बालेन सरकार रसुवाको भोटेकोसीजस्तो !

भक्तपुर । नेपाली कांग्रेसकी नेतृ एवं सांसद गंगालक्ष्मी अवालले वर्तमान सरकारको कामकारबाहीको गति तीव्र भएको बताउनुभएको छ । उहाँले सरकारको काम गर्ने गति रसुवा–भोटेकोसी क्षेत्रमा आएको बाढीजस्तै तीव्र रहेको बताउनुभयो ।
भक्तपुरको सूर्यविनायक नगरपालिकाको सहयोग तथा नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरको सहकार्यमा आइतबार भक्तपुरमा आयोजित ‘विपद् र महिला सचेतना विषयक अन्तरक्रिया कार्यक्रम’ मा सांसद अवालले सरकारले छोटो समयमा देखिने गरी काम अघि बढाएको बताउनुभयो ।
उहाँंले भन्नुभयो, “सरकारको काम गर्ने गति रसुवा–भोटेकोसीको बाढीजस्तै तीव्र छ । यही गतिलाई अझ निरन्तरता दिँदै सरकारका कामलाई थप तीव्र गतिमा अघि बढाउनुपर्छ ।” विपद्का समयमा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरू बढी जोखिममा पर्ने भएकाले विपद् व्यवस्थापनका योजनामा उहाँहरूको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । विपद् आउनुअघि नै आवश्यक तयारी, सूचना प्रवाह र उद्धारका संयन्त्रलाई प्रभावकारी बनाउनुपर्नेमा पनि उहाँंले जोड दिनुभयो । उहाँले विपद् व्यवस्थापन सरकारको मात्र जिम्मेवारी नभई स्थानीय तह, राजनीतिक दल, सञ्चारमाध्यम, नागरिक समाज र समुदाय सबैको साझा दायित्व भएको प्रष्ट पार्नुभयो । विपद्को समयमा महिला तथा बालबालिकाको सुरक्षा, स्वास्थ्य र आवश्यक राहत सामग्रीको उपलब्धतामा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा सहभागी वक्ताहरूले विपद्का बेला महिलाले भोग्नुपर्ने समस्या, उद्धार तथा राहतमा देखिने चुनौती र स्थानीय तहले अपनाउनुपर्ने सावधानीबारे धारणा राख्नुभएको थियो । उहाँहरूले विपद् जोखिम न्यूनीकरणका लागि समुदायस्तरमै सचेतना र पूर्वतयारी आवश्यक रहेको पनि बताउनुभएको थियो । कार्यक्रम सूर्यविनायक नगरपालिका भक्तपुरको सहयोगमा नेपाल प्रेस सोसाइटीको सहकार्यमा नेपाल प्रेस सोसाइटीको हलमा आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *