मेरो स्मृतिमा भैरव रिसाल

डा इन्दुल केसी
प्राक्कथनः
भैरव रिसाल र म, हामी दुवैको जन्मस्थान एउटै जिल्ला भक्तपुर हो। उहाँ भक्तपुरको सिरुटारमा जन्मनुभएको र म मङ्गलाछें नासमना टोलमा जन्मेको । नश्वर भौतिक शरीर यस धराधाममा छाडेर रिसालजी परमधाम जानुभयो । वि. सं. १९८५ सालमा जन्मनुभएका उहाँ ९७ वर्षको उमेरमा यस पृथ्वीबाट बिदा हुनुभयो । आफ्ना परिवारजनलाई शोकाकुल र सबै इष्टमित्रहरूलाई समवेदना व्यक्त गर्न अवस्थामा पुरÞ्याउनुभयो ।
उमेरको हिसाबले रिसालजी मभन्दा १३ वर्ष जेठा हुनुहुन्थ्यो । तैपनि हामी दुईबीच घनिष्टता र मित्रताको गाँठो कसिएको थियो । म सधैँ उहाँलाई भैरव दाइ भन्थेँ । उहाँ मलाई भाइ नभनी इन्दुलजी भन्नुहुन्थ्यो । कामको सिलसिलामा पटकपटक हामी दुई एक–अर्काको निवासमा आवतजावत हुने गरेको कुरा मेरो मानसपटलमा अझै ताजा छ । उहाँका भाइ पुरु रिसालसँग पनि मेरो मित्रता थियो ।
भैरव रिसालका बारे एउटा पुस्तक प्रकाशन हुन लागेको छ, त्यसमा तपाईं पनि एउटा स्मृतिलेख पठाउन सक्नुहुन्छ भनेर शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले मलाई भन्नुभयो । उहाँ त्यो पुस्तकको सम्पादन कार्य गर्दै हुनुहुँदो रहेछ । यो लेख यसै प्रसङ्गमा तयार गरी मेरो स्मृतिको फूल सम्पूर्ण पाठकवर्गमा प्रस्तुत गर्दैछु ।
हाम्रा सम्बन्धका आयामहरू ः
भैरव दाइ र मेरा बीचमा सम्बन्धका धेरै आयामहरू छन् । केही आयामहरूका, केही पक्षका नामहरू (१) पत्रकारिता, (२) साहित्य, (३) पुस्तक लेखन र प्रकाशन, (४) राजनीतिक क्रियाकलाप, (५) चौरासी पूजा, (६) हाम्रो मित्रसमूह, (७) रेडियो अन्तर्वार्ता, (८) राष्ट्रिय जनगणना, (९) नेपाल मजदुर किसान पार्टी आदि–इत्यादि ।
पत्रकारिता ः
भैरव रिसाल एक सफल पत्रकार हुनुहुन्छ भन्ने कुरा त्यस बेला प्रकाशित ’हालखबर’ पत्रिकामा उहाँले गर्नुभएको उल्लेख्य कामबाट प्रष्ट हुन्छ । नेपालको पत्रकारिताको इतिहासमा त्यो कुरा अङ्कित छ । उहाँले राष्ट्रिय संवाद समिति (रासस) मा गर्नुभएको योगदान, समाचार सङ्कलन, आकर्षक समाचार लेखनकार्य अति प्रशंसनीय रहेको थियो । २०१५ सालदेखि मैले पनि नेपाल संवाद समितिमा भक्तपुरको समाचार सङ्कलन गर्ने संवाददाताको कार्य गरेको थिएँ । २०५१ सालमा डा. टी. एन. ’पथिक’ ले प्रकाशन गर्नुभएको ’पुनर्यौवन’ (का. जि. का. द. नं. १५३÷२०५५–५६) पत्रिकाको प्रधान सम्पादक भई मैले काम गरेको थिएँ । स्वतन्त्र पत्रकार सङ्घ नेपालको भक्तपुर जिल्ला शाखाको दुई कार्यकाल म अध्यक्ष पदमा निर्वाचित भई पत्रकारिता तालिम, गोष्ठी, सेमिनार सञ्चालन र स्मारिकाहरू प्रकाशन गरेको थिएँ । यस अवधिमा भक्तपुरमा धेरै पत्रकारहरूलाई तयार गर्ने कामको मैले नेतृत्व गरेँ । ’राष्ट्रसंरक्षण साप्ताहिक’ पत्रिकाको हालसम्म म सल्लाहकारका रूपमा रहेर कार्य गरिरहेको छु ।
रेडियो सगरमाथा ः
नेपालमा २००७ सालको क्रान्तिअघि नै विराटनगरबाट रेडियो सञ्चालन गर्ने स्टेसन स्थापना गरिएको थियो । यो एउटा विशेष ऐतिहासिक पक्ष हो । पछि रेडियो नेपाल काठमाडौँमा स्थापना भयो र सञ्चालन भयो । यसरी क्रमशः विभिन्न नाम र विभिन्न स्थानमा रेडियो स्टेसनहरू खुल्न थाले । नेपालको गौरव सगरमाथाको नामसँग जोडिएर ’रेडियो सगरमाथा’ नामको रेडियो स्टेसन २०५४ सालमा स्थापना भयो । उक्त स्टेसनबाट प्रसारित हुने विभिन्न कार्यक्रमहरू मध्ये एउटा लोकप्रिय कार्यक्रमको नाम ’उहिले बाजेका पालामा’ थियो । त्यस कार्यक्रम भैरव रिसालले सञ्चालन गर्नुहुन्थ्यो । ललितपुरको बखुण्डोलमा स्थित ’रेडियो सगरमाथा’ मा मलाई भैरव रिसालले आमन्त्रण गरी उक्त स्टेसनबाट मेरो जीवनका विभिन्न पक्षका अनुभवहरूका बारे अन्तर्वार्ता लिई प्रसारण गर्नुभएको थियो ।
मित्रसमूह ः
हाम्रा घनिष्ठ मित्रहरूको एउटा समूह थियो । भैरव रिसाल, म, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, तत्कालीन कृषि विकास बैङ्कका वरिष्ठ अधिकारीका साथै धान चामल निर्यात कम्पनीका मेनेजर चन्द्रमान प्रधान र मञ्चका स्मृति अक्षयकोष काठमाडौका संयोजक लुमिनकुमार श्रेष्ठ लगायतको हाम्रो एक मित्रमण्डली थियो । यस समूहमा भैरव रिसाल सबैभन्दा जेठा हुनुहुन्थ्यो । वेलाबेलामा हाम्रो समूह विभिन्न स्थानमा भेला भई हाम्रो देश नेपालको राजनीतिक अवस्था, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, छिमेकी मुलुकहरू भारत र चीनसँगका विभिन्न सन्धि–सम्झौता, सुगौली सन्धि, कालापानी, लिपुलेक, लिम्पियाधुरा, दशगजा, जङ्गेपिलर, सिमाना अतिक्रमण आदि बारे छलफल गर्ने, विचार–विमर्श गर्ने र आ–आफ्नो धारणा र विचार आपसमा सुनाउने, अरूको प्रतिक्रिया लिने, छलफलमा आएका कुरा विभिन्न छापा माध्यमबाट लेख रचनाका रूपमा प्रकाशन गर्ने गथ्र्यो । सबै मित्रहरू अध्ययनशील, अनुभवी र राष्ट्रप्रेमी भएकाले प्रस्तुत विचारहरूलाई भैरव रिसालले निष्कर्ष निकाल्नुहुन्थ्यो र त्यसलाई प्रसारण गर्नुहुन्थ्यो ।
चौरासीपूजा ः
हिन्दू संस्कार अनुसार एक हजार चन्द्रमाको दर्शन पाएका व्यक्तिको दीर्घायु र सुस्वाथ्यको कामना गर्दै चौरासी पूजा गरिन्छ । यसरी नै नेवार जातिमा जङ्गो (भीमराथारोहण) गर्ने प्रचलन छ । हाम्रा उल्लिखित मित्रहरूको पूजा–अर्चना, सगुन दिने धार्मिक कार्यहरू सम्पन्न भइसकेका छन् । भैरव रिसालको ८४ पुजा वि. सं. २०६९ मा, मेरो ८४ पूजा शब्दयात्रा प्रकाशन नीलकण्ठेश्वर धाम बनेपामा वि. सं. २०८२ मा, चन्द्रमान प्रधानको वि. सं. २०७७ मा प्रथम र दोस्रोपटक भीमरथारोहण भएको थियो । हाम्रा मित्रहरूको यस प्रकारको धार्मिक–सांस्कृतिक विशेष कार्यक्रमहरूमा हामी सहभागी भएको कुरा आज मेरो स्मृतिमा ताजा नैं छ ।
भैरव रिसाल र नेपाल मजदुर किसान पार्टी ः
राजनीतिक नेता नारायणमान विजुक्छें र भैरव रिसालको वामपन्थी राजनीतिक विचारधाराका आधारमा दुवैको घनिष्टता भएको कुरा सर्वविदितै छ । तत्कालीन संसदका लागि भएको आमनिर्वाचनमा भैरव रिसाल नेपाल मजदुर किसान पार्टीको उमेदवारको हैसियतले दुईपटक चुनाव लड्नुभएको थियो । तर दुर्भाग्यवश उक्त दुवैपटकको निर्वाचनमा भैरव रिसाल निर्वाचित हुन सक्नुभएन । भक्तपुरमा प्रायः प्रत्येक वर्ष गरिने तमुज्या साहित्य सम्मेलनमा भैरव रिसाललाई विशेष वक्ताका रूपमा आमन्त्रित गरिन्थ्यो र उहाँले त्यहाँ राजनीति र साहित्यका सम्बन्धमा आफ्नो सारगर्भित भाषाण दिने गर्नुहुन्थ्यो । भक्तपुरबाट प्रकाशित हुने ’श्रमिक’ पत्रिकामा उहाँका लेखहरू प्रकाशित हुने गर्दथे । उहाँको लेख अभिरुचिपूर्वक हेर्ने– पढ्ने धेरै पाठकहरूमा म पनि एकजना थिएँ ।
एउटा नेपाली उखान छ ’खोलो तो लौरो बिर्सियो’ भन्ने । हरि मञ्जुश्रीले भैरव रिसालका बारेमा पुस्तक सम्पादन गर्न थालेकाले यहाँ त्यो उखान चरितार्थ नभएको जस्तो मलाई लागेको छ ।
भैरव रिसाल मेरो स्मृतिमा रहिरहनुहुनेछ ।
८८८८

Leave a Reply

Your email address will not be published. Required fields are marked *