लुम्बिनी पिस अवार्डको बैठक सम्पन्न

पूर्व कुमारी रश्मिला शाक्य संरक्षकमा सर्वसम्मत चयन, शान्ति अभियानलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने अध्यक्ष शाक्यको प्रतिबद्धता

काठमाडौं, २०८२ भदौ २ गते । लुम्बिनी पिस अवार्ड राष्ट्रिय/अन्तर्राष्ट्रिय संस्थाको बैठक काठमाडौंको स्वयम्भूस्थित होटल मिस्टिक बुद्धमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष आर. के. शाक्यको अध्यक्षतामा बसेको बैठकमा संस्थाको संरक्षक चयन, परिचय, उद्देश्य तथा आगामी कार्ययोजनाका विषयमा महत्वपूर्ण छलफल भएको छ।

बैठकले पूर्व कुमारी रश्मिला शाक्यलाई संस्थाको संरक्षकमा सर्वसम्मत रूपमा चयन गरेको छ। त्यसैगरी बैठकमा डा. अम्बिका गुरूमा लगायत संस्थाका सदस्यहरूको उपस्थिति रहेको थियो। बैठकमा शान्ति, मानवता, मैत्री, करुणा तथा बौद्ध दर्शनका मूल सन्देशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने विषयमा विशेष जोड दिइएको थियो।

बैठकमा सहभागीहरूले लुम्बिनी भगवान् गौतम बुद्धको जन्मभूमि मात्र नभई विश्व शान्ति र मानवताको साझा प्रतीक भएकाले लुम्बिनीको शान्ति सन्देशलाई विश्वभर पुर्‍याउन संस्थाले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका थिए।

अध्यक्ष शाक्यको गहिरो प्रतिबद्धता

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष आर. के. शाक्यले लुम्बिनी पिस अवार्डलाई केवल एउटा पुरस्कार प्रदान गर्ने संस्था मात्र नभई विश्व शान्ति, मानवता र सद्भावको अभियानका रूपमा अघि बढाउने आफ्नो गहिरो प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, “लुम्बिनी भगवान् बुद्धको जन्मभूमि मात्र होइन, विश्वलाई शान्ति, मैत्री र करुणाको मार्ग देखाउने पवित्र भूमि हो। लुम्बिनीको यही शान्ति सन्देशलाई विश्वका विभिन्न मुलुकसम्म पुर्‍याउनु हाम्रो प्रमुख जिम्मेवारी हो। लुम्बिनी पिस अवार्डलाई विश्व शान्तिका लागि योगदान गर्ने व्यक्ति, संस्था र अभियानलाई जोड्ने साझा मञ्चका रूपमा विकास गर्ने मेरो दृढ प्रतिबद्धता छ।”

अध्यक्ष शाक्यले संस्थाको उद्देश्यलाई व्यवहारमा उतार्न पारदर्शिता, सामूहिक नेतृत्व, आपसी सहकार्य र निरन्तर क्रियाशीलता आवश्यक रहेको बताउँदै आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विभिन्न कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।

बैठकमा रश्मिला शाक्य, शुष्मा देवकोटा, रामचन्द्र मानन्धर, महास्तवीर प्रशन्न, डा. अम्बिका गुरूमा लगायतको सहभागिता रहेको थियो। सहभागीहरूले संस्थाको उद्देश्यलाई प्रभावकारी बनाउन आ–आफ्नो क्षेत्रबाट योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

बैठकले आगामी दिनमा शान्ति तथा मानवताका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्व एवं संस्थालाई सम्मान गर्ने, लुम्बिनीको शान्ति सन्देश प्रवाह गर्ने कार्यक्रम सञ्चालन गर्ने, बौद्ध तथा शान्ति अभियानसँग सम्बन्धित राष्ट्रिय/अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य विस्तार गर्ने लगायतका कार्ययोजनालाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको छ।

बैठक सौहार्दपूर्ण तथा उत्साहजनक वातावरणमा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *