बाढी पीडितका लागि आर्थिक तथा राहत सहयोग
काठमाडौं । इम्पेरियल वर्ल्ड स्कुलले रसुवामा आएको बाढीपहिरोका कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति शुक्रबार श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाएको छ। विद्यालयले श्रद्धाञ्जली कार्यक्रमसँगै विपद् प्रभावितका लागि आर्थिक तथा राहत सामग्री सहयोगसमेत गरेको छ।
विद्यालय परिसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा विद्यालयका अध्यक्ष कुमार कार्की, प्रिन्सिपल जुनिता कार्की, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूले बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा मैनबत्ती बाली तथा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए। विद्यार्थीहरूले आफ्ना भावना समेटिएका समवेदना तथा श्रद्धाञ्जली सन्देश लेखिएका नोटहरू समेत समर्पित गरेका थिए।
कार्यक्रमअघि विद्यालयकी प्रिन्सिपल जुनिता कार्कीले बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै विपद्को समयमा प्रभावित व्यक्तिहरूप्रति सहानुभूति राख्नु, सहयोग गर्नु र मानवीय संवेदना प्रदर्शन गर्नु सबैको सामाजिक दायित्व भएको बताउनुभएको थियो।
विद्यालयले श्रद्धाञ्जली कार्यक्रमलाई केवल औपचारिक कार्यक्रमका रूपमा नभई बालबालिकालाई मानवीयता, सहानुभूति, सहयोग, सामाजिक उत्तरदायित्व र सामूहिक भावनाको व्यवहारिक सिकाइ प्रदान गर्ने माध्यमका रूपमा लिएको थियो।
यसै क्रममा विद्यालयले रसुवा बाढीपहिरो पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५ लाख १ हजार सहयोग रकम जम्मा गरेको छ। त्यस्तै, विद्यार्थीहरूको अगुवाइमा सहयोग संकलन गरी रु. १ लाख ४० हजार रकमसमेत सोही कोषमा जम्मा गरिएको छ।
आर्थिक सहयोगसँगै विद्यार्थीहरूको अगुवाइमा विद्यालय परिवारले खाद्यान्न, लत्ताकपडालगायत आवश्यक राहत सामग्री समेत संकलन गरेको थियो। संकलित राहत सामग्री शुक्रबार नै बुढानीलकण्ठ नगरपालिकामार्फत प्रभावित क्षेत्रका नागरिकसम्म पुर्याउने उद्देश्यले हस्तान्तरण गरिएको थियो।
राहत सामग्री ग्रहण गर्दै बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले विद्यार्थीहरूले आफ्नै अगुवाइमा यति ठूलो परिमाणमा राहत सामग्री संकलन गर्नु अत्यन्तै प्रशंसनीय कार्य भएको बताउनुभयो। उहाँले विपद्को यस कठिन समयमा पीडितहरूका लागि विद्यार्थीहरूले गरेको सहयोग ठूलो मानवीय योगदान भएको उल्लेख गर्दै बालबालिकाको पहलको प्रशंसा गर्नुभयो।
उपप्रमुख लामाले हस्तान्तरण गरिएको राहत सामग्री यथाशीघ्र प्रभावित क्षेत्रमा पठाइने जानकारी दिनुभयो।
त्यस अवसरमा विद्यालयकी प्रिन्सिपल जुनिता कार्कीले विद्यार्थीहरूको अगुवाइमा विद्यालय परिवारले गरेको सहयोग सानो भए पनि बाढीपहिरोबाट प्रभावित व्यक्ति तथा परिवारलाई केही हदसम्म राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो।
“हाम्रो सहयोग सानो हुन सक्छ, तर विपद्मा परेका व्यक्तिका लागि यसले केही हदसम्म भए पनि साथ र राहतको अनुभूति दिलाउन सक्छ भन्ने हाम्रो अपेक्षा हो,” प्रिन्सिपल कार्कीले भन्नुभयो।
विद्यालयले यस पहलमार्फत विपद्मा परेका समुदायप्रति सहयोग र ऐक्यबद्धता जनाउनुका साथै विद्यार्थीहरूमा मानवीय संवेदना, नेतृत्व, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने प्रयास गरेको छ।











Leave a Reply