बेपता शिक्षक थामीको उद्धारका लागि प्रार्थना सभा

भक्तपुर, भदौ १६
वागीश्वरी कलेजको पत्रकारिता विषयका शिक्षक तथा नयाँ पत्रिका दैनिकका पत्रकार टेकराज थामीको सकुशल उद्धारको कामना गर्दै मङ्गलबार प्रार्थना सभा गरिएको छ ।गत भाद्र १० गते बुधबार रसुवाको हिमसुनामी बाढीले सम्पर्कविहीन भएका थामीको खोजी तथा उद्धारमा सरकारी तदारुकताको थप आवश्यकता प्रार्थना सभाले ग¥यो ।
प्रार्थना सभामा नयाँ पत्रिका दैनिकका पत्रकार तथा वागीश्वरी कलेजका पूर्वविद्यार्थी शिवहरि घिमिरेले गत मङ्गलवार साँझसम्म सम्पर्कमा रहेका थामी बुधबारबाट सम्पर्कविहीन हुँदा अत्यन्तै पीडा भइरहेको बताए ।
मङ्गगलवार रसुवागढीबाट परिवारलाई अन्तिम पटक सम्पर्क गरेका थामी कतै पहाडतिर वा केरुङ्गतिर सकुशल होस् भन्ने कामना उनले गरे । हिमसुनामी बाढी आएको भोलिपल्ट विहीवार एकजना साथीको मेसेन्जरमा देखिएको मिसकल साँचो होस् भनेर पनि सबैले प्रार्थना गरिरहेको उनले बताए ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले कलेजको पत्रकारिता विषयलाई अझ निखार्नका लागि दत्तचित्त भएका शिक्षक थामी फर्किनुहन्छ भन्ने कुरामा आफू विश्वस्त रहेको धारणा राखे ।
कलेजका मानविकी संकायका विभागीय प्रमुख राजन फेलूले सोमबार कक्षा लिएका थामीसर बुधबार सम्पर्क विहीन भएको खबर पाउँदा अत्यन्तै पीडाको महसुस भएको र बागीश्वरीका होनहार शिक्षक कतै सुरक्षित भएर फोन सम्पर्क नहुने ठाउँमा बसिरहेको हुनुपर्ने आफूलाई लागिरहेको बताए ।
कलेजका पत्रकारिता शिक्षक पूर्णभक्त दुवालले उहाँको सकुशल उद्धारका लागि दबाब पैदा गर्न र काहीं कतै उद्धारको पर्खाइमा रहेको हुन सक्ने भएकाले उहाँको तस्वीरलाई सामाजिक सञ्जालमा अझ प्रशारित गर्न सक्दो शेयर गर्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *