श्राद्धमा गणना गरिएको छ । श्राद्धकर्ममा श्रद्धाभाव अनिवार्य छ । मन, वचन, पदार्थ, मन्त्रोच्चारण, ब्राह्मण सबैको पवित्रता र शुद्धता अनिवार्य हुन्छ । तर्पण, पिण्डदान र ब्राह्मण भोजन यस कार्यका प्रमुख अंग हुन् । श्रद्धापूर्वक यस कर्मको अनुष्ठान गर्ने मनुष्यलाई पितृहरुले कल्याण गर्ने र पितृहरुप्रति उपेक्षाभाव राखी श्राद्धकर्मद्वारा पितृऋण नतिर्ने मनुष्यलाई प्रेतात्मा तथा पितृहरुले नष्ट गर्ने भएकाले आआफ्ना शास्त्रीय पद्धति अनुसार सबैले आफ्ना पितृहरुको श्राद्ध गर्नुपर्ने देखिन्छ ।












Leave a Reply