उपकार साकोसको सञ्चालन नाफा १ करोड ६४ लाख

मध्यपुर थिमि । उपकार बचत तथा ऋण सहकारी संस्था लि. मध्यपुर थिमिले गत आर्थिक बर्ष २०८२/०८३ मा १ करोड ६४ लाख १ सय २५ रूपैयाँ सञ्चालन नाफा गर्न सफल भएको छ । संस्थाको असोज ३ गते शनिवार सम्पन्न ३२ अौ बार्षिक साधारण सभाका बितरण गरेको बार्षिक प्रतिवेदनमा सो कुराको उल्लेख गरेको छ ।
प्रतिवेदन अनुसार संस्थाले सोही आवको अन्तसम्ममा ५हजार २ सय ५१ जना शेयर सदस्यहरूबाट ८ करोड ७८ लाख ६१ हजार ९ सय रूपैयाँको शेयरपुँजी संकलन गरेको देखिन्छ ।
बार्षिक साधारण सभाको उद्घाटन गर्नुहुँदै संस्थाका संस्थापक अध्यक्ष कृष्णबहादुर घजुले लोकतन्त्रको बहालीसंगै सहकारिको कार्य र सेवा बिस्तारले जनमानसमा सहकारीको लोकप्रियता बढ्दै गईरहेको भन्दै ग्रामीण एवं सहरी क्षेत्रले नै सहकारिको महत्व र अपरिहार्यता महशुस गरेकोले नै तत्कालीन राज्यद्वारा राष्ट्रिय अर्थतन्त्रको तिन खम्बा मध्ये एक खम्बाको रूपमा सहकारीलाई अंगीकार गरेको बताउनु भयो ।
सहकारी क्षेत्रमा बिगत केहि समयदेखि यस क्षेत्रलाई बदनाम गर्न केहि नगन्य प्रतिशतका ब्यक्तिगत स्वार्थमा लिप्त तत्वहरू बिद्यमान सहकारी सिद्धान्त, मुल्य, मान्यतालाई तिलाञ्जली दिई छाडा र समाज बिरोधी गतिविधि गरि रहेको भन्दै उहाँले यस्ता ठग र समाज बिरोधीहरूलाई यथाशीघ्र कार्वाही गरि सर्वसाधारणको बचत फिर्ता गर्नु पर्ने बताउनु भयो ।
सभामा संस्थाका कोषाध्यक्ष रबि घजुले आर्थिक प्रतिवेदन पेश गर्नुहुँदै संस्थाले गत आव २०८२/०८३ को अन्तसम्ममा बिभिन्न शिर्षकका बचत खातामा १अर्व ११ करोड ३१ लाख २१ हजार १ सय ४५ रूपैयाँ संकलन गर्दै ५३ करोड ८८ लाख ३७ हजार ६ सय १४ रूपैयाँ ऋण लगानी गरेको बताउनुभयो ।
संस्थासंग सोहि अवधिमा १अर्व ३२ करोड ७९लाख ९ हजार ६ सय १ रूपैयाँ रहेको छ भने जगेडा कोषमा १० करोड ५२ लाख ८७ हजार ३ सय ९२ रूपैयाँ रहेको बताउनुभयो ।
सभामा संस्थाका कार्यवाहक अध्यक्ष बाबुकाजि छुँले बर्षभरी भए गरेका बिभिन्न कार्यक्रमहरूको बारेमा जानकारी दिनुहुँदै मध्यपुर थिमि नगरपालिकाले सहकारी क्षेत्रलाई प्राथमिकता दिई स्थानीय सहकारी एेनलाई समयानुकुल परिर्माजन गरि एेनमा भएका ब्यवस्थाहरूलाई कार्यान्वयन गर्दै सहकारी संसथाहरूको बिकास, ब्यवस्थापन र प्रबर्द्धनका लागि कार्यक्रमहरू सञ्चालन गर्नु पर्ने बताउनुभयो ।
सभामा संस्थाका उत्कृष्ट सदस्य केशरी दुवाल, उत्कृष्ट ऋणीद्वय हरिबहादुर थापामगर, चन्द्रकेशरी धेके, उत्कृष्ट बचतकर्ताद्वय हेरानानी बाडे र हरिबहादुर बाडेलाई बिशेष सम्मान गरेको सोहि अवसरमा संस्थाका संस्थापक सचिव एवं कानुनी सल्लाहकार बिरेन्द्रभक्त प्रधानाङ्ग, लेखासुपरिवेक्षण समितिका संयोजक कान्छाभक्त घजु, संस्थाका सदस्य पुष्पलाल घजु, ब्यवस्थापक कपिल घजुलगायतका ब्यक्तिहरूले सहकारीको महत्वका बिषयमा बोल्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *