पत्रकार केदार शाक्य र दृष्टिविहीन उपसचिव नीरा अधिकारी पुरस्कृत

शब्दयात्रा प्रकाशनले पत्रकार तथा लेखक केदार शाक्यमा ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार, २०८३’ र दृष्टिविहीन उपसचिव नीरा अधिकारीमा ‘शब्दयात्रा उर्मिला श्रेष्ठ प्रशासनिक महिला प्रतिभा पुरस्कार, २०८३’ समर्पण गरेको छ । नेपाली पत्रकारिताका क्षेत्रमा विशिष्ट योगदान गर्नुभएका, विभिन्न पुस्तकहरूको सम्पादन तथा अनुवाद पनि गर्नुभएका, परोपकार, वातावरण र बौद्ध धर्मसँग सम्बन्धित पुस्तकहरू लेख्ने क्रममा बुद्धको अस्थिधातुको यात्रा र बौद्ध संस्कृतिको विस्तार जस्ता विषयमा ऐतिहासिक तथा सांस्कृतिक महत्त्वका पुस्तकहरू लेखी प्रकाशन गराउनुभएका केदार शाक्य (सङ्खुवासभा) मा ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार, २०८३’ समर्पण गरिएको हो । केदार शाक्य हाल अमेरिकामा हुनुभएकाले उहाँलाई पछि हस्तान्तरण गर्ने गरी उहाँका तर्फबाट लेखक प्रकाश उज्ज्वल बनेपामा पुरस्कारका सामग्री पुष्पमाला, रुद्राक्षमाला, उपहार, रकम, शब्दयात्रा पट्ट र अभिवन्दनापत्र लीलादेवी श्रेष्ठले समर्पण गर्नुभएको थियो । समाजशास्त्र र जनप्रशासनमा स्नातकोत्तर पूरा गरी सबलाङ्ग व्यक्तिलाई समेत कठिन हुने काम सम्भव बनाउँदै अरूसरह प्रतिस्पर्धा गरेर निजामती सेवामा उपसचिव बन्नुभएको र साहित्यिक सिर्जना पनि गरेर दृष्टिविहीनहरूका लागि प्रेरणाको स्रोत बन्नुभएकोमा करिब ३० जना दृष्टिविहीनहरू कार्यरत निजामती सेवामा पहिलो दृष्टिविहीन नीरा अधिकारी (ललितपुर) मा ‘शब्दयात्रा उर्मिला श्रेष्ठ प्रशासनिक महिला प्रतिभा पुरस्कार, २०८३’ समर्पण गरिएको हो । पुरस्कार समर्पण गर्ने क्रममा शारदा घिमिरे भैलले पुष्पमाला र उपहार, अमृत अधिकारीले रुद्राक्षमाला, लीलादेवी श्रेष्ठले रकम, हरि मञ्जुश्रीले शब्दयात्रा पट्ट र राममणि ढुङ्गेलले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो । ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार’ को कोष व्यवस्थापन साहित्यकार तथा समाजसेवी लीलादेवी श्रेष्ठले र ‘शब्दयात्रा उर्मिला श्रेष्ठ प्रशासनिक महिला प्रतिभा पुरस्कार’ को कोष व्यवस्थापन लोकसेवा आयोगका पूर्वसदस्य, पूर्वसचिव तथा गायिका उर्मिला श्रेष्ठले गर्नुभएको हो । पुरस्कृत व्यक्तित्वको चयन हरि मञ्जुश्रीको संयोजकत्वमा गठित पाँच सदस्यीय चयन समितिले गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *