भक्तपुर, भदौ २५ गते। चाँगुनारायण नगरपालिका–४ चाँगुमा मध्यरातमा एक दुईतले कच्ची घर पूर्णरूपमा भत्किँदा एक परिवारको बिचल्ली भएको छ।
चाँगुनारायण मन्दिरभन्दा तल ऐतिहासिक तथा पुरातात्त्विक ढुङ्गेधाराबाट करिब ५० मिटरको दूरीमा रहेको विकास श्रेष्ठको कच्ची इँटाको घर गएराति करिब १२ बजे अचानक भत्किएको हो।
घरमा श्रेष्ठसहित उनकी श्रीमती, एक छोरी र एक छोरा बस्दै आएका थिए। घर भत्किनुअघि अनौठो आवाज आएपछि परिवारका सदस्यहरू हतार–हतार बाहिर निस्किएका कारण मानवीय क्षति हुनबाट जोगिएको श्रेष्ठले बताए।
‘घरभित्र अनौठो आवाज आएपछि हामी हतार–हतार बाहिर निस्कियौँ। बाहिर निस्किएको केहीबेरमै घर पूर्णरूपमा भत्कियो,’ श्रेष्ठले भने।
घर भत्किँदा घरभित्र रहेका सम्पूर्ण सामान पुरिएको उनले बताए। ज्यान जोगिए पनि घर र घरभित्रका सामान गुमाउँदा परिवार समस्यामा परेको उनको भनाइ छ। आज परिवारका सदस्यहरू भत्किएको घरबाट सामान निकाल्न व्यस्त छन्।
घटना लगत्तै राति प्रहरी आएर घटनास्थलको निरीक्षण गरे पनि विपद्को अवस्थामा जनप्रतिनिधि तथा सम्बन्धित निकायबाट आवश्यक सहयोग नपाएको श्रेष्ठले गुनासो गरे।
‘राति प्रहरी आएर हेर्नुभयो। तर विपद्मा परेका हामीलाई जनप्रतिनिधि वा सम्बन्धित निकायबाट अहिलेसम्म कुनै सहयोग भएन,’ उनले गुनासो गरे।
यस घटनाले चाँगुजस्तो ऐतिहासिक तथा पुरातात्त्विक क्षेत्र आसपास रहेका पुराना तथा कच्ची घरको जोखिम र विपद् व्यवस्थापनप्रति स्थानीय निकायको तयारीमाथि प्रश्न उठाएको छ।
भोटेकोशी बाढीलगायतका विपद्का घटनापछि जिल्ला प्रशासन कार्यालयमा विपद्सम्बन्धी सरोकारवालाबीच बैठक तथा छलफल भइरहे पनि चाँगुनारायण मन्दिरको छेवैमा घर भत्किएर क्षति हुँदा स्थानीय तहदेखि जिल्ला प्रशासनसम्मको तत्कालीन उद्धार तथा राहत संयन्त्र प्रभावकारी नदेखिएको पीडित परिवारको गुनासो छ।
पीडित परिवारले घर भत्किएर आफूहरू खुला आकाशमुनि बस्नुपर्ने अवस्था आएको भन्दै तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेको छ।










Leave a Reply