भदौमा भक्तपुरमा ८७ प्रतिवादी पक्राउ

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले २०८३ साल भदौ महिनामा विभिन्न प्रकृतिका १७९ वटा मुद्दा दर्ता भएको जनाएको छ। तीमध्ये महिनाभर ५७ वटा मुद्दा फर्छ्योट गरिएको परिसरले सार्वजनिक गरेको मासिक प्रगति विवरणमा उल्लेख छ।

परिसरका अनुसार भदौ महिनामा जघन्य तथा गम्भीर अपराधतर्फ लागूऔषधका ३, हातहतियार तथा खरखजानासम्बन्धी १, जबरजस्ती करणीका ५ र ज्यान मार्ने उद्योगका १ गरी १० वटा मुद्दा दर्ता भएका छन्। आर्थिक अपराधतर्फ बैंकिङ कसुरका ७७ र ठगीका १९ गरी ९६ वटा मुद्दा दर्ता भएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी अपराधतर्फ जबरजस्ती करणीका ५, बाल यौन दुरुपयोगको १, बहुविवाहको १ तथा जबरजस्ती करणी उद्योगका २ गरी ९ वटा घटना दर्ता भएका छन्। तीमध्ये ८ वटा फर्छ्योट भएको र २ जना फरार रहेको विवरणमा उल्लेख छ।

भदौ महिनामा चालु मुद्दाका ८७ जना प्रतिवादी पक्राउ गरिएको प्रहरीले जनाएको छ। यसैगरी फैसला कार्यान्वयनतर्फ ६५ जना पक्राउ गरिएको, ४४ जनाले कैद भुक्तान गरेको र ६ जनाबाट जरिवाना असुल गरिएको छ। सो क्रममा १ करोड २२ लाख १९ हजार ५७० रुपैयाँ जरिवाना/बिगो रकमसमेत उल्लेख गरिएको छ।
घरेलु हिंसातर्फ भदौमा १३ वटा उजुरी परेकोमा शारीरिक हिंसाका ४, मानसिक हिंसाका ६ र आर्थिक हिंसाका ३ घटना रहेका छन्। तीमध्ये १२ वटा मिलापत्र भएको र एउटा उजुरी प्रक्रियामा रहेको प्रहरीले जनाएको छ।

यसैगरी भदौमा सडक दुर्घटनाका २३ घटना भएका छन्। दुर्घटनामा १ जनाको मृत्यु र ३५ जना घाइते भएका छन् भने प्रहरीले १९ जनाको उद्धार गरेको जनाएको छ। दुर्घटनाको प्रमुख कारणमा लापरबाहीपूर्वक सवारी चलाउनु ८, चालकको सडकमा ध्यान नदिनु ७, तीव्र गति ४ र मादक पदार्थ सेवन ३ वटा रहेका छन्।

प्रहरीले चेकिङका क्रममा २ हजार ९४७ वटा कारबाही गरेको र त्यसबाट १३ लाख ९२ हजार ५०० रुपैयाँ राजस्व दाखिला भएको जनाएको छ।

विपद् व्यवस्थापनतर्फ भदौमा बाढी/वर्षाका १ तथा पहिरोका ४ गरी ५ वटा विपद्का घटना भएका छन्। ती घटनाबाट अनुमानित १४ लाख ६० हजार रुपैयाँ बराबरको क्षति भएको विवरणमा उल्लेख छ। उद्धार तथा व्यवस्थापनका लागि ३३ जना प्रहरी परिचालन गरिएको थियो।

समुदाय तथा विद्यालय केन्द्रित कार्यक्रमअन्तर्गत प्रहरीले भदौमा ९० वटा कार्यक्रम सञ्चालन गरेको र त्यसमा २ हजार ८४६ जनाको सहभागिता रहेको जनाएको छ। २८ वटा विद्यालयमा सञ्चालन गरिएको सचेतनामूलक कार्यक्रममा १ हजार १२५ विद्यार्थी सहभागी भएका थिए।

यसैगरी तीन स्थानमा सार्वजनिक/नागरिक सुनुवाइ कार्यक्रम आयोजना गरी १२२ जनासँग छलफल गरिएको थियो। कार्यक्रममा सचेतनामूलक कार्यक्रम विस्तार, पर्यटकीय तथा धार्मिक क्षेत्रमा गस्ती बढाउने, सडक बत्तीको व्यवस्था, लागूऔषध नियन्त्रण तथा ट्राफिक चेकिङ प्रभावकारी बनाउनुपर्ने लगायतका सुझाव आएका थिए।

प्रहरीको मासिक विवरणअनुसार भदौ महिनामा सेवा लिन आउने सेवाग्राहीको कुल संख्या ५ हजार ९३ जना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *