देशव्यापी रूपमा देखिएको रगतको अभावलाई सम्बोधन गर्न भक्तपुर क्षेत्र नम्बर १ का सांसद रुकेश रञ्जीतको पहलमा सुरु भएको रक्तदान अभियानले तीव्र रूप लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चाँगुनारायण नगर समितिले वडा–वडामा रक्तदान कार्यक्रमलाई तिब्रता दिएरहेको बेला अब यो अभियान भक्तपुर नगरपालिकामा पनि विस्तार गर्न लागिएको हो । भक्तपुर नगरपालिकाका १० वटै वडामा रक्तदान कार्यक्रम सञ्चालन गर्न रास्वपा भक्तपुर नगर समिति र नेपाल रेडक्रस सोसाइटी, भक्तपुर जिल्ला शाखाबीच बिहीबार द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा रास्वपा भक्तपुर नगर सभापति संचज्ञान याकामी र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति रामेश्वर थापाले हस्ताक्षर गर्नुभएको छ । अस्पतालहरूमा रगतको माग अत्यधिक बढेको तर आपूर्ति कम हुँदा बिरामीहरूले सास्ती भोग्नुपरेकाले सांसद रञ्जीतले भक्तपुर क्षेत्र नम्बर १ का पार्टी कार्यकर्ताहरूलाई अभियान सञ्चालन गर्न आह्वान गर्नुभएको थियो । स्वयं रक्तदान अभियानकर्ता समेत रहनुभएका सांसद रञ्जीतले केही समयअघि प्रतिनिधिसभा बैठकमा समेत रक्तदान प्रवद्र्धन तथा जनचेतना अभिवृद्धिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित बजेट विनियोजन गर्नुपर्ने माग गर्नुभएको थियो । कार्यक्रममा दुवै पक्षका प्रतिनिधिहरूले रेडक्रस र रास्वपाबीचको यो सहकार्यले भक्तपुर नगरभित्र स्वयंसेवी रक्तदानको भावना अभिवृद्धि गर्दै मानवीय सेवा र जीवन रक्षामा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् । साथै, आयोजकहरूले १८ वर्ष पूरा भएका युवाहरूलाई आफ्नो जन्मदिन रक्तदान गरेर मनाउन समेत अपिल गरेका छन् ।
भक्तपुर–१ का सांसद रञ्जीतद्वारा सुरु रक्तदान अभियान तीव्र, भक्तपुरका सबै वडामा सञ्चालन हुने












Leave a Reply