मानवीय सेवामा पातञ्जल योग समिति र लायन्स क्लब : ललितपुरमा बृहत् रक्तदान, २८ जनाले दिए रगत

नबराज काफ्ले

ललितपुर,भाद्र १२

विपद्, दुर्घटना र आकस्मिक स्वास्थ्य अवस्थाका बेला जीवन बचाउने रगतको अभाव हुन नदिन सामाजिक संस्थाहरूले स्वैच्छिक रक्तदान अभियानलाई प्राथमिकता दिनुपर्ने सन्देशसहित ललितपुरमा बृहत् खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा २८ जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेका छन् । पातञ्जल योग समिति नेपाल जिल्ला शाखा ललितपुर तथा लायन्स क्लब अफ काठमाडौं स्पिरिचुअलको आयोजना एवम नेपाल रेडक्रस सोसाईटी भक्तपुर र योगामाण्डुको सहकार्यमा आयोजित कार्यक्रमले “रक्तदान जीवनदान”को मूल भावनालाई व्यवहारमै उतार्दै रक्तदानप्रति सामाजिक चेतना अभिवृद्धि गर्ने सन्देश दिएको छ । स्वैच्छिक रक्तदान मानव जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण सामाजिक सेवा हो । रक्तको विकल्प कृत्रिम रूपमा सहजै उपलब्ध नहुने भएकाले दुर्घटना, आकस्मिक शल्यक्रिया, प्रसूति तथा विभिन्न जटिल स्वास्थ्य अवस्थाका बिरामीका लागि स्वयंसेवी रक्तदाताले उपलब्ध गराउने रगत जीवनरक्षाको आधार बन्ने गर्दछ । नियमित रक्तदानले आवश्यकताका समयमा रक्त अभाव कम गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले स्वस्थ नागरिकलाई रक्तदानमा सहभागी गराउनु सामाजिक उत्तरदायित्वसमेत हो । कार्यक्रममा पातन्जल याेग समिति नेपाल जिल्ला शाखा ललितपुरका पदाधिकारी,सदस्यहरु लायन्स क्लब अफ काठमाडौं स्पिरिचुअलका अध्यक्ष बैकुण्ठ पौडेल, सेकेन्ड भाइस प्रेसिडेन्ट सुमन खरेल,कोषाध्यक्ष अनुप रिजाल, सदस्यहरू मुकेश श्रेष्ठ र दीपिका हाडा लगायतको सहभागिता रहेको थियो । पातञ्जल योग समिति नेपालका केन्द्रीय महासचिव नबराज काफ्ले, केन्द्रिय सदस्य तथा जिल्ला शाखा ललितपुरका अध्यक्ष कपिल शाही, साइक्लिङ एसोसिएसनका अध्यक्ष पूर्ण डङ्गोल, जिल्ला प्रहरी परिसर ललितपुरका प्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा पातञ्जल योग समिति नेपालका केन्द्रीय महासचिव नवराज काफ्लेले योग, स्वास्थ्य र सामाजिक सेवासँगै मानवीय सेवाका अभियानमा समेत पातञ्जल योग समिति निरन्तर सक्रिय रहने बताउनुभयो । उहाँले हाल बाढी तथा विपद्बाट प्रभावित नागरिकको सहयोगका लागि सबैलाई जुट्न आग्रह गर्नुभयो । पातञ्जल योग समिति नेपाल जिल्ला शाखा ललितपुरका अध्यक्ष कपिल शाहीले रक्तदानमा सहभागी २८ जना स्वयंसेवी रक्तदातासहित कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो । लायन्स क्लब अफ काठमाडौं स्पिरिचुअलका अध्यक्ष बैकुण्ठ पौडेलले रक्तदान अभियानलाई निरन्तर सामाजिक अभियानका रूपमा अघि बढाइरहेको बताउँदै रक्तदाता लगायत सहकार्य गर्ने सबैलाई धन्यवाद दिनुभयो । उहाँले बाढीका कारण ज्यान गुमाउनुभएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना तथा प्रभावित र बिरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । साथै, सम्पर्कविहीनहरूको खोज तथा उद्धार कार्यलाई तीव्रता दिन सरकार तथा सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । रक्तदान कार्यक्रमले स्वस्थ नागरिकले स्वेच्छाले गर्ने नियमित रक्तदानले संकटको समयमा कसैको जीवन बचाउन सक्ने भएकाले “रक्तदान जीवनदान”लाई सामाजिक अभियानका रूपमा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *