नेकको ३२ औँ वार्षिक उत्सव भव्य रुपमा मनाइयो

भक्तपुर, ९ असोज । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरले आफ्नो ३२ औँ वार्षिक उत्सवका अवसरमा एसोसिएट प्रोफेसर रुपेश दही श्रेष्ठलाई २० वर्षे सेवाका लागि सम्मान गरेको छ । कलेजमा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ तथा इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ विभागमा कार्यरत श्रेष्ठलाई कलेजमा दुई दशकसम्म निरन्तर सेवा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । कलेजका अनुसार श्रेष्ठले २० वर्षदेखि शिक्षण, मार्गदर्शन तथा संस्थागत विकासमा योगदान दिँदै आएका छन् । वार्षिक उत्सवका अवसरमा उनको दीर्घकालीन सेवाको कदरस्वरूप सम्मान गरिएको हो ।
कार्यक्रममा कलेजको स्थापना तथा विकासक्रमबारे जानकारीसमेत प्रस्तुत गरिएको थियो । कलेजको प्रस्तुतीकरण अनुसार नेपाल इन्जिनियरिङ कलेज स्थापनाका लागि २०४८ फागुन २३ गते पहिलो बैठक बसेर दीपक भट्टराईलाई अध्यक्ष चयन गरिएको थियो । २०४९ असोज ४ गते कलेजको नाम ‘नेपाल इन्जिनियरिङ कलेज’ राखिएको थियो । त्रिभुवन विश्वविद्यालयबाट २०५२ चैत २७ गते कलेज स्थापना स्वीकृत भएको र २०५२ असार ५ गते कक्षा सञ्चालन स्वीकृत भएको जनाइएको छ ।
वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम पनि गरिएको थियो । कार्यक्रमको सुरुमा कलेजका संस्थापक अध्यक्ष स्वर्गीय दीपक भटराईको शालिकमा माल्यापर्ण गरिएको थियो । कार्यक्रममा स्वर्गीय भटराईका सुपुत्र शलिल भटराई, कलेजका प्रिन्सिपल दुर्गाप्रसाद भण्डारी, कलेजका वोर्ड सदस्य स्थानीय समाजसेवी दिनेश खनाल, शिक्षककोतर्फबाट बोर्ड सदस्य प्रा सावित्री त्रिपाठी, सहायक प्रिन्सिपल मोहनध्वज केसी, प्रशाशन प्रमुख श्रीमा शर्मालगायतले कलेजका विविध पक्षबारे चर्चा गरेका थिए ।
तीन दशकभन्दा लामो समयदेखि इन्जिनियरिङ शिक्षा प्रदान गर्दै आएको कलेजले वार्षिकोत्सवका अवसरमा लामो सयमेदेखि सेवा गर्दै आएका अन्य विभिन्न व्यक्तित्वहरुलाई पनि सम्मान गरेको थियो । वार्षिकोत्सव समारोहमा कलेजको विकासमा योगदान पु¥याएका शिक्षक तथा मार्गदर्शकप्रति सम्मान व्यक्त गरिएको थियो । साथै शैक्षिक उपलब्धि, विभागीय प्रगति, अनुसन्धान तथा नवप्रवर्तनका गतिविधिलाई प्रस्तुत गरेको थियो ।
कार्यक्रममा कलेजका विभिन्न विभागले हासिल गरेका उपलब्धि तथा शैक्षिक गतिविधिबारे चर्चा गरिएको थियो ।
कलेजले पछिल्ला वर्षमा अनुसन्धान तथा नवप्रवर्तनको क्षेत्रमा समेत गतिविधि विस्तार गर्दै आएको जनाएको छ । वार्षिकोत्सवले कलेजको शैक्षिक यात्रालाई पुनःस्मरण गर्दै आगामी दिनमा इन्जिनियरिङ शिक्षाको गुणस्तर र अनुसन्धानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्ने अवसर बनेको कलेजले जनाएको छ । वार्षिकोत्सवका अवसरमा विद्यार्थी, शिक्षक, कर्मचारी तथा पूर्वविद्यार्थीको सहभागितामा विविध कार्यक्रमसमेत आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *